ई–कान्तिपुरमा समाचार प्रकाशितपछि अग्रवालले धौली आमालाई २१ हजार रुपैयाँ सहयोग पठाए, छोराको उपचारका लागि जिल्ला अस्पतालसम्म लैजान मद्दत पुर्याए।
बैतडी — गिट्टी कुटेर जीवनयापन गरिरहेकी दशरथचन्द नगरपालिका–४, गोठालापानीकी ७३ वर्षीया धौली भुललाई चितवनको नारायणगढका युवा उद्यमी चन्दन अग्रवालले आर्थिक सहयोग गरेका छन् ।
ई–कान्तिपुरको ‘घरखर्च’ स्तम्भमा वृद्धाले गिट्टी कुटेर बिक्री गरेबापतको रकम ठेकेदारले उपलब्ध नगराएपछि आफ्नो र बिरामी छोराको उपचार गर्न नसकेको खबर बुधबार अपराह्न प्रकाशित भएको थियो ।
उक्त खबर पढेपछि अग्रवालले तत्काल खाद्यान्न र जिल्ला अस्पतालसम्म लैजान पुग्ने गरी २१ हजार रुपैयाँ पठाएको बताए । ‘धौली आमाको पीडाको कथाले मेरो मन छोयो,’ अग्रवालले भने, ‘बिरामी छोरालाई जिल्ला अस्पतालसम्म पुर्याउने बाटोखर्च होस् भनेर सहयोग गरेको हुँ ।’ जिल्लास्थित कान्तिपुर संवाददातामार्फत उक्त सहयोग उपलब्ध गराइएको हो ।
भुलका कान्छा छोरा बिरामी छन् । उनी भने गिट्टी कुटेर दिनको ८० रुपैयाँ कमाउँछिन् । त्यही रकम पनि नपाएका कारण अप्ठ्यारोमा परेको वृद्धाको भनाइ छ ।
