स्टेम क्षेत्रमा महिला सहभागिता विश्वव्यापी रूपमा २९ प्रतिशत मात्रै
काठमाडौँ — आज गुगल खोल्दा सर्च बारभन्दा माथि गुगलको लोगोलाई विज्ञानसम्बन्धी विभिन्न आकृतिहरूले सजाइएको देखिन्छ । परमाणु, डीएनए हेलिक्स, रसायन परखनली, डाइनोसरसको कंकाल र अन्तरिक्ष यात्रीसम्बन्धी चिन्ह छन् । गुगलले अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) क्षेत्रमा महिलाहरूको योगदानलाई सम्मान गर्दै यस्तो डुडल सार्वजनिक गरेको हो ।
गुगलका अनुसार यस वर्षको डुडलमार्फत अन्तरिक्ष अन्वेषणमा उल्लेख्य भूमिका खेलेका, पुरातत्वमा महत्वपूर्ण खोज गरेका, भौतिकशास्त्र, रसायनशास्त्र तथा जीवविज्ञानको क्षेत्रमा अनुसन्धान गरेका महिलाहरूलाई सम्मान गरिएको हो । ‘यी उपलब्धीहरूले विज्ञानमा महिलाहरूको योगदानको केबल एउटा सानो टुक्राको मात्रै प्रतिनिधित्व गर्छन्,’ गुगलले डुडलबारे लेखेको छ, ‘उनीहरूले त समग्र लैङ्गिक समानताको दिशामा भइरहेको प्रगतिमा योगदान पुर्याइरहेका छन् ।'
गुगलले स्टेम क्षेत्रमा भने अझै पनि महिला सहभागिता कमजोर रहेको उल्लेख गर्दै यसमा दूरी हटाउन पर्याप्त काम गर्न सकिने आशय व्यक्त गरेको छ । गुगलका अनुसार स्टेम क्षेत्रमा महिला सहभागिता हाल विश्वव्यापी रूपमा २९ प्रतिशत मात्रै छ । अध्ययनहरूका अनुसार स्टेम शिक्षामा महिला सहभागिता कम हुँदा समाजले नवप्रवर्तन, समावेशी विकास र लैङ्गिक समानतामा ठूलो घाटा बेहोर्नुपर्छ । तथापी, हरेक वर्ष यो संख्या बढ्दै गएकाले विज्ञान र प्रविधिमा महिलाहरूको पहुँच विस्तार हुँदै गएको गुगलको ब्लगपोस्टमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले १९७५ मा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो । यो दिवस महिलाहरूको पहल, परिश्रम र उपलब्धीको सम्मान गर्ने तथा लैङ्गिक समानताको पक्षमा आवाज उठाउने विश्वव्यापी अभियानको रूपमा रहँदै आएको छ ।
