छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

अछाममा बर्सेनि छाउ बार्न बसेको ठाउँमा मृत्यु, बलात्कारका घटना हुने सिलसिला जारी छ । जिल्लास्थित सरोकारवालाले घटनाको समयमा छाउप्रथा हटाउन अभियान सञ्चालन गर्ने तर नियमित नहुने शृंखला पनि चलिरहेको छ ।

आश्विन ५, २०८२

मेनुका ढुंगाना

'Zero tolerance' campaign against Chhaupadi

अछाम — १२ भदौ राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । अहिले पनि उनी उपचाररत छिन् ।

अछाममा बर्सेनि छाउ बार्न बसेको ठाउँमा मृत्यु, बलात्कारका घटना हुने सिलसिला जारी छ । जिल्लास्थित सरोकारवालाले घटनाको समयमा छाउप्रथा हटाउन अभियान सञ्चालन गर्ने तर नियमित नहुने शृंखला पनि चलिरहेको छ । बारलामा छाउ बार्न बसेका महिला र बालिकाको मृत्यु भएपछि आइतबार अछामका सरोकारवालाले फेरि अभियान चलाउने निर्णय गरेका छन् ।

अछामका ४ नगरपालिकाका प्रमुख र ६ गाउँपालिकाका अध्यक्ष, प्रतिनिधि सहभागी भएको बैठकले विभिन्न संयन्त्र सक्रिय गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले महिनावारी भएका महिलामाथि हुने विभेद तथा गोठमा बस्ने प्रथालाई अन्त्य गर्न विशेष जोड दिएको हो । बैठकले स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षित आवास तथा महिला, बालबालिका, विपन्न तथा विपद् प्रभावित समुदायका विषयलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।

बैठकले जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशक तथा समन्वय समिति, पालिकास्तरीय समन्वय समिति र वडास्तरीय समितिमार्फत अभियान बढाउने निर्णय गरेको छ । सुरक्षा निकाय, स्वास्थ्य संस्था र विभिन्न संघसंस्थासँग सहकार्य गर्दै कार्यान्वयनमा जाने निर्णयसमेत गरेको छ । यसका लागि जिल्लादेखि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सम्बन्धित निकायका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ ।

जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशक तथा समन्वय समितिमा १० वटै स्थानीय तहका प्रमुख पालैपालो बैठक बसाल्ने र महिनावारीलगायत अन्य सामाजिक विषयका सवालमा काम गर्ने निर्णय भएको छ । यो समितिको मुख्य भूमिका छाउ (महिनावारी) का आधारमा हुने सबै प्रकारका विभेद हटाई मर्यादित महिनावारीका लागि शून्य सहनशीलताको अवस्था कायम गर्ने उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए । ‘सामाजिक विकासका क्षेत्रको विषयमा आवश्यक नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बढी जिम्मेवार बनाइने गरी निर्णय भएको छ,’ प्रजिअ सारुले भने ।

अछाममा छाउगोठ भत्काउने अभियानमा प्रहरी र जनप्रतिनिधि जाने, स्थानीयको सहभागिता नहुने भएकाले छाउगोठ भत्काउनु मात्रै समस्याको समाधान नभएको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले बताए । ‘छाउगोठ भत्काए पनि त्रिपाल टाँगेर बस्दा घटना भइरहेका छन् । विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरेर रूपान्तरण कक्षा सञ्चालन गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘साँफेबगर नगरपालिकाभित्र रहेका १४ वटा माविमा हामीले सुरु गरिसकेका छौं । महिनावारीको समयमा छाउ बार्नेलाई नगरपालिकाबाट दिइने सेवासुविधा र सामाजिक सुरक्षाबाट पनि वञ्चित गराउने निर्णय गरिसकेका छौं ।’

समाजमा अगुवाका रूपमा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनीतिक दलका नेतालगायतको घरमै छाउगोठ भएकाले छाउप्रथा अन्त्य हुन नसकेको पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘जनप्रतिनिधि, शिक्षक र कर्मचारीको घरमा छाउगोठ छन् । उनीहरूलाई पनि चेतना पुगेन भन्न मिल्छ कि मिल्दैन ? त्यस्ता मान्छेको मनको छाउगोठ कसले भत्काउने ?’ नगर प्रमुख चलाउनेले भनिन्, ‘उनीहरूलाई कानुनी कारबाही गर्नुपर्छ । अब यो समितिमार्फत जिल्लाभर अभियान चलाउँछौं ।’

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully