काठमाडौँ — अर्बपति इलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा उपलब्ध हुने निश्चित भएको छ । यसका लागि मंगलबार त्यहाँका दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एयरटेल र रिलायन्स जिओले मस्कको स्पेस एक्ससँग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच वासिङटनमा भेटघाट भएको एक महिनापछि नै भारती एयरटेल र रिलायन्स जिओले स्पेस एक्ससँग साझेदारीको घोषणा गरेका हुन् । भेटमा मोदी र मस्कले अन्तरिक्ष, सञ्चार, प्रविधि र नवपर्वतनमा सहकार्य मजबुत बनाउने विषयमा छलफल गरेका थिए ।
भारती एयरटेल र रिलायन्स जिओले अब आफ्ना ग्राहकहरूलाई स्टारलिंकको स्याटलाइटमा आधारित ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने तय भएको छ । रोचकचाहिँ, मुकेश अम्बानीको रिलायन्स जिओ र सुनील मित्तलको भारती एयरटेलले यसअघि स्पेस एक्सको भारत प्रवेशको चर्को विरोध गरेका थिए ।
एनडीटीभीका अनुसार अम्बानी र मित्तलले भारतमा 'समान प्रतिस्पर्धी वातावरण' नभएको भन्दै स्टारलिंकको उपस्थितिलाई चुनौतीका रूपमा लिएका थिए । तर अहिले यी दुवै सेवा प्रदायक स्पेस एक्सकै साझेदार बनेका हुन् ।
‘एयरटेल र स्पेस एक्सले एयरटेलका रिटेल स्टोरहरूमा स्टारलिंकका उपकरण उपलब्ध गराउने, एयरटेलमार्फत ग्राहकहरूलाई स्टारलिंक सेवा प्रदान गर्ने विषयमा उपयुक्त सम्भावनाहरूको खोजी गर्नेछन्,’ एयरटेलले बेवसाइटमा राखेको विज्ञप्तीमा भनिएको छ, ‘भारतका दुर्गम क्षेत्रका समुदाय, विद्यालय र स्वास्थ्य केन्द्रहरूमा समेत यो सञ्चार सेवा पुर्याउने विषयमा विकल्पहरू खोजिनेछन् ।’
स्पेस एक्सका चिफ अपरेटिङ अफिसर ग्वेन सटवेलले एयरटेलसँग सहकार्य गर्न पाउँदा र भारतीय उपभोक्ताका लागि स्टारलिंकले ल्याउनसक्ने 'रुपान्तरणकारी प्रभाव'बारे उत्साहित बनेको प्रतिकृया दिएका छन् ।
