अबको ५ वर्षभित्र मानव आकृतिका रोबोट बजारमा यत्रतत्र काम गरिरहेका हुनेछन् : एनभिडिया प्रमुख हुवाङ

चैत्र ७, २०८१

एजेन्सी

Within the next 5 years, humanoid robots will be working everywhere in the market: Nvidia CEO Huang

काठमाडौँ — सेमिकन्डक्टर चिप तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित उत्पादन बनाउने एनभिडियाले 'जीटीसी २०२५' नामक आफ्नो प्रविधि सम्मेलनमा केही महत्वपूर्ण घोषणा गरेको छ । यसै साता सम्पन्न सो सम्मेलनमा कम्पनीका प्रमुख जेन्सन हुवाङले उन्नत सेमिकन्डक्टर, एआई, रोबोटिक प्रविधि, स्वचालित सवारी साधन र पूर्वाधार संरचनामा उल्लेख्य लगानी बढाउने र महत्वाकांक्षी उत्पादन ल्याउने घोषणा गरेका छन् ।

एनभिडियाले जनरल मोटर्स, गुगल डिपमाइन्ड, डिज्नीलगायत कम्पनीसँग नयाँ साझेदारीको पनि घोषणा गरेको छ । साथै, आगामी केही वर्षमा ५ खर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका विद्युतीय सामग्री किनेर अमेरिकी कम्पनीलाई सघाउने कम्पनीको योजना छ ।

मार्च १८ मा भएको र हाल भर्चुअल रूपमा जारी जीपीयू टेक्नोलोजी कन्फरेन्स (जीटीसी) मा एनभिडियाले  ब्ल्याकवेल अल्ट्रा नामक ग्राफिक्स प्रोसेसिङ युनिट अर्थात् जीपीयू, भेरा रुबिन नामक सुपरचिप, एनभिडिया डाइनामो नामक अपरेटिङ सिस्टमजस्ता एआई र ठूलो क्षमताको प्रोसेसिङका लागि आकर्षक नयाँ उत्पादन सार्वजनिक गरेको छ । 

अमेरिकी कम्पनीहरूले आफ्ना उत्पादन र प्रविधिलाई स्थानीयकरण गर्नुपर्ने नयाँ अमेरिकी प्रशासनको नीतिलाई सघाउने गरी एनभिडियाले अमेरिकालाई एआई सामग्री आपूर्तिको केन्द्रमा राखेर काम गर्ने हुवाङले बताएका छन् । उनले केही ठूला चिनियाँ प्रविधि कम्पनी र विशेषगरी हुवावेलाई आफ्नो बलियो प्रतिस्पर्धी रहेको पनि उल्लेख गरेका छन् । उनले जनरल मोटर्ससँगको सहकार्यमा एआईमा अत्याधुनिक स्वचालित सवारीसाधन विकास गर्ने र परम्परागत डेटा सेन्टरलाई प्रतिस्थापन गर्नेगरी एआई फ्याक्ट्री लगायतका पूर्वाधार निर्माण गर्ने बताएका छन् । 

एआई प्रविधिको उछालसँगै विश्वकै प्रभावशाली र मूल्यवान् कम्पनी बन्न पुगेको एनभिडियाले यस्ता एआई फ्याक्ट्रीहरूको लागत सन् २०२८ सम्म झन्डै १० खर्ब अमेरिकी डलरभन्दा बढी हुने आँकलन गरेको छ । एआई प्रविधिको बढ्दो प्रयोगमा एनभिडियाका पछिल्ला उत्पादन गेमचेन्जर हुने र एआई कम्प्युटिङलाई १०० गुणाले बढाउन आवश्यक रहेको हुवाङको दाबी छ ।

'ब्ल्याकवेल अल्ट्रा एआई प्रदर्शनमा क्रान्तिकारी फड्को हो र यसले व्यापक प्रकृतिका अनुसन्धान र व्यावसायिक एप्लिकेसनमा नयाँ मापदण्ड स्थापित गर्नेछ,' उनले भने, 'भेरा रुबिन सुपरचिप आगामी एआई आविष्कारको मेरुदण्ड हुनेछ र यसले डेटा प्रशोधन र जटिल मोडेल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।'

Within the next 5 years, humanoid robots will be working everywhere in the market: Nvidia CEO Huang

ब्ल्याकवेल अल्ट्रा नामक ग्राफिक्स प्रोसेसिङ युनिट । तस्बिर : एनभिडिया

एनभिडियाले डिज्नी र गुगल डिपमाइन्डसँगको सहकार्यमा न्युटन फिजिक्स इन्जिन निर्माण गर्न सुरु गरेको जनाएको छ । यसले रोबोटिक्सलाई अझ उन्नत बनाउने कम्पनीको अपेक्षा छ । डिज्नीले यस प्रविधिलाई आफ्ना नयाँ मनोरञ्जन रोबोट, विशेष गरी स्टार वार्ससँग जोडिएका बीडीएक्स ड्रोइड्सका लागि प्रयोग गर्ने योजना बनाएको छ । 'मानवजस्तै देखिने र काम गर्न सक्ने (एन्ड्रो ह्युमनोइड) रोबोट बनाउने काममा उल्लेख्य प्रगति भएको छ,’ हुवाङले भने, ‘अबको ५ वर्षभित्रै तपाईंहरूले यस्ता रोबोटलाई बजारमा यताउता डुलिरहेको र काम गरिरहेको भेट्नुहुनेछ ।' 

सम्मेलनमा प्रदर्शन गरिएको ‘आइज्याक ग्रुट एनवन मोडल’ ले पनि धेरै चर्चा पाएको छ । यो ह्युमनोइड रोबोट (मानव आकृतिका रोबोट) हरूका लागि बनाइएको नयाँ फाउन्डेसनल मोडेल हो । यस प्रविधिले रोबोटलाई वातावरण बुझ्न र प्रभावकारी रूपमा अन्तर्क्रिया गर्न सक्षम बनाउनेछ । 

Within the next 5 years, humanoid robots will be working everywhere in the market: Nvidia CEO Huang

एनभिडियाले ह्युमनोइड रोबोटहरूका लागि नयाँ फाउन्डेसनल मोडलका रूपमा बनाएको 'आइज्याक ग्रुट एनवन मोडल’ । तस्बिर : एनभिडिया 

यी घोषणापछि एआई बजारमा ठूलो हलचल देखिएको छ । सेमिकन्डक्टरबारे जानकार श्रीनी पज्जुरीका अनुसार एआई प्रविधिको विकासमा एनभिडिया अग्रणी स्थानमा छ । ‘विशेषगरी एआई फ्याक्ट्रीहरूको अवधारणा र ब्ल्याकवेल जीपीयू प्रविधिले बजारमा ठूलो प्रभाव मैले अनुमान गरेको छु,' उनको भनाइ छ । यद्यपि, यी घोषणापछि एनभिडियाको सेयर मूल्यमा भने केही गिरावट आएको थियो । 

डिपसिकसँगै केही चिनियाँ कम्पनी र बजारमा बढेको प्रतिस्पर्धाले एआई क्षेत्रमा रहेको आफ्नो प्रभाव कायम राख्न नयाँ उत्पादन र साझेदारी घोषणा गर्नैपर्ने दवावमा एनभिडिया रहेको थियो । कम्पनीले आफ्नो कार्यक्रमलाई त्यसैअनुरूप आश्वस्त पार्ने प्रयासको रूपमा प्रयोग गरेको रोयटर्सले उल्लेख गरेको छ ।

सन् २०२५ को सुरुमै एकपछि अर्को चिनियाँ एआई प्लाटफर्मको आगमनले एनभिडियाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । कुनै बेला एक सातामै १० खर्ब अमेरिकी डलरसम्म बजार मूल्य घट्न पुगेको पृष्‍ठभूमिमा कम्पनीका पछिल्लो घोषणाले लगानीकर्तालाई रिझाउने प्रयास गरेको विश्लेषकहरूको धारणा छ । 

Within the next 5 years, humanoid robots will be working everywhere in the market: Nvidia CEO Huang

एजेन्सी

Link copied successfully