जिल्ला प्रहरी अछामका अनुसार शनिबारदेखि बारलामा सुरु भएको छाउगोठ भत्काउने अभियान अन्तर्गत कुमालीकोटमा ४, सर्पामा ३, आमरुखमा २, तिखापातलमा ५, गैरीगाउँमा २, ढुंगेबजारमा २ र नावलीमा १ गरी १९ वटा छाउगोठ भत्काइएको छ ।
What you should know
अछाम — महिनावारी भएको बेला छाउ बार्न बसेका बालिकासहित दुई जनाको मृत्यु र एक गम्भीर घाइते भएपछि फेरि छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका—८ बारलाकी ३९ वर्षीय निम खनाल, ३६ वर्षीया रत्नकला भण्डारी र ७ वर्षीया बालिका कविता भण्डारी बिहीबार राति छाउ बार्न बारीमा बसेका थिए । मध्यरातमा त्रिपाल टाँगेर बसेको माथिबाट वर्षा भइरहेको समयमा निम र कविताको मृत्यु भएको थियो । घाइते रत्नकलाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बारलाको सेलापानीस्थित चुरखोली टोलमा घटना भएपछि वडाध्यक्ष छत्रबहादुर शाहीले आफ्नै घरमा भएको छाउगोठ शनिबार भत्काएका छन् । आफ्नै घरमा रहेको छाउगोठ भत्काएर अभियान सुरु गरेका शाहीले वडा ८ का ९ वटै टोलमा छाउगोठ भत्काउने बताए । सोही अनुरूप वडाध्यक्षसहित अन्य जनप्रतिनिधि, स्थानीय अगुवा, प्रहरीले बारलामा शनिबार १९ वटा छाउगोठ भत्काएका छन् ।
‘मेरो घरमा पनि छाउगोठ थियो । बारलामा घटना घटिसकेपछि आफ्नै घरमा रहेको छाउगोठ भत्काएँ । मेरो नेतृत्वमा १९ गोठ भत्किएका छन्,’ वडाध्यक्ष शाहीले भने, ‘छाउगोठ भत्काएपछि त्रिपाल टाँगेर बारीमा बसेकै कारण दुई जनाको मृत्यु भएको हो । अब दिउँसो छाउगोठ भत्काउने र राति प्रहरीको सहयोगमा अनुगमन गर्ने गरी अगाडि बढेका छौं ।’
उनका अनुसार यीमध्ये धेरै छाउगोठमा महिला तथा किशोरी महिनावारी भएको बेला सामूहिक रूपमा बस्ने गरेका थिए । ५/७ घरको एक गोठ हुने र एकै गोठमा बस्ने गरेको उनले बताए । उनका अनुसार यसअघि पनि बारलामा छाउगोठ भत्काउने अभियान सुरु भएको थियो । गोठ भत्काइसकेपछि धेरै महिला तथा किशोरी त्रिपाल टाँगेर, कोही ओडारमा बस्ने र कोही शौचालयभित्र पनि बस्ने गरेको वडाध्यक्ष शाहीले बताए ।
‘कतिपय कुरा भन्न पनि लाज लाग्छ । पहिले छाउगोठ भत्काइसकेपछि प्रयोग भइरहेको शौचालयको पिनलाई थुनेर त्यहीमाथि ओच्छ्यान बनाएर सुतेको पनि पाइयो,’ उनले भने, ‘अझै पनि त्यस्तै समस्या छ । जनप्रतिनिधि एक्लैले चाहेर मात्रै समस्या हट्नेवाला छैन । यसमा सबैको साथ चाहिएको छ ।’
महिनावारी भएको बेला घर बस्दा सामाजिक बहिष्कारमा पर्ने डरले यसअघि घरमा बस्न नसकेको पञ्चदेवल विनायक नगरपालिका—८ बारलाकी वडासदस्य रमना शाहीले बताइन् ।
‘अहिले पो म वडा सदस्य भएँ, त्यसअघि त मेलापातको काम गर्ने सामान्य महिला थिएँ । यो गाउँका ठूला नेता, अगुवाले नै छाउगोठमा राख्ने गरेका कारण म एक्लैले आवाज उठाउन सकिनँ,’ वडासदस्य शाहीले भनिन्, ‘जनप्रतिनिधि भइसकेपछि धेरै पटक मैले छाउगोठ छोड्ने प्रयास गरेकी हुँ । तर समाजका मान्छे, अगुवा सबैले समाज, परिवार नमान्ने भए बहिष्कार गर्छौं भनेपछि घरमा बस्ने आँट गर्न सकिएन ।’
आफ्नै वडामा महिनावारी बार्न त्रिपाल टाँगेर बारीमा बस्दा ढुंगा लागेर दुई जनाको मृत्यु भइसकेपछि गोठमा नजाने सुरुवात आफैंबाट गरेको उनले बताइन् ।
‘अहिले मैले आफू पनि घरमा बस्ने र छोरीलाई पनि घरमा राख्ने निर्णय गरेँ । अब मलाई समाजले के भन्छ भन्ने कुरामा मतलब छैन,’ उनले भनिन्,‘अब अगुवालाई कानुनी कारबाही गरेर जेल नहाल्दासम्म यो गाउँ सुध्रिँदैन । म सधैँभरि यही गाउँमा बस्ने महिला हुँ । अब मैले मेरो घरबाटै सुरु गरेँ । यो कुप्रथा हटाउने अभियानको नेतृत्व अब म गर्छु ।’
जिल्ला प्रहरी अछामका अनुसार शनिबारदेखि बारलामा सुरु भएको छाउगोठ भत्काउने अभियान अन्तर्गत कुमालीकोटमा ४, सर्पामा ३, आमरुखमा २, तिखापातलमा ५, गैरीगाउँमा २, ढुंगेबजारमा २ र नावलीमा १ गरी १९ वटा छाउगोठ भत्काइएको छ ।
स्थानीय जनप्रतिनिधिलाई सक्रिय बनाएर छाउगोठ भत्काउने, अनुगमन र निगरानी गर्ने गरी अभियान सुरु भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए ।
‘प्रहरी, प्रशासनको जबरजस्तीमा छाउगोठ भत्काउँदा समस्या हटेन । अहिले जनप्रतिनिधि, स्थानीय अगुवालाई जिम्मेवार बनाएर अभियान सुरु गरेका छौं,’ उनले भने ।
२०७६ मा साँफेबगर नगपालिका—३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसास्सिएर मृत्यु भएपछि गृह मन्त्रालयको निर्देशनमा अछाममा छाउगोठ भत्काउने अभियान सुरु भएको थियो । त्यतिबेला अछाममा मात्रै १० हजार बढी छाउगोठ भत्काइएका थिए । त्यतिबेलै छाउगोठ भत्काए पनि त्यसयता त्रिपालमा बस्दै आएकी एक महिला र एक बालिकाको बिहीबार ढुंगा लागेर मृत्यु भएको हो ।
