राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा आठ विधामा आईसीटी अवार्ड प्रदान

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

ICT Awards in eight categories on National Information and Communication Technology Day

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति, संस्था र कम्पनीहरूलाई सरकारले शुक्रबार ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२’ को अवसरमा पुरस्कृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आठ विधामा आईसीटी अवार्ड वितरण गरे ।

कार्यक्रममा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (पुरुष) विधामा प्रा.डा. शशिधरराम जोशीलाई सम्मान गरिएको छ । उनी विगत चार दशकदेखि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापन गर्दै आएका छन् ।

सञ्चार मन्त्रालयका अनुसार सन् १९९५ जोशीले विश्वविद्यालयका लागि पहिलोपटक कम्प्युटर विज्ञापनको पाठ्यक्रम तयार गरेका थिए । उनीसँगै नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (महिला) को सम्मान बन्दना शर्माले पाएकी छिन् ।

सार्वजनिक निकायमध्ये यसवर्ष उत्कृष्ट काम गर्ने संस्थाका रूपमा जल तथा मौसम विज्ञान विभागले नेसनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) प्राप्त गर्‍यो भने प्रदेश तथा स्थानीय तहतर्फ ललितपुर महानगरपालिकाले पुस्कार पाएको थियो । 

निजी क्षेत्र तर्फबाट म्याभेरियम सिस्टम प्रालिले नेसनल आईसीटी अवार्ड (प्राइभेट सेक्टर) हात पार्दा, प्रदेश/स्थानीय तहको निजी क्षेत्रबाट नेपालगञ्जको निन्जा इन्फोसिस प्रालिले अवार्ड जित्यो । सूचना प्रविधिको नवप्रवर्तन विधामा ई-कागज पत्र प्रालि, महालक्ष्मी आर्ट, ललितपुरलाई आईसीटी इन्नोभेसन अवार्ड दिइयो भने स्टार्टअप अवार्ड विधामा टेकुम डिजिटल प्रालि विजेता बन्यो ।

सो अवसरमा आर्थिक वर्ष २०८०/८१ मा सूचना प्रविधि क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा ‘एनसेल आजियाटा लिमिटेड’, फोनपे पेमेन्ट सोलुसन्स र ईसेवा लिमिटेडलाई सम्मान गरियो । यस्तै, विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिडर गेट सर्भिसेस, स्प्राउट टेक्नोलोजी र लिपफ्रग टेक्नोलोजीलाई पनि प्रशंसा गरिएको थियो ।

कान्तिपुर

Link copied successfully