प्रत्येक वर्ष बर्खामा पहिरोको डरले बझाङका सयौं परिवार त्रासदीमा बस्ने गरेका छन्, अतिजोखिममा रहेका धेरै परिवार सुरक्षित बासको खोजीमा अन्यत्र सर्न बाध्य छन्।
What you should know
बझाङ — नारुगाड खोलामाथि पहिरो झर्न थालेको २१ वर्ष जति भयो । तलबाडा, काठखेत र मैतोली गाउँको पुछारमा पर्ने खोलाको कटानले सानो ठाउँमा झरेको पहिरो फैलिँदै गएर काठखेत गाउँ झण्डै निलिसकेको छ ।
गाउँको सिरानतर्फ प्रत्येक वर्ष बढ्दै गएको पहिरोको निशानामा अब तलिबाडा र मैतोली गाउँ छन् । जब बर्खा लाग्छ, यी गाउँका बासिन्दाको रातको निन्द्रा र दिनको चैन हराउँछ । हरेक रात हारगुहार, रुवावासी र हल्लाखल्ला गाउँलेहरुको नियमित दैनिकी जस्तै हुन थालेको छ । ‘आँगनको डिलमै पहिरो पुगिसकेको छ । ठूलो वर्षा भयो भने पहिरो गड्गडाउन थाल्छ । घरहरु हल्लिन्छन् । हाम्रो भागाभाग हुन्छ,’ तलिबाडाकी मीना विस्ट भन्छिन्, ‘पहिरो बग्न थालेपछि बालबच्चा टिपेर गाउँका सबैजना स्कुलको चौरतिर भाग्ने गरेका छौं ।’ तीन वर्षदेखि हरेक बर्खा पहिरो बग्न थालेको सुने पछि होहल्ला गरेर गाउँका अरु मानिसहरुलाई ब्युँझाउने र भाग्ने गरेको उनले सुनाइन् । पहिरोले एकपछि अर्को घर बगाउन थालेपछि बझाङको केदारस्यूँ–२ र ३ मा पर्ने यी तीन वटा गाउँका ६८ परिवार विस्थापित भैसकेका छन् ।
७६ परिवार पहिरोको जोखिम बीच यही ठाउँमा बसिरहेका छन् । पहिरोले गाउँमा ठूल्ठूला चिरा परेका छन् । कतिपय घर चर्किएर बस्न नमिल्ने छन् । यहाँबाट विस्थापित भएका परिवार धेरैजसो पालिकाकै बनाएर बसिरहेका छन् । कतिपय परिवारैसहित भारततिर पनि विस्थापित भएको स्थानीय बताउँछन् । ‘कोही कोही सक्नेले त पहिरो नआउन्या ठाउँमा जग्गा किनेर घर बनाए । घरै पहिरोले लिए पछि कोही जंगलमा बसेका छन्। कोही इन्डियातिरै बितायाका (हराएका) छन्,’ तलिबाडाकी भुजीदेवी बिस्टले भनिन्, ‘केही व्यवस्था गर्न नसक्न्या । हामी जेबालाजसा (धराप जस्तो) ठाउँमा बस्याका छौं । कइबेला पहिराउँदा चेप्पिन्या हौं (कतिबेला पहिरोमा च्यापिने हौं) थाहा छैन ।’
सुक्खा मौसममा पनि पहिरो बगिरहने हुनाले यहाँ बसेका परिवारहरु कुन बेला दुर्घटना हुने हो भनेर ठूलो त्रासमा रहेको स्थानीय बताउँछन् । ‘प्रत्येक वर्ष दुई/चार घर बगाएकै हुन्छ । दुई/चार परिवारले गाउँ छाड्नु परेकै हुन्छ,’ स्थानीय नरे बिस्ट भन्छन्, ‘भुतले मुख बाएजस्तो पहिरो छ । कुन बेला तीनै गाउँ खर्लप्प निल्ने हो । हामी चिन्ताले राम्रोसँग सुत्न/खान पनि पाएका छैनौं ।’ यही पहिरोका कारण गाउँको बिचल्ली भएको सुनाउँदै उनले खेतीपाती गर्ने ५ सय रोपनी भन्दा बढी जग्गा पनि बगाइसकेको बताए । ‘खाने खेत सबै पहिरोले बगाइसक्यो । सालको साल घरहरु पनि बगाउँदै छ । हामीसँग न खाने जग्गा रह्यो न बस्ने ठाउँ रह्यो । के गर्ने ? कहाँ जाने ? केही सोच्न सकेका छैनौं,’ उनले भने ।
जोखिममा रहेका स्थानीय सुरक्षित बसोबास गर्ने स्थानको खोजीमा रहे पनि अन्त आफनो जग्गाजमिन नभएका कारण जोखिम मोलेरै बस्न बाध्य भएको उनले बताए । पहिरोको जोखिम केदारस्यूँका यी तीन गाउँमा मात्रै होइन । गाउँपालिकाभरी नै छ । यो पालिकाका ३३ वटा बस्तीका १ हजार ३५६ परिवार पहिरोको जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ ।
प्राधिकरणको अध्ययन अनुसार यीमध्ये बिल्ली बगर, चौडाम बगर, बखेत, सैस्यु, सुदाडा, बैगाड, मल्लेसी, त्याडीगाउा, जसुडा, तलिखेत, सिराडी, सेकुलगायत १८ वटा बस्तीका ५७२ परिवार पहिरोको उच्च जोखिममा छन् । २०७७ असार २० मा यहाँको वडा ८ मा पर्ने मल्लेसी गाउँमा गएको पहिरोमा परी एकै परिवारका चार जनासहित सातको मृत्यु भएको थियो भने १७ वटा घरटहरा बगाएको थियो । २०६५ सालमा केदारस्यूँकै बागथलामा गएको पहिरोमा चार जनाले ज्यान गुमाएका थिए ।
केदारस्यूँको मैतोली, काठखेत र तलिबाडाबाट ठीक पारिपट्टी देखिन्छ थलारा गाउँपालिकाको डिक्ला गाउँ । २०७८ कात्तिक १ को राति पहिरोले दुई परिवारका २४ जनाको एकै चिहान बनाएको थियो । ८ दिनभन्दा बढीको खोजतलास पछि ४ जनाको मात्र शव फेला परेको थियो भने फेला नपरेका बाँकी १९ जना सबैलाई मृत घोषणा गरिएको थियो । बेपत्ता हुनेहरूमा कलक सार्कीको परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना थिए । सर्वस्व गुमाएर पनि त्यो कहाली लाग्दो त्रासदीमा बाँचेका थिए, कलक । उनले यो घटनामा आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजाभतिजी गरी परिवारका १८ जना सदस्य एकै पटक गुमाएका थिए ।
२०७८ को त्यो घटना सम्झेर अहिले पनि झस्किरहने कलकलाई सर्वस्व गुमाइसक्दा पनि पहिरोको त्रासले भने छाडेको छैन । पहिरो गएको ठाउँभन्दा केही वर घर बनाएर बसेका उनको अहिलेको घर पनि सुरक्षित छैन । डिक्लागाउँको ठीक माथिबाट निर्माण भएको सडकको झण्डै एक किलोमिटर जति भाग त्यहीबेला नै घस्सिएको थियो । गाउँको तल डिक्लीगाडतिरको भाग र गाउँमा पनि ठाउँठाउँमा जमिन धाँजा फाटेको छ । ‘गाउँ त त्यतिबेलै छियाछिया भएको हो,’ कलकले भने ‘त्यो बेलाको जस्तै पानी फेरि पर्यो भने यहाँ केही बाँकी रहदैन ।’ उनले पहिरोको डरले यो गाउँका १२ परिवार अन्त गइसकेको बताए । ‘सक्नेहरु घरघडेरी जोडेर सहर बजारतिर गए । हामी कहाँ जाउँ,’ उनले भने ।
विपद् प्राधिकरणले गरेको भौगर्भिक अध्ययनले उनको गाउँ तल्लो डिक्लाका २३ परिवार पहिरोको जोखिममा रहेको औंल्याएको छ । अध्ययनबाट थलारा–४, ५, ६, ८ र ९ का रेगम, डोरगाउँ/ऐनवाडा, कुच, बायल, तल्लो डिक्ला, तोली, दुवाली, पिखेत, सुनार गाउँ, बिस्खेत, पण्डितगाउँ, आमबगर, झ्याबगर, खानीलगायतका १८ वटा गाउँमा पहिरोको जोखिम रहेको र ५४२ परिवारको जिउधन उच्च जोखिममा रहेको पाइएको हो । ‘कुनै ठाउँमा जोखिममा रहेकालाई तत्काल स्थानान्तरण नगरे जुनसुकै बेला पनि ठूलो दुर्घटना हुने अवस्था छ,’ केदारस्यूँ र थलारामा करिब तीन वर्ष विपद् जोखिम न्यूनीकरणमा काम गरेका तेज बोहराले भने, ‘यसका लागि स्थानीय र प्रदेश सरकारले गम्भीर भएर सोच्न आवश्यक छ ।’ उनले कतिपय पहिरो भने बायोइन्जिनियरिङलगायतका उपाय प्रयोग गरेर नियन्त्रण गर्न सकिने खालका रहेको बताए ।
सडकका कारण पहिरो
धेरैजसोमा भौगर्भिक हिसाबले कमजोर माटो भएको ठाउँमा जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको प्राधिकरणको अध्ययनले देखाएको छ । सडक निर्माण गर्दा निस्किएको माटो र गेग्रानको उचित व्यवस्थापन नगर्दा, नाली व्यवस्थित नहुँदा अत्यधिक वर्षा भएपछि पहिरो गएको देखिएको अध्ययनमा संलग्न प्राधिकरणका भूर्गभविद् लेखप्रसाद भट्टले बताए ।
‘कतिपय ठाउँमा अत्याधिक वर्षाका कारण जमिनमूनिको चट्टान मक्किने र टुक्रिने कारणले पनि पहिरो सुरु भएका छन् । भिरालो भूगोल, कमजोर भौगोलिक अवस्था, कमजोर माटो, अव्यस्थित सडक तथा नाली निर्माण गरिएका यी ठाउँमा अत्यधिक वर्षा भएपछि सडकको लेदो र गेग्रानसहितको भेलबाढीले पहिरो बढेको पायौं । योबारेमा हामीले पालिका र समुदायलाई पनि सुसुचित गरेका छौं,’ भूर्गभविद् भट्टले भने, ‘यी दुई पालिकामा पहिरो नियन्त्रण र उच्च जोखिममा रहेकाहरुको स्थानान्तरणलगायत जोखिम कम गर्न के गर्न सकिन्छ भन्ने सुझावसहित पालिकालाई प्रतिवेदन दिएका छौं ।’
उनले प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि पालिका, जिल्लामा कार्यरत वन, जलाधार संरक्षणलगायतका कार्यालय र प्रदेश सरकारले समयमै प्रयास नगर्ने हो भने कुनै पनि बेला ठूलो दुर्घटना हुने सक्ने बताए ।
अध्ययनले जोखिमको चेतावनी दिए पनि पालिकाहरुले भने उच्च जोखिममा रहेकाहरुलाई सुरक्षित ठाउँमा सार्न र जोखिम कम गर्न खासै केही नगरेको प्रभावितहरुको गुनासो छ । यता स्थानान्तरण गर्नुपर्ने परिवारको संख्या नै धेरै भएकाले पालिकाको स्रोतले सम्भव नहुने दुवै गाउँपालिकाको भनाई छ । ‘धेरै गाउँ बस्नै नमिल्ने अवस्थामा छन् । जुनसुकै बेला पनि जोखिम हुन सक्छ भनेर हामीले १ हजार ३ सय परिवारलाई विपद्पछि बस्नका लागि त्रिपाल, भाँडाकुँडालगायत बन्दोबस्तीका सामान तयारी अवस्थामा राखेका छौं । विभिन्न ठाउँमा सेल्टर पनि तोकेका छौं,’ केदारस्यूँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावल भन्छन्, ‘जोखिममा रहेकाहरुको बस्तीनै सार्न पालिकाको स्रोतले सम्भव नै छैन ।’
यस्तै थलारा गाउँपालिकाले पनि गैरसरकारी संस्था पिपुल इन निडसँग मिलेर केही ठाउँमा पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङलगायतका काम गरिहेको भए पनि बस्ती स्थानान्तरण र ठूलो जोखिम नियन्त्रण गर्न सक्ने अवस्था नरहेको पालिकाका अध्यक्ष प्रकाश रोकायाले भनाई छ । ‘धेरै ठाउँमा जोखिम छ । ६ सय भन्दा बढी परिवारलाई उठाउनु पर्ने अवस्था छ । पालिकाको स्रोत र जनशक्तिले त्यो सम्भव नै छैन,’ उनले भने । उनले जोखिमको विषयमा प्रदेश र संघीय सरकारलाई पटक पटक जानकारी गराएको तर सुनुवाई नभएको बताए ।
जिल्लाभरी नै जोखिम
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार बझाङका अरु १० पालिकाका ४७ वटा गाउँ पनि पहिरोको उच्च जोखिममा छन् । यसअघि प्राकृतिक प्रकोपसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियोहाजार्ड इन्टरनेशनलले सन् २०१८ मा गरेको अध्ययनले बझाङका १२ गाउँपालिकाका ६ हजार ६३० ठाउँमा पहिरोको जोखिम रहेको रहेको पत्ता लगाएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जोखिम व्यवस्थापनका लागि नीतिगत समस्या रहेको बताए । ‘पहिरोले कसैको घर बगाए पछि सरकारले ५ लाख राहत दिन्छ । तर ५० हजार खर्च गरेर त्यो घर सुरक्षित बनाउन पहिरो रोक्ने उपाय अपनाउनका लागि रकम दिन सकिने अवस्था छैन,’ केसरीले भने, ‘यस्ता नीतिगत समस्याका कारण पनि कतिपय ठाउँमा समस्या झन् बढ्दै गएको देखिन्छ ।’
