करातेमा हासिल गरेको उपलब्धि र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
काठमाडौँ — नेपाल उमा कुङ्फु संघले करातेका सुनील लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धि र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनीललाई सम्मान गरिएको हो । त्यस्तै सुनीलका छोरा याङतेन विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धिका लागि सम्मानित भए ।
्स्वयम्भूस्थित दि इलाइट को–एडमा भएको उमा कुङ्फुको ग्रेडिङको समापनका अवसरमा दुवैलाई सम्मान गरिएको हो । सुनीलले बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद तथा १३ औं एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका छन् ।
अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने सुनीलले त्यहीँ च्याम्पियन्स मार्सल आर्ट एकेडेमी स्थापना गरी करातेमा अहिले पनि सक्रिय छन् । काठमाडौंको रानीवनमा पनि सोही नामको एकेडेमी सञ्चालनमा छ । इलाइट को–एडकी प्रिन्सिपल सम्झना कर्माचार्य कपाली, नेपाल उमा कुङ्फु संघका अध्यक्ष सञ्जितकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ, उमा कुङ्फुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, डब्लूएमएसी, नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले सुनील र याङतेनलाई प्रशंसा पत्रसहित सम्मान गरेका थिए ।
