ललितपुरलाई नेपालको ‘सिलिकन भ्याली’ बनाउने मेयर महर्जनको भनाइ

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Mayor Maharjan's statement to make Lalitpur the 'Silicon Valley' of Nepal

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक सेवा प्रवाहमा आफूहरूले सूचना प्रविधिको प्रयोगलाई तीव्र बनाएको बताएका छन् । उनले ललितपुरलाई ‘नेपालको सिलिकन भ्याली’ बनाउने लक्ष्य लिएको भन्दै आईटी कम्पनीहरूलाई सहकार्यका लागि आह्वानसमेत गरेका छन् ।

शुक्रबार राष्ट्रिय आईसीटी दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर-प्रदेश/स्थानीय)’ विधामा ललितपुर महानगरपालिलाई पुरस्कृत गरेको थियो । अवार्ड प्राप्त गरेपछि मेयर महर्जनले ललितपुरमा पछिल्ला वर्षमा प्रविधिको प्रयोगमार्फत नगर सेवा प्रवाह सुधारिएको दाबी गरे ।

उनका अनुसार, स्मार्ट सिटी अवधारणामा महानगरले सीसीटीभी जडान, हरियाली संरक्षण र ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगमार्फत सफलता हासिल गरेको छ । ‘हामीले दु:ख गरेर रोपेका रुखहरू भाँच्नेहरूलाई सीसीटीभीमार्फत पहिचान गरेर १ लाख रुपैयाँसम्म जरिवाना गर्‍यौँ,’ महर्जनले भने, ‘त्यसपछि ललितपुरमा अहिले हरियाली छ ।’

नगरवासीलाई सहज सेवा प्रवाह गर्न हालसालै लागू गरिएको ‘एलएमसी अलर्ट’ प्रणालीमार्फत आपत्कालीन अवस्थामा नागरिकले ११३१ नम्बरमा निःशुल्क कल गरेर चार मिनेटभित्र सहयोग पाउने व्यवस्था गरिएको पनि उनले बताए ।

इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (ईबीपीएस) को पूर्ण कार्यान्वयन, इन्टेलिजेन्स ट्राफिक लाइट जडान र सूचना प्रविधिसम्बन्धी सेवाहरूको मर्मत-सम्भारमा ५ वर्षसम्म सेवा दिने सर्तले प्रविधि पूर्वाधारमा दीर्घकालीन सोच अपनाइएको उनले दाबी गरे । ‘ललितपुरमा नक्सा पास गर्न कोही पनि नगरपालिकामा आउनु पर्दैन,’ उनले भने, ‘हामीले नागरिक-सरकारबीच सम्बन्ध विच्छेद गर्न खोजेका भने होइनौँ ।’  

उनले ललितपुर महानगरलाई शिक्षाको हब भनिँदै आएकोमा अब यसलाई नेपालको सिलिकन भ्याली बनाउने लक्ष्य लिएको बताए । ‘मर्निङ सोज डे भनेजस्तै आज आईसीटी अवार्ड पाउनेहरू पनि प्राय: ललितपुरकै छन्,’ उनले भने, ‘त्यसकारण सिलिकन भ्याली बनाउने कुरा गाह्रो होलाजस्तो लागेन ।’ आईसीटी क्षेत्रमा सहकार्य गर्न महानगर सधैं खुला रहेको र यसका लागि रातो कार्पेट बिछ्याएर स्वागत गर्ने उनले प्रतिबद्धता जनाए ।  

कान्तिपुर संवाददाता

Link copied successfully