घाइतेको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुर — महेन्द्रनगरस्थित कञ्चनपुर कारागारमा दुई जनाबीच कुटाकुट हुँदा एकजना घाइते भएका छन् । आइतबार बिहान उनीहरुबीच कुटाकुट भएको हो ।
लागुऔषध मुद्दाका कैदी भुवन ऐर र गणेश विष्टबीच कुटाकुट भएको हो । विष्टको टाउकोमा चोट लागेको छ । उनको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको कारागार प्रमुख हेमन्त्री साउँदले बताइन् । घाइते विष्टले कारागारभित्रै खैरो हेरोइन भित्रिएको बारे सूचना दिएपछि आफूमाथि लागुऔषध प्रयोगकर्ताले आक्रमण गरेको बताएका छन् ।
कारागार प्रमुख साउँदले भने घटनाबारे अनुसन्धान भइरहेको बताइन् । ‘दुई जनाबीच विवाद भएर आज बिहान कुटाकुट भएको हो,’ उनले भनिन्, ‘विवादको कारण पत्ता लागेको छैन, अहिले घाइतेको उपचार भइरहेको छ ।’
दुई महिनाअघि मात्रै कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । बन्दीहरुले नाइकेले प्रशासनसम्म चिठी पुर्याउनसमेत घुस माग्ने गरेको र कारगारभित्रै लागुऔषध भित्रिने गरेको आरोपमा नाइके पक्षमाथि आक्रमण गरेका थिए ।
१ सय ८० जनाको क्षमता रहेको महेन्द्रनगर कारागारमा अहिले क्षमताभन्दा दोब्बर बढी १६ महिला सहित ३ सय ८४ जना कैदी बन्दी रहेका छन् ।
