कञ्चनपुर कारागारमा झडप, ८ जना घाइते

नाइके पक्ष र अन्य कैदीबीच झडप भएको हो ।

पुस ४, २०८२

भवानी भट्ट

Clashes at Kanchanpur Prison, 8 injured

What you should know

कञ्चनपुर — यहाँको कारगारमा कैदीबन्दीबीच झडप भएको छ । झडप हुँदा ८ जना कैदी बन्दी घाइते भएका छन् । कारागार प्रशासनका अनुसार चौकीदार, नाइके लगायतको समूह र अन्य कैदी बन्दीको समूहबीच झडप भएको हो । ‍

शुक्रबार दिउँसोदेखि झडप सुरु भएको र साँझ अबेरसम्म पनि कारागार तनावग्रस्त बनेको थियो ।

प्रहरीका अनुसार झडपमा परेर किरनसिंह, दिनेश कुँवर, करन कुँवर, राजेन्द्र सुनार गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ । यसैगरी सन्दीप भण्डारी, मदन गिरी, जनक खड्का र रोशन शाही पनि घाइते भएका छन् । उनीहरू सामान्य घाइते भएकाले अस्पताल लगिएको छैन । घाइतेहरू सबै नाइके प्रकाश मल्ल पक्षका हुन् । उनीहरू चौकीदार र सहनाइके लगायतका हुन् । 

जेलर बन्दना सुवेदीका अनुसार चौकीदार तथा नाइकेहरूले समयमा खाना नदिने, विभिन्न भत्ता पनि नदिने र सिजन अनुसार पाउने लुगासमेत नदिने गरेको कैदीहरूले आरोप लगाएका छन् । यसैगरि कैदी बन्दीका निवेदनहरू कारागार प्रशासनमा पुर्‍याउन पैसा लिने गरिएको आरोप लागेको छ । 

‘कारागार प्रशासनमा आउजाउ गर्न मिल्ने अधिकार चौकीदार र नाइकेहरूलाई मात्रै हुन्छ, उनीहरूले नै कैदी बन्दीका निवेदन प्रशासनसम्म ल्याउन पाउँछन्,’ जेलर सुवेदीले भनिन्, ‘तर कतिपय कैदी बन्दीले उक्त निवेदन प्रशासनसम्म पुर्‍याउन पैसा तिर्नुपरेको गुनासो आएको छ ।’ 

उनका अनुसार अदालतमा जानका लागि वा अन्य कामदेखि कैद छुटसँगै एक वर्षभन्दा कम कैद सजाय बाँकी रहेकाहरूको हकमा पैसा तिरेर कैद खरिद गर्ने लगायतका कामका लागि कैदी बन्दीले निवेदन दिनुपर्ने हुन्छ । तर चौकीदार र नाइकेहरूले उक्त निवेदनहरूका लागि १५/२० हजारसम्म लिने गरेको पाइएको छ । 

कैदी बन्दीहरूले चौकीदार र नाइकेको सरुवा गरिनुपर्ने, उनीहरूलाई कारब्ँही हुनुपर्ने लगायतका माग राखेर नाराबाजी गरिरहेका छन् । 

कैदी बन्दीहरूलाई दैनिक ७ सय ग्राम चामल, ८० रुपैयाँ भत्ता र जाडो र गर्मीमा एक/एक जोर लुगाका लागि भत्ता दिनुपर्ने हुन्छ । तर नाइके र चौकीदारहरूले उक्त भत्तासमेत नदिने गरेको पाइएको छ ।

१ सय ४० जना कैदी बन्दी राख्न सक्ने क्षमताको कारागारमा अहिले १७ महिला सहित ३ सय ८४ जना कैदी बन्दी रहेका छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully