ग्रेट हल अफ द पिपलमा प्रविधि उद्यमीहरूसँग छलफल गर्दै राष्ट्रपति सी चिनफिङले भने, 'आफ्नो क्षमता देखाउनू ।'
काठमाडौँ — तीन महिनाअघि ‘डिपसिक’ सार्वजनिक हुँदा यो एआई प्लाटफर्म, अमेरिकी कम्पनी ओपेनएआईको च्याटजीपीटीभन्दा सस्तो लागत र न्यून कम्प्युटिङ पावरमा निमार्ण गरिएको भनेर व्यापक चर्चा भयो । त्यसयता चीनमा डिपसिकभन्दा पनि सस्तो लगानीमा बनाइएका एआई टुलहरू एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन् ।
सोमबार मात्रै चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । बाइडुको अर्नी ४.५ र अर्नी एक्स वान मोडेल डिपसिकको आर वान मोडेललाई टक्कर दिने गरी तयार गरिएको छ। चिनियाँ सूचना प्रविधि कम्पनी बाइडुको दाबीअनुसार यी मोडेलहरू डिपसिकको आर वानजत्तिकै सशक्त छन् भने आर वानको तुलनामा आधा लागतमा निर्माण गरिएको छ ।
ग्लोबल टाइम्सका अनुसार नयाँ एआई मोडलहरू सार्वजनिक गर्नेमा बाइडु एक्लो छैन । यसअघि मार्च ६ मा अलिबाबा क्लाउडले तोङ्गयी क्विनयेन क्यु डब्लु क्यु- ३२ बी नामक ओपेन-सोर्स मोडल सार्वजनिक गरेको थियो । हिसाब-किताब, कोडिङ र जेनेरल क्यापाबिलिटिजमा यसले डिपसिकको आर वानसरह परफर्समेन्स दिने अलिबाबाको दाबी छ । अर्को ठूलो प्रविधि कम्पनी टेन्सेन्टले फेब्रुअरि २७ मा हुन्युआन टर्बो एस नामक एआई मोडल सार्वजनिक गरेको थियो ।
चीनमा अहिले स्थानीय कम्पनीहरूबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढ्दै गएको छ । यस प्रतिस्पर्धामा अलीबाबा, टेन्सेन्ट, बाइडु, बाइटडान्सजस्ता ठूला प्रविधि कम्पनीसँगै कयौँ नयाँ स्टार्टअपहरूको पनि लहर छ । यी कम्पनीहरूमा विशेषगरी चीनका ‘सिक्स टाइगर्स अफ एआई’ (एआईका ६ ठूला कम्पनी) भनिने स्टेपफन, जिपु एआई, मिनिम्याक्स, मुनसट, ०१. एआई र बाइचुवानबीच प्रतिस्पर्धा देखिन्छ । यी कम्पनीहरू फाउन्डेसनल मोडेलहरूदेखि उपभोक्ता-केन्द्रित एप्लिकेसनहरूमा नयाँ-नयाँ पहल गर्दै आएका छन् ।
सन् २०२३ मा सांघाइमा स्थापना भएको स्टेपफन एआईलाई अडियो र भिडियो जेनेरेसनमा ‘अर्को डिपसिक’ का रूपमा लिने गरिएको छ । एक ट्रिलियनभन्दा बढी प्यारामिटरहरूसहित निर्माण गरिएको यसको स्टेप-२ नामक ल्यांग्वेज मोडेललाई विश्वकै शीर्ष मोडेलहरूमा गनिन्छ । कम्पनीले आर्टिफिसियल जेनेरेल इन्टेलिजेन्स (एजीआई) मा समेत अनुसन्धान गरिरहेको छ । स्टेपफनले अडियो च्याट, टेक्स्ट टु स्पिच, टेक्स्ट टु भिडियो मोडलहरू विकास गरेको छ ।
त्यस्तै, सन् २०१९ मा बेइजिङमा स्थापना भएको अर्को चर्चित चिनियाँ एआई कम्पनी ‘जिपु’ ले सन् २०२२ मा चीनको पहिलो सेल्फ-ट्रेन्ड लार्ज ल्यांग्वेज मोडल विकास गरेको थियो । यसको च्याटबट एप ‘च्याट जीएलएम’का साँढे २ करोडभन्दा बढी प्रयोगकर्ता छन् । जिपु एआईलाई ओपेनएआईको चिनियाँ विकल्पका रूपमा लिने गरिएको छ । रोयटर्सका अनुसार गत जनवरीमा यस कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेर कुनै पनि अमेरिकी उत्पादन जिपुले खरिद गर्न नमिल्ने बनाइदिएको थियो । लगत्तै चीन सरकार मातहतको हुआफा समूहले जिपुलाई ५ सय मिलियन युआन (करिब ६ करोड ९० लाख डलर) लगानी उपलब्ध गराएको थियो ।
चीनमा डिपसिक, म्यानसजस्ता स्टार्टअप कम्पनी र एआई प्लाटफर्महरू पनि आफ्नो पहिचान बनाउन सफल भएका छन् । एआई प्रविधिलाई नभइ नहुने सेमिकन्डक्टर चिपमा अमेरिकाको प्रतिबन्ध र फाउन्डेसनल मोडेल प्रशिक्षणमा लाग्ने उच्च लागतजस्ता अवरोधहरूले कम्पनीहरूलाई सिर्जनशील बन्न प्रेरित गरिरहेका छन् । कम्पनीहरूलाई पछिल्लो समय चीन सरकार र राष्ट्रपति सी चिनफिङले पनि पर्याप्त हौसला प्रदान गर्दै आएका छन् ।
बीबीसीका प्रविधि पत्रकार टम सिंगलटनले कुनै बेला प्रविधि कम्पनीहरूमाथि कडाइ गरेका राष्ट्रपति चिनफिङले कसरी अहिले पुन: साथ दिइरहेका छन् भन्नेबारे विश्लेषणात्मक समाचार लेखेका छन् । उनका अनुसार गत फेब्रुअरीमा अमेरिकी ओभल अफिसमा डोनाल्ड ट्रम्पको छेउमा प्रविधि धनाढ्य इलन मस्क उभिएर बोलेको विषयमा विश्वको ध्यान गइरहँदा त्यही समय आसपास बेइजिङको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति चिनफिङले अलिबाबाका संस्थापक ज्याक मालाई छेउमा राखेर बैठक गरेका थिए ।
चिनियाँ प्रविधि उद्योगका ठूला व्यवसायीहरू उपस्थित उक्त बैठकमा राष्ट्रपति चिनफिङले उनीहरूलाई ‘आफ्नो क्षमता देखाउन’ अनुरोध गरेका थिए । कोभिड महामारीपश्चात सुस्ताएको चिनियाँ अर्थतन्त्रलाई माथि उठाउन प्रविधि कम्पनीहरूको सहायता खोजिरहेको चीन सरकारले कम्पनी र स्टार्टअपहरूलाई खुलेरै मद्दत गर्दा यो उल्टै प्रत्युत्पादक त हुँदैन भन्ने प्रश्न पत्रकार सिंगलटनको छ । उनले हुवावे र टिकटकको उदहारण दिँदै प्रविधि कम्पनीमा चीन सरकारको साथ देखिँदा डेटा सुरक्षा र गोपनीयताको शंका उब्जिएर ती निकै समस्यामा परेको उनले उल्लेख गरेका छन् ।
‘सरकारले दिइरहेको साथसँगै प्राप्त हुने अतिरिक्त लगानीका कारण भविष्यमा चिनियाँ कम्पनीहरूले एआईमा थप उन्नत प्रगति हासिल गर्न सक्छन्,’ पत्रकार सिंगलटनको निचोड छ, ‘त्यो बेला धेरैलाई अहिले ओभल अफिसतिर ध्यान दिनुको सट्टा ग्रेट हल अफ पिपलतिर ध्यान दिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ ।’
(एजेन्सीको सहयोगमा)
