धौली, कुमः र शुक्रहरूले बनाइरहेको देश

आखिर के बनाएपछि देश बन्छ ? टावर ? सडक ? रेल ? सिसमहल ? वास्तवमा कसले बनाइदिन्छ त देश ? स्पाइडरम्यान, सुपरम्यान, ब्याटम्यान वा कुनै ट्रम्प–अवतारले ?

श्रावण १६, २०८२

युग पाठक

A country formed by Dhauli, Kumha and Shukras

What you should know

नेपाल किन बनेन ? नेपाल कति बन्यो, कति बनेन ? यी र यस्ता सवालमा तात्तातो बहस तपाईंले धेरैपटक पढनु/हेर्नु/सुन्नुभएको छ । देश बनाउन आएको दाबी गर्ने एक–से–एक अनुहारको दर्शन पनि गरिसक्नुभएकै छ । यही कुराको लहैलहैमा लागेर देश आफैंले मात्र बनाउन सक्ने हुंकार गरिरहेका बडानेतालाई पनि देख्नुभएकै छ । अथवा यो देश बन्नै नसक्ने ठोकुवासहित दर्जन–दर्जन तर्कको अम्बार लगाइरहेका बुद्धिजीवीका कुरा पनि सुन्नुभएकै हुनुपर्छ । देश बनाउने यही रापमा अलिकति हात सेकाएर हेरौं, कुन कुन हस्तरेखामा कति ताप पर्दो रहेछ ।

सुरुमा मूल सवालबाटै कुरा उठाऊँ । नेपाल किन बनेन वा कति बन्यो इत्यादि बहसहरू देश बन्ने वा नबन्ने भनेकै के हो भन्ने आधारभूत प्रश्नतिर जाँदैनन् । नेपालमा करिब सय वर्ष अगाडि विकासको भाष्य प्रवेश गरेकै स्विजरल्यान्ड बनाउने तर्कनाबाट हो । अचेल दुबईको बुर्ज खलिफा वा युरोपेली सहरका रोमान्टिक चित्र वा अमेरिकी वैभवलाई तराजुको एउटा पल्लामा र अर्को पल्लामा बडो जीर्ण नेपाललाई दाखिल गरेर तुलना गर्ने चलन चलेको छ । यसको सोझो अर्थ हुन्छ, नेपाल नै बनाउन सकिन्छ भन्ने अवधारणा त हाम्रो ऐतिहासिक परिकल्पनाको नक्सामै छैन । कि त नेपाललाई स्विजरल्यान्ड वा सिंगापुर बनाउने हो, कि त युरोप, अमेरिका । तसर्थ नेपाल बन्ने भनेको के बन्ने हो, कस्तो बन्ने हो र कसरी बन्ने हो भन्ने परिकल्पना रेखांकित नै छैन ।

जब युरोप/अमेरिका नै हाम्रो सपनाको देश हो भने नेपाल बनाउने झन्झट बेसाउनुभन्दा सिधै युरोप, अमेरिकाको टिकट काटे भयो । युरोप/अमेरिकाकै सपनाले बालबच्चाको दिमाग भर्ने, कलेज–कलेजमा त्यही स्किम बेच्ने, गल्लीगल्लीमा त्यतै पठाउने पसल खोल्ने, अरबौंको व्यवसाय त्यसैको चलाउने, अनि ‘लौ न युवा सबै विदेश पलायन भए’ भनेर कोकोहोलो मच्चाउने कुरा चै ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ भनेझैं जालझेल मात्रै हो । त्यसैले हिजोआज यो देश त भाडामा अर्कै देशलाई दिए हुन्छ भन्ने अनौपचारिक गफ इन्टरनेट जन्जालमा चल्दै हुन्छ र कथित् राष्ट्रवादी पनि अमेरिका वा अन्य पश्चिमा देश जाने झोला खोज्दै हुन्छ । यही मेसोमा अमेरिकाबाट एकएक थान बुख्याँचा बोकेर ‘देश बनाउने’ महारथीहरू फुत्तफुत्त झर्ने चलन पनि चलेको छ । जगजाहेर छ, बुख्याँचा ठड्याउने निर्वाचन क्षेत्र नै उनीहरूको पहिलो र अन्तिम अर्जुनदृष्टि हो ।

आखिर के बनाएपछि देश बन्छ ? टावर ? सडक ? रेल ? सिसमहल ? वास्तवमा कसले बनाइदिन्छ त देश ? स्पाइडरम्यान, सुपरम्यान, ब्याटम्यान वा कुनै ट्रम्प–अवतारले ? यो देशमा सिस्टमै छैन, रे ! कस्तो सिस्टम ? हतकडी लगाएर जेब्राक्रस पास गराइदिने तानाशाही सिस्टम ? उट्पट्याङ कुराहरू चल्दै गर्छन् । अब भने यही देशका तीन विशिष्ट पात्रहरूको आलोकमा छलफल अगाडि बढाऔं ।

धौली भुलको मानचित्र

देशको मानचित्र हेर्नु छ भने धौली भुलको अनुहारमा हेर्नुपर्छ । उनको ठेगाना : बैतडी जिल्ला, दशरथचन्द नगरपालिका–४, गोठलापानी । उमेर : ७३ वर्ष । पेसा सडककिनारमा गिट्टी कुट्ने मजदुरी । जिम्मेवारी : घरखर्च, छोराको उपचार (ईकान्तिपुर, श्रावण १४, २०८२) । धौली आमैको यो शब्दगाथामा अरू सबै सटीक तर एउटा कुरा बेठीक छ । उनले बुढेसकालमा समेत दाह्रा किटेर निर्वाह गरिरहेको जिम्मेवारी केवल आफ्नै घरखर्च चलाउनु र आफ्नै छोराको उपचार गर्नु होइन । अर्थशास्त्रको आधारभूत ज्ञानले भन्छ– उनले कुटेको गिट्टी भौतिक उत्पादनको हिस्सा हो, घरखर्च अर्थात् उपभोग र त्यसमार्फत तिरेको कर अर्थतन्त्रमा प्रत्यक्ष योगदान हो, अनि छोराको उपचार उनले उठाएको सामाजिक जिम्मेवारी पनि हो ।

त्यसैले धौली भुलले आफ्नो हिस्साको देश बनाइरहेकी छन् । घामपानी केही नभनी वृद्ध पाखुराले गिट्टी कुटेर उनले रातदिन देश बनाइरहेको नदेख्ने दृष्टिकोण नै दारुण दार्शनिक संकटको द्योतक हो । यस्तै दृष्टिकोण ‘नेपाल किन बनेन ?’ भन्ने खालको फगत प्रतिक्षामूखी चिन्तनले बनाइरहेको हुन्छ । प्रतिक्षा, सुपरम्यानको कस्ट्युम भिर्ने चटकेको वा कुनै फेन्सी लोगो सिउरिने उदार(?) तानाशाहको । धौलीजस्ता लाखौं मानिसहरूले पोयापोयामा, केस्राकेस्रामा रचना गरिरहेको देशको मानचित्र नचिनेसम्म यस्तै प्रतीक्षा चलिरहन्छ र प्रत्येक प्रतीक्षा कुनै दुर्घटनामा पुगेर खारेज भैरहन्छ ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि संसारभर तातो बहस भइरहेको विषय हो– असमानता । फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले असमानताको विश्वव्यापी वितरण र यसको वैचारिक तथा राजनीतिक आयामबारे अघि सारेको ऐतिहासिक विवेचनाले ठूलो हलचल ल्याएको छ । पिकेटी भन्छन्, पुँजी निर्माण र नियन्त्रणको विरासतबाटै असमानताको पनि विरासत बनेको छ । अर्थात् जसले संसार कब्जा गरे, उपनिवेश र साम्राज्य बनाए, उनीहरूकै हातमा सम्पत्ति र शक्तिको एकाधिकार केन्द्रित छ । धनी र गरिब देशका बीचको असमानता त्यही इतिहासबाट निस्सृत छ । त्यसैगरी ती धनी देशका पनि तिनै परिवारको हातमा आजसम्म राज्यसत्ता र सम्पत्तिको एकाधिकार छ, जो उपनिवेश र साम्राज्यवादको बेलादेखि नै सत्ता र सम्पत्तिमा पहुँच राख्थे ।

धौली भुलको अनुहारमा असमानताको ठीक यस्तै मानचित्र बनेको छ । र, यो मानचित्र देशको पनि मानचित्र हो । यहाँको स्थायी सत्तामा पनि गोर्खाली सत्ता निर्माणको बेलादेखि कुलीनतन्त्रमा जरा गाडेका खलकहरूकै रजगज छ । जनताको रगत–पसिना सोहोरेर जम्मा पारेको सम्पत्ति राज्यको प्रणालीबाट सबैभन्दा धेरै विदेश ओसार्ने पनि उनीहरू नै हुन् । राज्य र जनताको बीचमा आदानप्रदानको सम्बन्ध बन्नै नदिने र राज्यलाई सत्ताधारीको निजी पजेरोसरह चलाउने प्रणाली पनि त्यहीँबाट बनेको हो । त्यसैले खेतबारीमा हाड घोट्ने किसान/खेती मजदुर, विभिन्न पेसा व्यवसाय गर्ने कलाकार/मूर्तिकार/संगीतकार/शिल्पकार तथा सीप चलाएर अनेकन सामान उत्पादन गर्ने कर्मशीलहरू (जसमा धेरैजसो दलित, आदिवासी, जनजाति, थारू, महिला पर्दछन्) ले रचेको देश मुठ्ठीभर सत्ताधारीको जुवाको खालजस्तो भैरह्यो । देश भयो खेलाडीको, जनता भए दर्शक । राजनीतिको यही परम्पराले सुपरम्यान खोज्न सिकाउँछ र जनतालाई दर्शकदीर्घामा सीमित तुल्याउने षड्यन्त्र गर्छ ।

कुमः सागरको धुप

देशको प्राणतत्त्व केही हुन्छ भने त्यो ज्ञान प्रणाली, संस्कृति र जीवन प्रणालीमा हुन्छ । जीवनका अरू पक्षमा जस्तै संगीतमा पनि यी तिनै प्रणाली घोलिएर आउँछन् । देश र राज्यसत्ता एउटै हो पनि, होइन पनि । देश र राज्यसत्ता बीचको दूरी जति ठूलो हुन्छ, असमानता र दरिद्रता पनि उत्तिकै ठूलो हुन्छ । नेपाली राज्यसत्ताको एकलकाँटे चरित्रले देशका विविध ज्ञान, संस्कृति, उत्पादनका ऐतिहासिक धागोहरू बिचैमा चुँडाइदियो । त्यसो नभइदिएको भए देश बनाउने डिजाइन (रूपरेखा) र नमुना खोज्न स्विजरल्यान्ड वा सिंगापुरतिर आँखा डुलाउनु पर्थेन । ऐतिहासिक निरन्तरतामा रैथाने प्रणाली बनेको हुन्थ्यो र हामी त्यही प्रणालीमा नयाँ आविष्कार थपिरहेका हुन्थ्यौं ।

यो सन्दर्भमा कुमः सागर एक उदाहरण बनेर आएका छन् । इतिहासकारहरू भन्छन्, राज्यसत्ताको कठोर दमनबाट अस्तित्व जोगाउन ख्वपः (भक्तपुर) वासीले भाँतीभाँतीका त थर नै रचेका थिए । ख्वपःको त्यही विरासतलाई कुमः सागरले जाज्वल्यमान बनाएका छन् । औपचारिक नाम सिद्धिसागर प्रजापती, पुर्ख्यौली पेसाले माटोका भाँडा बनाउने कुम्हाले भएकाले उनले आफ्नो संगीतकार अवतारको नाम कुमः सागर राखे । ख्वपःको प्राणतत्त्वलाई कुमःले आफ्नो नाममा मात्र सजाएनन्, आफ्ना गीतहरूको धुन, लय, उच्चारण सबैतिर गर्वका साथ कुँदेका छन् । ‘त’ र ‘ट’ को उच्चारण नमिलेको आरोपमा सत्ताधारी विचारले नारायण गोपाललाई समेत लखेटेको थियो । यहाँसम्म आइपुग्दा कुमः सागरले शिर उँचो गरेर रैथाने उच्चारण, शैली र गुणलाई आत्मसात् गर्नु चानचुने कुरा होइन ।

आत्मगौरव आयात गर्न पाइन्न, आफ्नै चेतना र संघर्षले ठड्याउनुपर्छ । गणतन्त्रसम्मको संघर्षले हामीभित्र आत्मगौरवका ठुल्ठूला फैलावट, गहिराइ र उचाइ रेखांकित गरिसकेको छ । कुमः सागरले बालिरहेको संगीतको धुपले त्यसैको सुगन्ध छरिरहेको छ । संगीत होस् वा चित्रकला, साहित्य होस् वा सिनेमा, कक्षाकोठा होस् वा सार्वजनिक मञ्च, राजनीति होस् वा सामाजिक आन्दोलन सबैतिर देशको प्राणतत्त्व जगाउन नयाँ पुस्ता लागिपरेको छ । देश बनाउने यिनीहरूले नै हो, चुनावी बुख्याँचा गाड्न हिँडेको चटकेले होइन । अन्याय, असमानता र विभेद बढारेर देशको आँगन सफा नगरी कर्मशील मन, मस्तिष्क र हातखुट्टा चल्छन् चैं कसरी ?

शुक्र चुमानको ऐना

गणतन्त्रसम्म यात्रा गरेपछि राजनीति वैचारिक संकटको भुमरीमा फसेको छ । अन्यथा देश बन्यो–बनेनवाला गफमा हामी अल्झिरहेका हुने थिएनौं । यो संकट फेरि पनि राज्य र जनताको बीचमा आदानप्रदानको सम्बन्ध बन्न नसकेरै आएको हो । विदेशी साहुसँग ऋण लिईलिई पोखरा र भैरहवामा बेकामे अन्तर्राष्ट्रिय विमानस्थल बनाउने राज्यको चरित्रले जनतासँग मायापिरती कसरी लाउँछ ? यसर्थ राज्यको यही चरित्र आत्मसात् गर्ने राजनीतिक दल र तिनका नेतालाई देखाउनुपर्ने एउटा ऐना छ– शुक्र चुमानको ऐना ।

मुग्लिनबाट आँबुखैरेनी जाने बाटोमा भेटिने ऐनापहरालाई विम्बका रूपमा लिन सकिन्छ । अलि अघिसम्म परित्यक्त यो झरनाका पहरामा अहिले भव्य मूर्तिहरू कुँदिएका छन् र झरनाको नागबेलीमा बनेको छ– दृश्यावलोकन स्थल र रेस्टुरेन्ट । ऐनापहराको साजसज्जाभन्दा पनि महत्त्वपूर्ण छ, यहाँको कर्माले अस्पताल चलाउने योजना । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सत्तालाई यस्तो ऐना बनाएका छन्, जहाँ जनताको अनुहार प्रतिविम्बित भइरहेको छ । ठुल्ठूला योजनाका नाममा परनिर्भर र प्राणहीन अर्थतन्त्र निर्माण गरेको सिंहदरबार सत्तालाई आँबुखैरेनीले वैचारिक चुनौती दिएको छ ।

रेमिट्यान्स कमाउन विदेश गएर होस् कि देशमै व्यापार व्यवसाय गरेर होस्, खेतबारीमा नङ्ग्रा खियाएर होस् कि ज्यालामजदुरीमा ज्यान खियाएर, टलकदार अफिसमा नोकरी गरेर होस् वा सरकारी जागिर खाएरै किन नहोस्, एउटा औसत नेपालीको आम्दानीको सबैभन्दा ठूलो हिस्सा बच्चा पढाउन र बिरामी हुँदा उपचार गर्नमै जान्छ । शिक्षा र स्वास्थ्यको बोझ र तनाव मात्रै कम गरिदिने हो भने राज्यसँग जनताको अनुराग सोझै बढ्छ । जनता सिर्जनशील र स्वस्थ पनि हुन्छन् । अनि जनताको देश बनाउने कर्म पनि क्रमशः विस्तार हुँदै जान्छ । शुक्रले यही चुनौती उठाएको दृश्य भव्य लाग्छ ।

सानो स्रोतसाधनको गाउँपालिका, अधिकांश भूभाग विकट पहाड, यस्तो पालिकाको अध्यक्षले अस्पताल बनाइछाड्ने जिद्दी लिएको त्यतिबेला धेरैलाई सुहाएजस्तो लागेन । जब उनले उपलब्ध स्रोतसाधन उपयोग गरेर पालिका परिसरमै अस्पताल सुरु गरे, स्थितिले कोल्टे फेर्‍यो । चल्तीको एउटै निजी अस्पतालले आफ्ना सबै सामान बुझाएर आफूलाई समर्पित गरेपछि भने पालिका अस्पतालले सफलताको झन्डा नै गाड्यो । अर्को माइलस्टोन पहल थियो, सरकारी स्कुलहरूलाई पालिकाको प्रत्यक्ष निगरानीमा सुधार गर्ने योजना । पायक 

परेको ठाउँबाट सबै स्कुलका विद्यार्थी चढ्न मिल्ने गरी पालिकाले चलाएको स्कुल बसले आँबुखैरेनीको दैनन्दिन परिदृश्य नै बदलेको छ । सरकारी स्कुलहरू अहिले निजीलाई टक्कर दिने भएका छन् ।

थोरै उद्यम/व्यवसाय र धेरै ठूलो भूगोल/जनसंख्या अप्ठ्यारो पहाडी अर्थतन्त्रमा बाँचिरहेको पालिकामा जनताको श्रम, सीप र उत्साह सिञ्चित गर्ने उपाय के हुन सक्छ ? सुन्दर जवाफ उत्तिकै सरल पनि हुन सक्छ– हाटबजार । कृषि र सीपजन्य उत्पादन आइपुग्ने आँबुखैरेनीको हाटबजारमा न्यूनतम मूल्य तोकेर नबिकेका जिनिस पालिकाले खरिद गरिदिने भएपछि आममानिस उत्साह साँचेरै घर फर्किने भए । यो पंक्तिकारलाई चुमानले सुनाए– जनताले अस्पतालभन्दा धेरै हाटबजार मन पराए । स्वाभाविकै हो, बिरामी हुँदा पुग्ने ठाउँभन्दा जीवनसंघर्ष फुल्ने ठाउँ नै धेरै प्यारो हुन्छ । सिंहदरबारको नीति तथा कार्यक्रम र बजेटलाई एउटा गाउँपालिकाले दिएको यो चुनौतीको सार के हो त ? देश बनाउने मन, मस्तिष्क र गोडाहरूलाई सिञ्चित गर । राज्य र सत्ताको उपादेयता त्यतिखेर मात्रै हुन्छ । अन्यथा राज्य, पार्टी र नेताहरूप्रति अविश्वास र वितृष्णले घर गर्छ । अन्ततः देश बनाउने भनेको जनताको घरदैलो बनाउने नै हो । - [email protected]

युग

Link copied successfully