यौनिक अल्पसंख्यक र मुस्लिम समुदायका किशोरीलाई खगोलशास्त्रबारे प्रशिक्षण

फाल्गुन २३, २०८१

आरती पौडेल

Training girls from sexual minorities and Muslim communities in astronomy

काठमाडौँ — श्रवण शक्ति कमजोर भएका, यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) र मुस्लिम समुदायका किशोरीहरुलाई खगोलशास्त्रबारे प्रशिक्षण दिइएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीले काठमाडौंमा खगोलशास्त्रबारे दुई दिने प्रशिक्षण प्रदान गरेको हो । पहिलो दिन बिहीबार खगोलशास्त्र के हो, तारामण्डल तथा नक्षत्रलगायत विभिन्न पक्षबारे किशोरीहरुलाई प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण गराइएको थियो । त्यस्तै प्लानिस्फियर तारामण्डल नक्सा कसरी प्रयोग गर्ने र तारा कसरी अवलोकन गर्न सकिन्छ भने विषयमा जानकारी दिइएको थियो ।  

दोस्रो दिन टेलिस्कोप परिचय, टेलीस्कोप प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाका उपाय, सोलार फिल्टर सुरक्षाका लागि कसरी प्रयोग गर्ने र सोलार इकलिप्स ग्लास वा सौर्य ग्लास किन प्रयोग गर्ने भन्नेजस्ता विषयहरुमा प्रशिक्षण दिइएको थियो । 

सोसाईटीकी परियोजना संयोजक मनिषा द्वाले किशोरीहरुलाई टेलीस्कोप प्रयोग, विज्ञान र प्रविधिप्रति रुचि बढाउन र आफूले जानेको कुरा विद्यालय तथा समुदायमा सिकाउन सक्ने बनाउन प्रशिक्षण आयोजना गरिएको बताइन् । साथै खगोलशास्त्रमा महिला र कम प्रतिनिधित्व रहेका समुदायको संलग्नता बढाउने कार्यक्रमको उद्देश्य उनको भनाइ छ । 

Training girls from sexual minorities and Muslim communities in astronomy

प्रशिक्षण लिइसकेपछि सहभागी विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान पाएकोमा खुसी व्यक्त गरे । कन्या मन्दिर सेकेन्डरी स्कुलमा अध्ययनरत रौनक खातुनले आफूले टेलिस्कोप, सन्डायलबारे किताबमा मात्र पढेको तर कार्यक्रममा प्रत्यक्ष देख्न र सिक्ने अवसर पाएकोमा खुसी भएको बताइन् ।

लाइफ भिजन एकेडेमीकी एन्जिला शेर्पाले आफूले कार्यक्रममा धेरै कुरा सिकेको र अब अरुलाई पनि सिकाउन सक्ने आत्मविश्वास बढेको बताइन् ।

केन्द्रीय बहिरा माविकी सुजिता नेपालले आफू यस्ता कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै किताबमा नपढेका विषय सिक्न पाएको बताइन् । उनले अब आफ्नो कलेजमा अन्य साथीहरुलाई टेलीस्कोपको बारेमा ज्ञान सेयर गर्ने सांकेतिक भाषामार्फत जानकारी दिइन् । श्रवण शक्ति कमजोर भएका विद्यार्थीका लागि सांकेतिक भाषा शिक्षक व्यवस्था गरिएको थियो । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले नेपालको शिक्षाको गुणस्तरलाई बढाउन र शिक्षा क्षेत्रमा आएका अवरोध अत्य गर्न यस्ता कार्यक्रम गर्दै आएको बताए । कुनै विद्यार्थी पनि सिक्ने अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्य आफ्नो संस्थाको रहेकोले यस्ता प्रशिक्षणलाई निरन्तरता दिइरहने उनले बताए । 

कार्यक्रममा विद्यार्थीका साथै विभिन्न विद्यालयबाट शिक्षकहरुको सहभागिता थियो ।

सोही अवसरमा केन्द्रीय बहिरा मावि, लाइफ भिजन एकेडेमी र कन्या मन्दिर सेकेन्डरी स्कुललाई सोसाईटीले १/१ वटा टेलिस्कोप दिएको थियो । 

Training girls from sexual minorities and Muslim communities in astronomy

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully