रेनुसँगै कात्तिक १ देखि ७ सम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का
काठमाडौँ — पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची/नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् । वाइल्ड कार्ड पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाए ।
रेनु हाल विश्व वरीयतामा २६ औं तथा एसियाली वरीयतामा १३ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षकसमेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाए । रेनुले गत वर्ष यूएईको दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के–४४ क्याटागोरीअन्तर्गत महिला ४७ केजीमुनि कांस्य पदक जितेकी थिइन् ।
रेनुले मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२५ तथा मंगोलियामा भएको ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा सहभागिता जनाएकी थिइन् । रेनुसँगै कात्तिक १ देखि ७ सम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का भएको छ । यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनोट भइसकेकी छन् ।
