काठमाडौँ — भिडियो सेयरिङ प्लाटफर्म, टिकटकले नेपालमा ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी)को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन् । यसले गर्दा उनीहरूलाई सुरक्षासम्बन्धी विकल्पहरूमा पहुँच मिल्ने टिकटकले जनाएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा टिकटकले यस फिचर सुरु गरेको घोषणा गरेको थियो ।
यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । फ्यामिली पेयरिङ फिचर सुरु गर्न टिकटकको 'सेटिङ्स एन्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ । एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् ।
'टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्छ, विशेषगरी जब टिन युजरहरूको कुरा आउँछ, नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,' टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने, 'नेपालमा दर्ता भएको प्लाटफर्मको रूपमा हामी हाम्रो प्लाटफर्ममा सबैका लागि सुरक्षित, सकारात्मक र समावेशी अनलाइन वातावरण सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नजिक रहेर काम गर्न पनि प्रतिबद्ध छौं ।'
फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइङसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् । यसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभवअनुसार मिलाउन सक्ने कम्पनीले जनाएको छ । 'जस्तै यसमा दैनिक स्क्रिन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरु रहेका छन्,' टिकटकको विज्ञप्तिमा भनिएको छ ।
यस फिचरले किशोरकिशोरी (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्ने दाबी गरिएको छ । यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ । यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालका सेलेब्रिटी र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।
