होक्स इमेलबारे सजग रहन र रिप्लाइ नगर्न प्रहरीको अनुरोध

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Police request to be aware of hoax emails and not to reply

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरो, अन्य विशिष्टिकृत कार्यालय र उच्च पदस्थ प्रहरी अधिकारीहरूको नाम तथा दर्जा दुरुपयोग गरी विभिन्न व्यक्तिलाई चेतावनीमूलक इमेल आउने गरेको ब्युरोले जनाएको छ । यस्ता इमेलहरू होक्स (झुटा वा भ्रामक) भएकाले सतर्क रहन ब्युरोले अनुरोध गरेको छ । 

पछिल्लो समय नेपाल प्रहरीका विभिन्न कार्यालयहरूको नाम र उच्च अधिकृतहरूको दाबी गर्दै विभिन्न व्यक्तिहरूलाई इमेल पठाएको विषयमा जनगुनासो आइरहेको र यसप्रति गम्भीर ध्यानाकर्षण भएको ब्युरोले जनाएको छ । ‘नेपाल प्रहरी साइबर ब्युरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू होक्स इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन र कुनै प्रतिक्रिया (रिप्लाइ) नदिनुहुन अनुरोध छ,’ ब्युरोले विज्ञप्तिमा भनेको छ । 

यस्ता इमेलबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यस विषय कुनै दुविधा भएमा साइबर ब्युरोको आधिकारिक वेबसाइटमा रहेका सम्पर्क नम्बर र इमेलमार्फत थप बुझ्न ब्युरोले अपिल गरेको छ ।  

होक्स इमेल भनेको झुक्याउने वा जालसाझी गर्ने अभिप्रायले पठाइएका इमेल हुन् । यस्ता इमेलहरू व्यक्तिगत जानकारी चोरी गर्ने, मालवेयर डाउनलोड गर्न लगाउने वा पैसा ठगी गर्ने उद्देश्यले पनि पठाइएका हुन्छन् । जिज्ञासा, डर वा उत्सुकता सिर्जना गर्ने गरी यस्ता इमेल डिजाइन गरिएका हुन्छन् ।

कान्तिपुर

Link copied successfully