रानीसैन घटनाका १० जना पूर्पक्षका लागि थुनामा, ८ जना धरौटीमा छुटे

जिल्ला प्रहरी बाजुराले शरीर बन्धक बनाएको कसुरमा २२ जनाबिरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये १ जना असार ४ र अन्य २० जना असार ५ मा पक्राउ गरी मार्तडी ल्याइएको थियो ।

असार ३०, २०८३

अर्जुन शाह

10 people in Ranisain incident remanded in custody, 8 released on bail

धनगढी — बाजुरा र हुम्लाको सीमा रानीसैनको लाम्पाटामा गत जेठमा भएको घटनामा कुटपिट तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका २१ जनामध्ये १० जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ८ जनालाई धरौटीमा छाडिएको छ भने तीन जना साधारण तारेखमा छुटेका छन् । 

जिल्ला अदालत बाजुराले सोमबार १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले ८ जनालाई जनही २ लाख धरौटीमा रिहा गर्न तथा ३ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
जिल्ला प्रहरी बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशकुमार शाहीका अनुसार थुनामा पठाइएकामा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंकर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् । 

यस्तै मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग जेठारा र ज्ञानेन्द्र छत्याललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । हुम्लाकै सर्केगाड २ का वडाध्यक्ष सिद्ध कार्की फरार रहेको सूचना अधिकारी शाहीले बताए । 

जिल्ला प्रहरी बाजुराले शरीर बन्धक बनाएको कसुरमा २२ जनाबिरुद्ध मुद्दा दर्ता गरेको थियो । उनीहरुमध्ये १ जना असार ४ र अन्य २० जना असार ५ मा पक्राउ गरी मार्तडी ल्याइएको थियो । 

साइपाल हिमालको पूर्वी बेसक्याम्प रहेको रानीसैन क्षेत्रमा हुम्ला र बाजुराका स्थानीय बीच सीमा विवादका त्रममा कुटपिट भएको थियो । पक्राउ परेकाहरुले जेठ ३ र ५ मा लाम्पाटा आएर हिमाली गाउँपालिका ३ लाम्पाटाका जनप्रतिनिधिसहित स्थानीय बासिन्दामाथि कुटपिट तथा बन्धक बनाएको अभियोग लागेको थियो । त्यस क्रममा हिमाली गाउँपालिका ३ का वडासदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कुलबहादुर थापा घाइते भएका थिए । गम्भीर घाइते पेमा गोरा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख विनियोजन गरेर भवन निर्माण सुरु गरेपछि हुम्लाको खार्पुनाथ र सर्केगाडका स्थानीयले आफ्नो क्षेत्रमा प्रहरी चौकी निर्माण गरेको भन्दै अवरोध गरेका थिए । उक्त घटनापछि सरकारले लाम्पाटामा सशस्त्र प्रहरी र नेपाली प्रहरीको अस्थायी सुरक्षा बेस क्याम्प समेत स्थापना गरेको छ । दुई जिल्लाको सीमा विवादबारे सरकारले छानबिन समितिसमेत गठन गरेको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully