२४ घण्टाका लागि खुलेको कर्णाली करिडोरको विभन्न स्थानमा स्थानीले पुनः अवरोध गरेका छन् ।
What you should know
धनगढी — बाजुरा र हुम्लाबीच अघिल्लो सातादेखि उत्पन्न तनाव कायमै छ । घटनामा संलग्नहरूमाथि कारबाही नगरिएको भन्दै बाजुरास्थित हिमाली गाउँपालिकाका युवाहरूले आइतबार पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन् ।
उक्त करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुलाचौरमै रोकिएका छन् । सडक तेस्रो दिन पुनः अवरुद्ध गरिएको हो ।
गत सातादेखि तनावग्रस्त बनेको रानीसैन, लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाइएको छ । शनिबार बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २५ सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट लाम्पाटा पुग्न १ दिनको सडक यातायात र कम्तीमा २ दिनको पैदल यात्रा गर्नुपर्छ ।
गत साता बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटाका वडासदस्य पेमा गारा गुरुङलगायत ५ जनामाथि कुटपिट तथा धनगढी उपमहानगरका मेयर गोपाल हमाल, जिल्ला समन्वय समितिका संयोजक तुलसीराम रोकाया, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लसहितको टोलीलाई रानीसैन जान नदिएर लाम्पाटाबाट लखेटिएको घटनापछि हुम्लाको खार्पूनाथ गाउँपालिका-२ थालीका बासिन्दाले लाम्पाटाका स्थानीयलाई कुटपिट गर्नुका साथै पर्यटकलाई लखेटेका थिए ।
बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहराका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मीहरूको टोली पठाइएको हो । हुम्लाबाट पनि प्रहरीको एउटा टोली त्यस क्षेत्रमै रहेको र थप छलफल गर्न आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए ।
बाजुरा जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्नविरुद्ध उजुरी दर्ता भएको जनाएको छ । घटना बाजुरामा भएको र हुम्लाका बासिन्दा संलग्न भएकाले बाजुराले पक्राउ पुर्जी जारी गरेर हुम्ला जिल्ला प्रहरी कार्यालयमा पठाएपछि पक्राउ गर्ने तयारीमा रहेको हुम्लाका सहकायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए । ‘बाजुराबाट पक्राउ प्राप्त भइसकेको छैन । तर, प्रहरी सञ्चारबाट खबर आएको छ,’ सहायक प्रजिअ चन्दले भने, ‘हुम्ला प्रहरीले घटनामा संलग्नहरूको निगरानी गरिरहेको छ, पक्राउ पुर्जी प्राप्त हुनासाथ नियन्त्रणमा लिन्छौं ।’ बाजुरा प्रहरीले उजुरी दर्ता भइसकेको जनाएको छ ।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, ३ नम्बरका वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामीमाथि कुटपिट भएको थियो । वडा सदस्य गुरुङको घर र अन्नपात नियन्त्रणमा लिएका थिए । उनीहरूलाई हेलिकोप्टरद्वारा उद्धार गरिएको थियो ।
पर्यटन प्रवर्द्धनका लागि साइपाल हिमालको पूर्वी बेसक्याम्प रहेको बाजुरास्थित पर्यटकीय क्षेत्र रानीसैनतर्फ जाने क्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि गत मंगलबार बाजुराको लाम्पाटा गाउँमा आएर हुम्लाको खार्पूनाथ गाउँपालिका–२ राय र थाली गाउँका बासिन्दाले अवरोध गर्दै रानीसैन जान नदिएर फर्काएका थिए ।
आफ्नो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न लागिएको भन्दै विरोध गरिएको हुम्लाको खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललगायतले बताउँदै आएका छन् ।
रानीसैन बिच्छ्या, लाम्पाटा क्षेत्र बाजुराको कूल क्षेत्रफलको ४० प्रतिशत भुक्षेत्र ओगटेको छ । यो क्षेत्र बाजुराको जडीबुटी र दुर्लभ वन्यजन्तुको भण्डार मानिन्छ । यस क्षेत्रमा बाजुराको हिमाली–३ का बाम, रूम्दी, लाम्पाटा, गुम्बा, नेटा, बौडी, कोट, कोटिगाउँ, टिन, देउसैन, युना गरी ११ वस्ती भए पनि जनसंख्या ८१० मात्र छ ।
न्यून जनसंख्या र पातलो वस्ती भएकाले यस क्षेत्रको जडीबुटी तथा वन्यजन्तुको चोरीतस्करीमा हुम्लाका केही राजनीतिक व्यापारीको ‘रजगज’ रहेको जिल्ला वन डिभिजन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डीसी बताउँछन् ।
