३९ वर्षीय शकिबले विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । एक समय विश्वका नम्बर एक अलराउन्डर रहेका शकिबले ९ सिजन आईपीएलमा कोलकात्ता नाइटराइडर्स र सनराइजर्स हैदराबादबाट खेलेका थिए ।
काठमाडौँ — बंगलादेशका भेट्रान अलराउन्डर शकिब अल हसनले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । विश्वप्रसिद्ध अलराउन्डरलाई भित्र्याउन पाउँदा हर्षित भएको पोखरा एभेन्जर्सले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।
३९ वर्षीय शकिबले विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । एक समय विश्वका नम्बर एक अलराउन्डर रहेका शकिबले ९ सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकात्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबाट खेलेका थिए ।
माथिल्लो क्रमका ब्याटर एवं देब्रेहाते स्पिनर शकिबले बंगलादेशबाट ७१ टेस्ट, २ सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय तथा १ सय २९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्दै झन्डै १५ हजार रन बनाउनुका साथै ७ सयभन्दा बढि विकेट लिएका छन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा उनको ब्याटिङ स्ट्राइक १२१.१८ रहेको छ भने ६.८१ को इकोनोमीमा विकेट लिएका छन् ।
उनले सबै खाले ट्वान्टी-२० मा ४ सय ७८ खेलमा १२४.८० को स्ट्राइक रेटमा ७ हजार ८ सय ५३ रन बनाउनुका साथै ६.८१ को इकोनोमीमा ५ सय १५ विकेट लिएका छन् । पोखराले यसअघि नै प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अजान्था मेन्डिसलाई लिइसकेको छ ।
‘शकिब अल हसनजस्ता विश्वस्त्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । उनको अनुभव, व्यावसायीकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदान भित्र मात्र होइन, मैदान बाहिर पनि प्रेरणा दिने छ,’ विज्ञप्तिमा टोलीका पोखराका महाप्रबन्धक अमित लोहनीले भनेका छन्, ‘उनको आगमनले हाम्रो टोलीलाई थप प्रतिस्पर्धी बनाउनुका साथै नेपाल प्रिमियर लिगको आकर्षण पनि नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं ।’
