'रेडनोट' तिर झुम्मिए अमेरिकी टिकटक प्रयोगकर्ता 

माघ २, २०८१

कान्तिपुर संवाददाता

American TikTok user turned to 'Rednote'

काठमाडौँ — अमेरिकामा टिकटक चल्न दिने/नदिने विषयमा निर्क्योल हुने दिन नजिकिँदै गर्दा त्यहाँका प्रयोगकर्ताले धमाधम अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्न थालेका छन् । सीएनएनका अनुसार मंगलबार अमेरिकामा एप्पल एप स्टोरमा रेड नोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको थियो ।

टिकटकमाथि प्रतिबन्ध लाग्ने सङ्केत बढेपछि नयाँ प्लाटफर्मको खोजीमा रहेका प्रयोगकर्ताहरू ‘सियाओहङ्शु’ नामक चिनियाँ एपतर्फ झुम्मिएका हुन् । यो एपलाई उनीहरूले ‘रेड नोट’ अङ्ग्रेजी नाम दिएर धमाधम इन्स्टल गर्न थालेका छन् ।

‘सियाओहङ्शु’ को अर्थ 'लिटल रेड बुक' अर्थात् रातो किताब भए पनि चिनियाँ कम्युनिस्ट नेता माओ त्सेतुङका भनाइहरू समेटिएको पुस्तकसँग यसको कुनै सन्दर्भ नरहेको एप निर्माताहरूले बताएका छन्  ।आफूलाई ‘टिकटकका शरणार्थी’ भन्न रुचाउने अमेरिकी प्रयोगकर्ताहरू टिकटकको विकल्पमा अर्को चिनियाँ एपमा आकर्षित हुनुलाई रोचक तरिकाले हेरिएको छ ।

सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लाटफर्ममध्ये एक हो । यसमा हालसम्म ३० करोड मासिक प्रयोगकर्ता छन् । यसलाई चीनको इन्स्टाग्राम पनि भन्ने गरिएको छ ।

चिनियाँ हान्जी भाषामा एपको नाम राखिएको भए पनि यो खोलेपछि अङ्ग्रेजी भर्सनमा चलाउने सुविधा छ । यसअघि चीन, ताइवान र म्यान्डरिन भाषा बोलिने ठाउँका युवाहरूमाझ लोकप्रिय रहेको यो एप अहिले अमेरिकी प्रयोगकर्तामाझ पुगेको हो । यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ ।

बीबीसीका अनुसार मंगलबार मात्रै रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा करिब ६३ हजार पोस्ट भएका थिए । प्रयोगकर्ताहरूले यो एप कसरी चलाउने, त्यहाँ रहेका चिनियाँ शब्दहरूको अर्थका विषयमा पोस्टहरू बनाइरहेका छन् ।

‘हामीलाई आतिथ्य प्रदान गरेकोमा हाम्रो चिनियाँ होस्टलाई धन्यवाद,’ एक प्रयोगकर्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘तर हाम्रो यो भद्रगोलका लागि सुरुमै क्षमाप्रार्थी छौँ ।’ युटाहको एक विद्यालयमा चमेना गृहकी कर्मचारी सारा फोदरिंगघमले पनि सरकारी कदमको बेवास्ता गर्दै आफूले रेड नोट इन्स्टल गराएको बताएकी छन् । 

अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ । तथापि, अमेरिकी सरकारले गत अप्रिलमा यो एपमाथि प्रतिबन्ध लगाउन सक्ने कानुन लागू गरेको छ ।

उक्त कानुनअनुसार यही जनवरी १९ भित्र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले कि त टिकटकको अमेरिकी स्वामित्व गैर-चिनियाँ व्यवसायीलाई बेच्नुपर्ने कि प्रतिबन्धको सामना गर्नुपर्नेछ ।

American TikTok user turned to 'Rednote'

शुक्रबार वासिङटन डीसीस्थित सर्वोच्च अदालतबाहिर टिकटकको समर्थनमा उभिएका प्रयोगकर्ता । तस्बिर : इएफइ डटकम 

टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा संकलन गरेर चिनियाँ सरकारलाई दिने आशङ्कासहित अमेरिकी सांसदहरूले टिकटक प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेका थिए । राष्ट्रपति जो बाइडेनले तुरुन्तै हस्ताक्षर गरेर त्यसलाई कानुनी रूप दिए ।

बाइटडान्स र टिकटक प्रयोगकर्ताहरूले भने सो कानुनको संवैधानिकतामा प्रश्न उठाउँदै आएका छन् । एप प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई उल्लङ्घन गर्ने उनीहरूको दाबी छ । 

उक्त कानुन उल्ट्याउने उद्देश्यले बाइटडान्सले अमेरिकी सर्वोच्च अदालतमा मुद्दा हालेको छ । अमेरिकी सरकारले एपमा प्रतिबन्ध लगाएर अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गर्न खोजेको आरोपमा बाइटडान्सले दायर गरेको उक्त मुद्दामा पछिल्लो पटक गत शुक्रबार सुनुवाइ भएको थियो ।

न्यायाधीशहरूले अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बाइटडान्सको मुख्य दाबीप्रति शङ्का व्यक्त गर्दै अमेरिकी सरकारको धारणातर्फ झुकाव राखेका थिए । यसले पनि जनवरी १९ पश्चात् अमेरिकामा टिकटक प्रतिबन्ध हुने सम्भावनातर्फ बढी सङ्केत गरेको छ । 

अदालतमा मुद्दा विचाराधीन छँदै कतिपय अर्बपतीहरूले भने टिकटक किन्न तयार रहेको बताउन थालेका छन् । यसमा विश्वकै धनी इलन मस्कदेखि शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपती फ्र्यांक म्याककर्ट, पूर्व अर्थमन्त्रीसमेत रहेका बैंकर स्टेभन म्युचिनजस्ता प्रख्यात अर्ब पतीहरूले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न चाहेका समाचार बाहिरिएका छन् । बाइटडान्सले भने टिकटकको बिक्री सम्भव नभएको प्रतिक्रिया दिँदै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully