काठमाडौँ — आफूले सोधेका प्रश्नको तुरुन्तै जवाफ आउँदा वा अराएको काम खुरुखुरु गरिदिएपछि तपाईंले च्याटजीपीटीलाई धन्यवाद त पक्कै भन्नु भएको होला । तर, यसरी आभारी प्रकट गर्दै ‘धन्यवाद’ नलेख्न र कमान्ड दिनुअघि ‘प्लिज’ समेत नभन्न च्याटपीटीकै प्रमुख साम अल्टम्यानले प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत अल्टम्यानले च्याटजीपीटीजस्ता एआई टुलसँग संवाद गर्दा 'धन्यवाद' र 'कृपया' जस्ता कृतज्ञता व्यक्त गरिने शब्दावली उल्लेख गरिरहन आवश्यक नभएको बताएका हुन् । यस्ता शब्दहरू कम्पनीका लागि साह्रै महँगो पर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’मा एक प्रयोगकर्ताले ‘च्याटजीपीटीसँग संवाद गर्दा प्रयोग गरिने यस्ता विनम्रताका शब्दहरूका कारण कम्पनीले बिजुली खपतमा कति महसुल तिरेको होला ?’ भन्ने प्रश्न उठाएपछि अल्टम्यानले त्यसबाट दशौं लाख डलरभन्दा धेरै खर्च हुने प्रतिक्रिया दिएका छन् ।
लार्ज ल्यांग्वेज मोडलमा आधारित च्याटजीपीटीजस्ता च्याटबटले प्रयोगकर्ताका प्रश्नहरू बुझ्न र जवाफ दिन अत्यधिक कम्प्युटेसनल पावर प्रयोग गर्छन् । च्याटबट सञ्चालन गर्न डेटा सेन्टरमा हजारौँ ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) राखिएका हुन्छन् र तिनले अधिक बिजुली खपत गर्ने भएकाले च्याटबटमा लेखिएका एक, एक शब्दलाई प्रोसेसिङ गर्न आवश्यक पर्ने ऊर्जाले पर्यावरणीय प्रभाव पारिरहेको हुन्छ ।
न्युयोर्क पोस्टको समाचार अनुसार एउटा सामान्य जवाफ जेनेरेट गर्न एआईले करिब ०.१४ किलोवाट प्रतिघण्टा ऊर्जा खपत गर्छ । यत्तिको ऊर्जाले १४ वटा एलईडी बल्ब एक घण्टासम्म बाल्न पुग्छ । च्याटबटमा दैनिक अर्बौँ संवादहरू हुने हुँदा त्यसले खपत गर्ने ऊर्जा अधिक हु्न्छ । विश्वयापी रूपमा डेटासेन्टरहरूले कुल बिद्युत खपतको २ प्रतिशत हिस्सा ओगट्ने र प्रविधिको प्रयोग बढिरहँदा यो प्रतिशत बढ्दै जाने विज्ञहरूले औँल्याएका छन् ।
कतिपय एआई विज्ञहरू एआई टुलहरू मानव भावना बुझ्ने प्राणी नभएकाले तीसँग कसरी बोलियो भन्ने कुराले यसलाई कुनै फरक नपर्ने बताउँछन् । त्यसकारण च्याटजीपीटी, जेमिनाइ, डिपसिक, कोपाइलटजस्ता टुलसँग संवाद गर्दा विनम्र शैली आवश्यक नभएको र यसले उल्टै ऊर्जा खपत बढाउने उनीहरूको राय छ । तर, माइक्रोसफ्ट कोपाइलट डिजाइन समूहका निर्देशक कर्टिस बिभर्सका अनुसार नम्रतापूर्वक गरिएको सोधपुछले एआईबाट थप सहयोगी र प्रोफेसनल जवाफ प्राप्त हुन्छ । ‘एआईले नम्रता महसुस गरेमा त्यसको जवाफ पनि त्यस्तै ढंगको हुने सम्भावना बढ्छ,’ उनले भनेका छन् ।
