रानीसैन घटना: सीमा विवाद कि सुरक्षा उपस्थिति रोक्ने दाउ?

साइपाल हिमालको पूर्वी बेसक्याम्पमा पर्ने रानीसैन क्षेत्र‍ आकर्षक पर्यटकीय गन्तब्यसँगै बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार हो ।

जेष्ठ ९, २०८३

अर्जुन शाह

Ranisain incident: Border dispute or a bid to stop the security presence?

What you should know

धनगढी — ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान सञ्चालन गर्दै दार्चुलाको अपि हिमाल बेसक्याम्पको भ्रमणपछि अछामको रामारोशन हुँदै बाजुराको रानीसैन भ्रमणका क्रममा धनगढी उपमहानगर प्रमुख (मेयर) गोपाल हमालसहित ३८ जनाको टोली मंगलबार बाजुराको लाम्पाटाबाट लखेटियो । ‘रानीसैन पुग्न पाँच घण्टा मात्र बाँकी थियो, हामीलाई लाम्पाटाभन्दा अगाडि जान नदिएर हुम्लाका बासिन्दाले लखेटेर फर्काए,’ नगरप्रमुख हमालले भने ‘हामी फर्किने काठे पुल पनि भत्काइयो, धन्न कुटपिट हुनबाट जोगियौं । हामीमाथि सारै अत्याचार भयो ।’

सञ्चार सम्पर्कसमेत नहुने साइपाल हिमालको पूर्वी बेसक्याम्पमा पर्ने रानीसैन क्षेत्र गइरहेका धनगढीका मेयरको टोली मात्र नभई बाजुराका जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्ल, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितको टोलीसमेत लाम्पाटाबाट लखेटियो । धनगढीका मेयर हमालभन्दा अगाडि अध्यक्ष मल्लको टोली थियो । प्रमुख प्रशासकीय अधिकृत थापामाथि त कुटपिट समेत भयो । अध्यक्ष मल्लले भने आफू ज्यान जोगाएर फुत्किएको बताए । ‘बडो मुस्किलले ज्यान जोगाएर आइयो,’ जिल्ला समन्वय समिति प्रमुख रोकायाले भने ।

Ranisain incident: Border dispute or a bid to stop the security presence?

धनगढी र हिमाली गाउँपालिकाको टोली नपुग्दै तीन दिनअघि नै लाम्पाटाका स्थानीय माथि सांघतिक हमला भइसकेको धनगढीको टोलीमा रहेका उपसचिव नरेन्द्रबहादुर खातीले बताए । ‘लाम्पटामा रहेको घरका मालिक पेमा गारा गुरुङसहति उनकी श्रीमतीलाई २ गते राति कुटपिट गरेको, बन्धक बनाएको, अन्नपात लुटपाट गरेको थाहा पायौं । हामी पुग्दा पनि उनको घरमा आक्रमण भयो,’ खातीले भने ‘हामीले नचिन्ने तीन समूह थिए । एउटा समूहले ढुंगा, अर्कोले लठ्ठी र अर्को समूहले गुलेली लिएर माथिबाट घेरेका थिए ।’ 

एक समूहले धनगढीको टोलीमा रहेका पत्रकार विराज रोस्याराको मोबाइल थुतेर भिडियो डिलिट गर्न लगाएका थिए । कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, ३ नम्बरका वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामीमाथि हातपात तथा कुटपिट भएको हिमाली गाउँपालिका ३ का वडाध्यक्ष मंगल बुढाले बताए । 

हुम्ला र बाजुराको सीमा क्षेत्र हो, लाम्पाटा र रानीसैन । रानीसैन क्षेत्र साइपालको पूर्वी बेसक्याम्प हुनुका साथै आकर्षक पर्यटकीय गन्तब्य हो । यो क्षेत्र बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार पनि हो । बाजुराको करिब ३८ प्रतिशत भूक्षेत्र ओगटेको साविकको बिच्छ्या गाविस र अहिलेका हिमाली गाउँपालिका अन्तर्गत पर्छ यो क्षेत्र । निकै विकट, पातलो बस्ती भएको यो क्षेत्र हालको हिमाली गाउँपालिका-३ नम्बर वडामा पर्छ । उक्त क्षेत्र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ जोडिएको छ । 

यहाँ बाजुराका जनजाति समुदायको पातलो बसोबास छ । यहाँको कूल जनसंख्या ८१० मात्र छ । त्यो पनि धेरैजसो स्थानीय त गाउँ बाहिरै बसोबास गर्छन् । उता हुम्लाको खार्पूनाथ–२ थाली, रायनजिकको बस्ती हो । यी बस्ती लाम्पाटा क्षेत्रबाट करिब चार घण्टाको पैदल दुरीमा पर्छन् । हुम्ला क्षेत्रका ब्यापारीले यस क्षेत्रको जडीबुटीमा रजगज गर्दै आएको बाजुरातर्फका बासिन्दाको आरोप छ । ‘बाजुराका बासिन्दालाई कुटपिट र लुटपाट गर्ने, जडीबुटी संकलन गर्नै नदिने र संकलन गरिहाले पनि लुटेर लिने वा चाहेको मूल्यमा लिने गर्दै आएका हुन्,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्ल भन्छन् ‘यतिबेला हामीले अस्थायी प्रहरी पोष्ट राख्ने प्रक्रिया अघि बढाउँदा उनीहरुले आफ्नो अवैध ब्यवसायमा अवरोध हुने देखेर हिंसात्मक ब्यवहार गरेका हुन् ।’

Ranisain incident: Border dispute or a bid to stop the security presence?

सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा ४० लाख विनियोजन गरेको छ । सो बजेटको कार्यान्वयनका क्रममा हिमाली–३ गुम्बा र लाम्पाटाका स्थानीयले उपभोक्ता समिति गठन गरेर चौकी भवन निर्माण गर्न लाग्दा आक्रमण भएको हिमाली गाउँपालिकाले जनाएको छ । ‘भवन निर्माण सामग्री नष्ट गर्नुका साथै उक्त कार्यमा अगुवाई गरेका हिमाली–३ का वडासदस्य पेमा गारा गुरुङसहित उनकी श्रीमती लक्ष्मी गुरुङ, मिन कुँवरमाथि सांघातिक आक्रमण गरेर कुटपिट गरिएको हो,’ अध्यक्ष मल्लले भने, ‘हाम्रो पालिकाका हाकिममाथि पनि कुटपिट भयो, प्रहरीमाथि पनि कुटपिट भयो । घरमै बन्धक बनाइएका उनीहरुलाई हेलिकोप्टरबाट उद्दार गर्नुपर्ने अवस्था आयो ।’

यस क्षेत्रसँग हुम्लाका सर्केगाड गाउँपालिकाको रिप गाउँ, नाम्खा गाउँपालिकाको खगालगाउँ, खार्पुनाथ गाउँपालिकाको राय र थाली गाउँको भूगोल जोडिएको छन् । यी गाउँका स्थानीय बासिन्दाले रानीसैन क्षेत्रको प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै आएका छन् । यो क्षेत्र चरिचरनको मुख्य आधार क्षेत्र पनि पनि हो । 
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल दुई जिल्लाको सिमाना कवाडी खोला भएको दाबी गर्छन् । ‘प्रहरी चौकीको निर्माण बाजुराले आफ्नोतिर गरेमा वा हाम्रो पनि सहमति लिएर गरेको भए कुनै विवाद नै हुने थिएन,’ उनले भने ‘हाम्रो क्षेत्र कब्जा गर्ने उद्देश्यले चौकी राख्न लागिएकोमा हाम्रो आपत्ति हो ।’ 

उनले चौकी भवन निर्माण गर्न लागेको जानकारी पाइसकेपछि नगर्नका लागि प्रधानमन्त्री कार्यालयमासमेत ज्ञापन दिइएको दाबी गरे । त्यो क्षेत्र हुम्लाको थला सामुदायिक वन क्षेत्र भएको उनले बताए । ‘पहिलाका फैसला र प्रमाणहरु हाम्रो हुम्लातर्फ छन् । तर पछिल्ला कागजातहरु बाजुराले देखाइरहेको छ,’ अध्यक्ष राववले भने ‘सरकारले छानबिन गरेर छिनोफानो गरे हाम्रो मञ्जुरी छ । संरक्षित क्षेत्र बनाए पनि हाम्रो विमति छैन ।’ 

अध्यक्ष रावलले रानीसैन घटनाको छानबिन गरेर दोषीमाथि कारवाही भएमा आफ्नो कुनै विमति नरहेको बताए। धनगढीका मेयर हमाल रानीसैन जानु गलत भएको उनको जिकिर गर्दै रानीसैन जान नदिइएको स्वीकार गरे । ‘सुदूरपश्चिम हामी चिनाउँछौ भन्ने अभियान सञ्चालन गरेर विवादित रानीसैनमा किन जानु परेको ?’ अध्यक्ष रावलले भने ‘त्यो त आगोमा घ्यू थप्न गएजस्तो भयो नि ।’ 

यता हमालले भने आफूहरुले धनगढीबाट हिँड्नु अघि नै कुन दिन कहाँ बस्ने, कहाँ खानेसम्मको तालिका जिल्ला प्रशासन कार्यालय बाजुरालाई पठाएको बताए । ‘हामीलाई बाजुरा प्रशासनले कुनै पनि जानकारी दिएन । हामीले त लाम्पाटा पुगेपछि एकाएक घटना बेहोर्नु पर्यो,’ हमालले भने ‘हामी त ठाउँको प्रचारप्रसार गर्ने भावनाले रानीसैन जान लागेका थियौं, तर हामीलाई प्रहरी प्रशासनले गुमराहमा राख्यो, त्यसप्रति हाम्रो गम्भीर आपत्ति छ ।’ 

हुम्लाको खार्पुनाथले लाम्पाटास्थित आफ्नो क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न लागिएको दाबी गरे पनि सत्य नभएको बाजुरा पक्षले जनाएको छ । ‘सिमाना विवादको कुनै साइनो सम्बन्ध नै छैन । लाम्पाटा क्षेत्रबाट धेरै टाढा साकालाग्ना भन्ने ठाउँमा पर्छ हुम्ला र बाजुराको सीमा क्षेत्र,’ बाजुराको उक्त क्षेत्रका प्रदेश सांसद नरेशकुमार शाहीले भने ‘रानीसैन, गुम्बा, लाम्पाटासहित त्यो क्षेत्र बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार हो । उक्त स्रोतमाथि हुम्लाका केही ब्यापारी राजनीतिकर्मीले वर्षौंदेखि अधिपत्य जमाउँदै आएका छन् । अहिले प्रहरी चौकी स्थापना भए अवरोध हुने उनीहरुको डर हो ।’

लाम्पाटा घटना संसदमा पनि प्रवेश गरेको छ । बिहीबार प्रतिनिधिसभामा सांसदहरु केपी खनाल, जनकराज गिरी, जयपति रोकाया र टीका संग्रौलाले घटनाको गम्भीरताबारे सरकारको ध्यानाकर्षण गराएका थिए । शुक्रबार राष्ट्रियसभामा सांसद रेनुु चन्दले उक्त विषय उठाएकी छिन् । चन्दले भनिन् ‘सीमा विवादको आवरणमा जडीबुटी र वन्यजन्तुको चोरी तस्करीमा अवरोध हुने भएकाले प्रहरी चौकी राख्न नदिएको हो कि भन्ने चर्चाबारे गृहमन्त्रालयले छानबिन गर्नुपर्छ । पर्यटकहरुको सुरक्षा सुनिश्चित गरिनु पर्छ ।’ प्रनितिधिसभामा बोल्ने रोकायाबाहेकका तीनै जना सांसदले लाम्पाटा घटनाको विरोध गर्दै त्यस क्षेत्रमा हुने अवैध चोरी तस्करीको स्वार्थका कारण घटना भएको बताएका थिए ।

लाम्पाटा हिमाली गाउँपालिकामै पर्ने बाजुराको अन्तिम बस्ती हो । लाम्पाटाबाट करिब पाँच घण्टा पदैल दुरीमा साइपालको पूर्वी बेसक्याम्प बाजुराको रानीसैन पुगिन्छ । रानीसैन मनमोहक पर्यटकीय गन्तब्य हो । 
डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डीसीले लाम्पाटा घटना आवरणमा सीमा विवाद भए पनि उक्त क्षेत्रमा हुने गरेको अवैध गतिविधि मुख्य कारण भएको बताए । ‘बाजुराको आवश्यकता बमोजिम त्यहाँ प्रहरी चौकी बन्न थालेको थियो । चौकी बनेपछि वर्षौंदेखि चल्दै आएको बहुमूल्य जडीबुटीको अवैध ओसारपसारमा अंकुश लाग्नेवाला थियो । जडीबुटी व्यापारीको उक्साहटमा यो लफडा मन्चन गरिएको हो । त्यहाँ तस्करीमा कस्ता मान्छेको हात छ भन्ने कुरा धेरैलाई थाहा छ ।’   

बाजुराको रानीसैन बिच्छ्या, लाम्पाटा क्षेत्रले बाजुराको कूल क्षेत्रफलको ३८ प्रतिशत भाग ओगटेको छ । यो क्षेत्र बाजुराको जडीबुटी र दुर्लभ वन्यजन्तुको भण्डार मानिन्छ । यस क्षेत्रमा बाजुराको हिमाली–३ का बाम, रुम्दी, लाम्पाटा, गुम्बा, नेटा, बौडी, कोट, कोटिगाउँ, टिन, देउसैन, युना गरी ११ वटा बस्ती भए पनि जनसंख्या ८१० मात्र छ । न्यून जनसंख्या र पातलो बस्ती भएकाले यस क्षेत्रको जडीबुटी तथा वन्यजन्तुको चोरीतस्करीमा हुम्लाका केही राजनीतिक पहुँच भएका ब्यापारीको रजगज रहेको जिल्ला वन डिभिजन कार्यालय बाजुराका एक पूर्व अधिकृत बताउँछन् । यस क्षेत्रबाट ब्यापारीले हिल्सासम्म पुग्ने मानबस्तीरहित तस्करीको मार्ग बनाएको बाजुरास्थित एक सुरक्षाकर्मीले बताए । ‘रानीसैनमा पर्यटकको आवागमन र चलहपहल भएर त्यस क्षेत्रमा चलाउँदै आएको चोरी तस्करी सार्वजनिक हुने त्रासले पर्यटकलाई समेत अवरोध गरिएको हो,’ बाजुराका प्रदेश सांसद नरेशकुमार शाहीले भने । 

राजनीतिक पहुँच भएका जडीबुटी ब्यापारीकै योजनामा प्रहरी चौकी राख्न नदिने र रानीसैन क्षेत्रमा पर्यटक आवागमन हुन नदिने प्रयास भइरहेको बाजुरास्थित सुरक्षा निकायको बुझाई छ।बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला त्यस क्षेत्रका प्रहरी चौकी राख्न नदिनुको भित्री कारण पनि चोरी तस्करीमा अवरोध हुने डरले गरिएको बताउँछन् । राजनीतिक पहुँच भएका जडीबुटी ब्यापारीकै योजनामा प्रहरी चौकी राख्न नदिने र रानीसैन क्षेत्रमा पर्यटक आवागमन हुन नदिने प्रयास भइरहेको बाजुरास्थित सुरक्षा निकायको बुझाई छ । रानीसैन क्षेत्रमा नेपालमै सबैभन्दा गुणस्तरीय जटामसी पाउने गरेको छ । वन लसुन, रातो च्याउ, कटुकी, सेतो चिनी, पाँच औले, विष जरालगायतका मूल्यवान जडीबुटी यस क्षेत्रमा पाइन्छन् । जसका लागि ब्यापारीको तछाडमछाड हुने गर्छ । ‘रानीसैन क्षेत्रबाट जडीबुटीको चीनतर्फ तस्करी हुने गरेको बाजुराका एक सुरक्षा अधिकारीले बताए ।  

डिभिजन वन कार्यालय प्रमुख सुरेशचन्द्र डीसी बाजुरा वन कार्यालयको क्षेत्रमा उपस्थिति नरहेको स्वीकार्छन् । हिमाली गाउँपालिकाको धुलाचौरमा कैलाश सव डिभिजन कार्यालय रहे पनि त्यहाँ तीन जना वन रक्षक मात्र रहेको उनले बताए । ‘धुलाचौरबाट सात/आठ दिन टाढा पर्ने लाम्पाटा र रानीसैन क्षेत्रको हेरविचार तथा संरक्षण निगरानी तीन जना वन रक्षकले गर्ने अवस्था नै छैन,’ उनले भने ‘राज्यको उपस्थित नै नभएको जडीबुटीको भण्डारमा ब्यापारीको रजगज छ ।’ पछिल्लो विवादपछि रानीसैन क्षेत्रलाई सरकारले संरक्षित क्षेत्र बनाउनु पर्ने माग पनि उठेको छ । बाजुरा र हुम्लाबीच उत्पन्न रानीसैन विवादका कारण बाजुराको हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा दुई दिनदेखि अवरुद्ध गरिएको कर्णाली करिडोर शुक्रबार मध्यान्हदेखि खुलेको छ । 

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लको रोहवरमा सडक अवरुद्धकर्ता समूह हिमाली युवा क्लबले रानीसैन घटनाको छानबिन तथा दोषीमाथि कारवाही गर्ने समझदारीमा सडक आवागमन सुचारु गरिएको हो । धुलाचौर हिमाली गाउँपालिकाको केन्द्र हो । उक्त ठाउँमा सडक अवरुद्ध गर्दा हुम्ला आवतजात गर्ने दर्जनौं सवारी तथा मालवहाक साधन रोकिएका थिए । सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रीले सास्ती खेप्नु परेको थियो । 

त्यसअघि बिहीबार हुम्ला र बाजुरास्थित प्रमुख जिल्ला अधिकारीहरुले आआफ्नो जिल्लामा सर्वपक्षीय बैठक गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर दुबै जिल्लाका प्रतिनिधिले रानीसैन लाम्पाटा क्षेत्र आआफ्नो भएको जिकिर गरेका थिए ।  

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया हुम्लासँग समन्वय भइरहेको बताउँछन् । हुम्ला जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले नापी विभागबाट कागजात लिएर सिमाना पुनर्मूल्यांकन गर्ने, सम्बन्धित पालिकाका प्रमुख, दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेतको सहभागितमा बैठक गर्ने तयारीका लागि गृहमन्त्रालयमा जान लागेको बताए । 'समस्यालाई जटिल बनाउन हुँदैन, दुबै पक्षको रोहबरमा भोगचलन परम्परागत रुपमा जसरी गरेका थिए, उसैगरी गर्ने गराउने समस्याको समाधान निकाल्नु पर्छ' भन्नेमा रहेको बताए ।

Ranisain incident: Border dispute or a bid to stop the security presence?

यता बाजुराबाट लाम्पाटा क्षेत्रका स्थानीयको अवस्था अध्यनका लागि प्रहरी र सशस्त्रको टोली त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको जिल्ला समन्वय समिति प्रमुख रोकायाले बताए । ‘त्यो क्षेत्र हिमाली क्षेत्रमा पाइने सबै प्रकारका बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार भएकाले वर्षौंदेखिको अवैध रजगजमा बाधा नहोस् भनेर प्रहरी चौकी स्थापना हुन नदिने प्रपञ्च गरेका हुन्’, अधिवक्ता रावतले भने ‘सीमा विवाद नै छैन त्यस क्षेत्रमा ।’ त्यस क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंले, कुट्की, वन लसुनलगायत दर्जनौं प्रजातिका मूल्यवान जडीबुटी तथा दुर्लभ वन्यजन्तु पाइने गरेको त्यस क्षेत्रका वडाध्यक्ष मंगल बुढा बताउँछन् । 

सुदूरपश्चिम सरकारले रानीसैनसम्मको पर्यटन आवागमनलाई सहज बनाउन सडक पूर्वाधार विकास गरिरहेको छ । रानीसैन बिच्छ्या जानका लागि कर्णाली राजमार्ग अन्तर्गत बाजुरा र हुम्लाको सडक सिमाना कवाडीबाट हुम्लातर्फ भएर मैतर्नासम्म प्रदेश सरकारले गत आर्थिक वर्षमा करिब १० किलोमिटर सडक निर्माण गरिएको प्रदेश सांसद शाहीले बताए । उनका अनुसार मैतर्नाबाट एक घण्टाको पदैल यात्रामा बाजुराको युना पुगिन्छ, युनाबाट दुई घण्टा बौडी पुगिन्छ, बौडीदेखि तीन घण्टामा फुलै गाउँ पुगिन्छ, फुलैबाट गुम्बा पुग्न चार घण्टा लाग्छ । गुम्बाबाट करिब चार घण्टा पैदलमा लाम्पाटा पुगिन्छ । लाम्पाटाबाट करिब पाँच घण्टाको पैदलमा साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन पुगिन्छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully