सिस्नो 'चिलाएर' नयाँ वर्षको स्वागत गरिँदै

सिस्नोको पोलाइले मानिसलाई समय र परिवर्तनप्रति सचेत गराउने एउटा माध्यमका रूपमा काम गर्ने सरोकारवालाको जिकिर । सुदूरपश्चिममा मौलिक परम्परासहित बिसु पर्व मनाइँदै ।

चैत्र ३०, २०८२

मेनुका ढुंगाना, तर्कराज भट्ट

Welcoming the New Year with a 'chilling' of the sizzling fire

What you should know

अछाम/डडेल्धुरा — देशभर नयाँ वर्षलाई आधुनिक उत्सवका रूपमा मनाइरहँदा सुदूरपश्चिममा भने आफ्नै मौलिकता र पुर्खाको विरासतलाई काँधमा बोकेर बिसु पर्वको स्वागत गरिरहेको छ । सुदूरपश्चिममा नयाँ वर्षलाई प्रकृति, स्वास्थ्य र सम्बन्धहरूको नवीकरण गर्ने विशिष्ट अवसरका रूपमा लिने गरिन्छ । संक्रान्तिका दिन खोलानाला, तालमा गएर २० पटक डुबुल्की मार्ने परम्परा पनि यहाँ उत्तिकै प्रचलित छ । 

पछिल्लो समय नयाँ ठाउँ घुम्न जाने, होटलमा रमाउने र पश्चिमा शैलीमा ‘न्यु इयर’ मनाउने संस्कृतिले ठूला सहरलाई छोपिसकेको छ । तर, सुदूरपश्चिमका गाउँघरमा भने पुरानो परम्परा उत्तिकै बलियो छ । नयाँ वर्षलाई फरक र केही अचम्मलाग्दो तरिकाले स्वागत गर्ने चलन छ । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक–आपसमा सिस्नो चिलाएर शुभकामना आदानप्रदान गर्ने विशेष चलन छ । 

सिस्नो चिलाउने यो परम्पराको अर्को दार्शनिक पक्ष बिसु अर्थात् ‘विषुवत्’ ग्रहको शान्तिसँग जोडिएको छ । यसका जानकार अछामको मंगलसेन नगरपालिका—५ का उदयराम ढुंगानाका अनुसार बिसु पर्वले विषुवत् ग्रहलाई शान्त गर्ने धार्मिक विश्वास छ । ‘पहिलेको समयमा सबै मानिस पढेलेखेका हुँदैनथे । सिस्नो लगाउँदा जब शरीर पोल्छ र मानिस झसंग हुन्छ, तब मात्र उसलाई नयाँ वर्ष सुरु भएछ भन्ने सम्झना हुन्थ्यो भन्ने विश्वास छ,’ उनले भने, ‘सिस्नोको त्यो पोलाइले मानिसलाई समय र परिवर्तनप्रति सचेत गराउने एउटा माध्यमका रूपमा काम गर्थ्यो ।’

यद्यपि, यो परम्पराका आफ्नै सीमा र अनुशासन पनि छन् । ढुंगानाका अनुसार यो रमाइलो गर्ने र सम्मानपूर्वक ढोग गर्ने पर्व पनि हो । ‘सिस्नो लगाउने नाताभन्दा बाहिर जान मिल्दैन, यो दोहोरो चल्ने कुरा हो । तर अचेल यसको घेराबाहिर जाने प्रयास भइरहेको छ ।  जसका कारण फाइदा मात्र होइन, बेफाइदा पनि देखिन थालेका छन् ।’ साइनो अनुसार ढोग गर्ने र मर्यादित रूपमा नयाँ वर्षको स्वागत गर्ने थिति बिस्तारै खुकुलो हुँदै गएको उनको बुझाइ छ ।

उनका अनुसार सिस्नुपानी छ्याप्दा शरीरका छालासम्बन्धी रोग निर्मूल हुने विश्वास रहेको छ । दार्शनिक रूपमा नयाँ वर्षको पहिलो दिन सिस्नोको जलनलाई हाँसेर सहनुको अर्थ आउने वर्षका हरेक दुःख र कष्टलाई धैर्यताका साथ सामना गर्ने आत्मबल जुटाउनु पनि हो ।

धार्मिक दृष्टिकोणले पनि बिसु पर्वको विशेष महत्त्व रहेको छ । डडेल्धुराको अमरगढी नगरपालिका– ५ का  पण्डित रामचन्द्र भट्टका अनुसार नयाँ वर्षको सुरुआतमा नुहाइधुवाइ गरी विष पखाल्ने परम्परा रहेको छ ।  ‘घरमा अनिष्ट नहोस्, रोगव्याधि नलागोस् भन्ने कामना झल्काउँछ  । नयाँ वर्ष सुख, शान्ति र समृद्धिका साथ बितोस् भन्ने कामना गर्दै पूजा–पाठ गरिन्छ,’ उनले भने ।  उनका अनुसार सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने परम्परा प्राचीनकालदेखि चल्दै आएको मानिन्छ । पराक्रमी हिन्दु सम्राट विक्रमादित्यको जन्मोत्सवसँग यस पर्वलाई जोडेर हेर्ने गरिएको पण्डित भट्टले बताए ।

बिसु पर्वको अर्को सुन्दर पक्ष यसमा पकाइने मौलिक परिकारहरू हुन् । ‘विवाह गरेका छोरी, नन्दहरू माइतीघरमा आउने र रमाइलो गर्ने चलन छ ।  विशेष गरी विषुमा सेलरोटी, मासको फाँडो, भात, मासको बटुक र फाउने माडा मुख्य परिकार हुन्,’ मंगलसेन नगरपालिका–५ की झुमा भाट भन्छिन् । घर–घरमा पाक्ने गतानी डुब्का र प्रसादका रूपमा बाँडिने चलनले सामाजिक एकता र सद्भावलाई बलियो बनाएको  उनको विश्वास छ ।

महिलाहरू जमघट भइ सुखदुःखका कुरा गर्ने र रमाइलो गर्ने पर्वका रूपमा पनि बिसु पर्वलाई लिने गरेको मंगलसेन–६ की नामसरा नेपालीले बताइन् । ‘सधैं काममै व्यस्त हुने जेठानी–देवरानीले यो बेला फुर्सद गरेर पुत्ला नाच, देउडा नाच खेलेर बिसु मनाउँछन् ।’  उनले भनिन्, ‘पुत्लामा सबैले एउटै पहिरन लगाएर बेग्लै भाका र लयका साथ छोरीका दुःख, माइतीको सम्झना र देउताका देउडा गाउने गर्छन् ।’ अहिलेका पुस्ताले रमाइलो मात्रै गर्नका लागि नयाँ वर्ष मनाउने गरेको उनको बुझाइ छ । मौलिक संस्कृतिको महत्त्वबारे बुझ्नै नचाहेको उनी बताउँछिन् । 

रोजगारीका लागि बाहिर गएकाहरू पनि बिसु पर्व मनाउन घर फर्किने गरेको अमरगढी नगरपालिका–५ का सुधीर जैरु बताउँछन् ।  ‘आफन्त र परिवारसँग बसेर रमाइलो गर्ने, पुराना सम्बन्धलाई पुनः ताजा बनाउने अवसरका रूपमा यो पर्व महत्त्वपूर्ण छ,’ लोक तथा देउडा कलाकारसमेत रहेका जैरुले भने, ‘आफन्त जम्मा हुँदा देउडा खेल्ने चलन थियो, तर पछिल्लो समय त्यो परम्परा बिस्तारै हराउँदै गएको छ,’ उनले भने ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

तर्कराज

Link copied successfully