स्टारलिंकलाई हामीले अंगिकार गर्न सकेनौँ: सांसद् बजगाईं

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

We could not accept Starlink: MP Bajgai

काठमाडौँ — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले अमेरिकी प्रविधि कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न चाहेको विषयमा सरकार उदासीन देखिएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्पेस एक्सका प्रमुख इलन मस्कसँगको वार्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले किनारा नलगाएको आरोप लगाए । 

सांसद बजगाईंले स्पेस एक्सका प्रतिनिधिसँग आफूले व्यक्तिगत रूपमा पनि संवाद गरेर नेपालमा स्टारलिंक ल्याउने पहल गरेको दाबी गरे । ‘मैले स्टारलिंकका लागि धेरै वकालत गरेँ,’ उनले भने, ‘सन् २०२४ को अक्टोबर १८ मा मैले इलन मस्कसँग प्रधानमन्त्रीको संवादको प्रबन्ध जुराएको थिएँ । तर, त्यसपछि हामीले त्यसलाई अंगिकार वा सम्बोधन गर्न सकेनौँ र इलन मस्कसँग जुन संवाद भयो, त्यसलाई हामीले किरानामा पठायौँ वा स्वीकार गर्न सकेनौँ ।’ 

स्टारलिंकलाई नेपालमा शैन्यकरण गरेर अफवाह फैलाइरहँदा छिमेकी मुलुकहरूले भने यसलाई स्विकृत दिइसकेको उनले बताए । स्टारलिंकजस्ता प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने उल्लेख गर्दै  उनले नीति तथा कार्यक्रममा यसबारे कुनै चर्चा नभएकोमा असन्तोष व्यक्त गरे । 

साथै, सांसद बजगाईंले अन्तर्राष्ट्रिय धनाढ्य र लगानीकर्तालाई नेपाल भित्र्याउन पनि आफूले व्यक्तिगत प्रयासहरू गरेको र सरकारी तहबाट बेवास्ता गरिएको उल्लेख गरे । उनले अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टलाई गोरखाको लाप्राकस्थित कुनै डाँडामा ‘सेल्टर’ खोल्न दिनुपर्ने बताए । ‘माइक्रोसफ्टलाई लाप्राकको डाँडामा सेल्टर खोल्न दिऊँ भन्ने हामीले धेरै पहिला प्रस्ताव गरेका थियौँ,’ उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully