काभ्रेका ५२ वर्षीय उमेश चौलागाई शनिबार बिहान महाकाली नदी हेर्न जाँदा अचानक आएको बाढीमा फसेका थिए ।
कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोल नजिकै महाकाली नदीको टापुमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले टापुमा फसेका व्यक्तिको उद्धार गरेको हो ।
दोधारा चाँदनीस्थित आफन्तको घरमा आएका काभ्रेपलाञ्चोकका ५२ वर्षीय उमेश चौलागाई शनिबार बिहान महाकाली नदी हेर्ने क्रममा बगरसम्मै पुगेका थिए । तर नदीमा पानीको बहाव एक्कासी बढेपछि उनी टापुमै फसेका थिए । उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए ।
शनिबार बिहान करिब ७ः३० बजे झोलुङ्गे पुलबाट करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेपछि गुहार माग्दा स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएको र तत्काल उद्धार टोली खटिएको उनले बताए ।
मनसुन सक्रिय भएसँगै महाकाली नदीमा पानीको बहाव र जोखिम बढ्दै गएकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ ।
