सामसङका सहायक प्रमुख हान जङ-हिको निधन

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

Samsung Vice President Han Jung-hee passed away

काठमाडौँ — दक्षिण कोरियाको कम्पनी ‘सामसङ इलेक्ट्रोनिक्स’का सहायक प्रमुख कार्यकारी अधिकृत हान जङ-हिको मंगलबार हृदयाघातका कारण निधन भएको छ । उनी सामसङको मोबाइल फोन तथा होम अप्लायन्सेससम्बन्धी डिजिटल उपकरण तथा डिभाइस एक्स्पेरियन्स विभागको नेतृत्व गर्थे । 

सन् १९६२ मा जन्मिएका हानले कुल ३७ वर्ष सामसङमा बिताएको कम्पनीले जनाएको छ । उनी सन् २०२२ मा इलेक्ट्रोनिक्स विभागको उपाध्यक्ष र सहायक-प्रमुखका रूपमा नियुक्त भएका थिए । 

सीएनएनका अनुसार हानले सामसङको टेलिभिजन व्यापारलाई विश्वस्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘यस कठिन समयमा हामी उनका परिवार र प्रियजनप्रति गहिरो संवेदना प्रकट गर्छौं,’ कम्पनीको सन्देशमा भनिएको छ ।

अघिल्लो साता मात्रै हानसहित सामसङको बोर्डमा रहेका चार कार्यकारी निर्देशकले कम्पनीको वार्षिक साधारणसभा सञ्चालन गरेका थिए । त्यहाँ सेयरधनीहरूले कम्पनीको खस्किँदो सेयर मूल्यबारे जिज्ञासा राखेका थिए । 

सामसङले पछिल्ला केही वर्ष विभिन्न चुनौती झेलिरहेको छ । विशेषगरी ताइवान सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कम्पनी (टीएसएमसी) सँगको प्रतिस्पर्धा र सेमिकन्डक्टर चिपको उत्पादन र प्रवर्द्धनमा सामसङले चुनौती झेलिरहेको हो ।

साधारणसभामा हानले सेयर बजारमा क्षति बेहोर्नुपरेको विषयमा लगानीकर्तासँग माफी मागेको रोयटर्सले जनाएको छ । उनले वर्ष २०२५ मा सामसङले ‘मर्जर’ र अधिग्रहण सम्झौताबारे खोजी गर्ने बताएका थिए । ‘सेमिकन्डक्टर क्षेत्रमा मर्जर तथा अधिग्रहणमा नियामकिय समस्या र अन्तर्राष्ट्रिय चासोका कारण केही कठिनाइ छन् तर हामी यस वर्ष केही ठोस नतिजा निकाल्ने छौँ,’ उनले भनेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully