काठमाडौँ — आफू चढेर गएको यान बिग्रिएकाले नौ महिनादेखि अन्तरिक्षमा बसिरहेका दुई अन्तरिक्ष यात्री अन्ततः आउँदो महिना पृथ्वीमा फर्किने भएका छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा विभिन्न खोज, अन्वेषण, वैज्ञानिक परीक्षण र स्पेक वाकसमेत गरिरहेका सुनिता विलियम्स ‘सुनी’ र ब्यारी विलमोर ‘बुच’ आउँदो मार्च महिनामा फर्किने तय भएको हो ।
सीबीएस न्युज र न्यु योर्क पोस्टका अनुसार नासाले मार्च १२ मा क्रिउ ड्रागन स्पेसक्राफ्टमार्फत सुनिता र बुचसँगै अर्का अन्तरिक्ष यात्री निक हेग र कस्मोनट एलेक्जेन्डर गोर्बुनोभ फर्किन लागेका छन् । हेग र गोर्बुनोभ गत सेप्टेम्बरमा अन्तरिक्ष केन्द्रमा गएका थिए । सुनिता र बुच भने बोइङको ‘स्टारलाइनर’ यानको अन्तिम परीक्षण उडानका लागि अन्तरिक्ष यात्रामा निस्किएका थिए ।
आठ दिनका लागि भनेर पृथ्वीको सतहबाट ४ सय ८ किमी माथि रहेको आईएसएससम्म पुगेका उनीहरू यानको पर्पल्सन प्रणालीमा समस्या आएपछि केन्द्रमा बसेका थिए भने यानलाई रित्तै फर्काइएको थियो । त्यहाँ रहुन्जेल उनीहरूले नासाका अन्य ४ जना र रुसी अन्तरिक्ष कार्यक्रमका ३ जना अन्तरिक्ष यात्रीसँगै खोज र अनुसन्धानका काम गरे । अघिल्लो हप्ता मात्रै उनीहरूले संयुक्त रूपमा 'स्पेस वाक' अर्थात् यानबाट बाहिर निस्केर अन्तरिक्षमा हिँड्ने काम गरे । चार घण्टा लगाएर यानको एन्टेना मर्मत गरे ।
सुनिताले अन्तरिक्षमा आफूहरू सुरक्षित, स्वस्थ र खुसी रहेको बताउने गरेकी छन् । लामो समय त्यहाँ बसेकाले शारीरिक परिवर्तन भने आएको उनको भनाइ छ । एनबीसीसँगको अन्तर्वार्तामा सुनितले अन्तरिक्षबाट बोल्दै दिनको दुई घण्टा नियमित काम गर्ने र धेरै बेर शारीरिक अभ्यास गरिरहेको बताएकी थिइन् । 'हामी यहाँ ठिक छौँ, स्वस्थ छौँ, यो मलाई घरजस्तै लाग्छ,' उनले भनेकी थिइन्, 'परिवारसँग, आमासँग समय बिताउने योजना थिए । उहाँहरूलाई सम्झिन्छु ।'
अमेरिकामा राष्ट्रपतिको पदभार सम्हाल्नसाथ डोनाल्ड ट्रम्पले भने पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनलाई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा अलपत्र पारेको आक्षेप लगाएका थिए । ‘बहादुर अन्तरिक्ष यात्रीहरूलाई बाइडेन प्रशासनले अन्तरिक्षमा अलपत्र पारेको छ,’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘उनीहरू महिनौँदेखि अन्तरिक्ष केन्द्रमा घर आउने दिन पर्खेर बसेका छन् । इनले उनीहरूलाई ल्याउँदै छन् । सबै सुरक्षित फर्किने आशा छ, इनललाई शुभकामना ।’
मस्कको अन्तरिक्षसम्बन्धी यानहरू निर्माण गर्ने कम्पनी स्पेस एक्सले सुनिता र बुचलाई मार्चमा फिर्ता ल्याउने मिति यसअघि नै निर्धारित थियो । नासाले भने उनीहरूलाई ‘जति सक्दो व्यहारिक रूपमा चाँडै’ पृथ्वीमा फर्काउने उल्लेख गरेको छ । सुनिता र बुच अन्तरिक्ष केन्द्रमा पुगेदेखि चार पटक अत्यावश्यक वस्तु पुर्याएको छ भने हाल सुनिता अन्तरिक्ष केन्द्रकी प्रमुखका रूपमा रहेकी छन् । उनीहरूलाई त्यहाँ कसरी, कति समय राख्ने भन्ने निर्णय राष्ट्रपतिको प्रशासनले नभई नासाले गर्ने द न्यु योर्क टाइम्सले जनाएको छ ।
अन्तरिक्ष यात्रामा यस्ता चुनौती असाधारण नभएको र उनीहरू फर्किएसँगै अर्को टोली अन्तरिक्ष केन्द्रमा पठाउने नासाको तयारी छ । केन्द्रले सामान्यतया ७ जनालाई आश्रय दिने गरेको भए पनि त्यहाँ १० जना बस्न पुग्ने क्षमता छ । सन् २००९ मा त १३ जनासम्म बसेका थिए । अहिलेका अन्तरिक्ष यात्री फर्किनासाथ त्यहाँ अमेरिकी एस्ट्रोनट एना म्याक्लेन र निकोल एयर्स, जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीबाट ताकायु ओनिसी र रुसको रसकसमस कस्मोनट किरिल पेस्कोभ केन्द्रमा रहनेछन् ।
