करण केसी १०० विकेट लिने नेपालका दोस्रो बलर

नेदरल्यान्ड्समा सोमबार नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग २ मा २ विकेट लिएपछि करणले आफ्नो एक सय विकेट पुर्‍याएका हुन् ।

श्रावण ११, २०८३

विनोद पाण्डे

Karan KC becomes Nepal's second bowler to take 100 wickets

What you should know

काठमाडौँ — करण केसीले सानदार ढंगमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १ सय विकेट पूरा गरेका छन् । नेदरल्यान्ड्समा सोमबार नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग २ मा २ विकेट लिएपछि करणले आफ्नो एक सय विकेट पुर्‍याएका हुन् ।

करण नामिबियाविरुद्ध २ विकेटमै सीमित भएनन् । उनले २९ रन खर्चेर ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ११ रनमात्र बनाउन सकेको छ । 

करण नामिबिया र नेदरल्यान्ड्ससँगको अघिल्लो दुई खेलमा विकेटविहीन रहेका थिए र संयोगले दुवै खेलमा नेपाल पराजित रहेको थियो । तर २९ रन खर्चेर ५ विकेट लिनु करणको एकदिवसीय अन्तर्राष्ट्रियमै अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । करणले चौथो पटक एकदिवसीय अन्तर्राष्ट्रियको एक इनिङ्समा ५ विकेट लिएका हुन् । 

करण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेटको आँकडा छुने नेपालका पहिलो तीव्र बलर र समग्रमा दोस्रो नेपाली खेलाडी हुन् । स्पिनर सन्दीप लामिछानेले नेपालबाट ७७ खेलमा सर्वाधिक १ सय ५४ विकेट लिएका छन् । 

३४ वर्षे करणले ७२ खेलमा आफ्नो १ सय ३ विकेट पुर्‍याएका हुन् । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो देखि पाँचौं नम्बरमा सोमपाल कामीले ७४ खेलमा ९९, ललित राजवंशीले ४९ खेलमा ५५ र दीपेन्द्रसिंह ऐरीले ७९ खेलमा ५४ विकेट लिएका छन् ।

नेपालले सन् २०१८ मा एमस्ट्राडम गएर नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो, त्यसयता करण लगातार राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । नेपालले खेलेको पहिलो खेलमै उनले स्कट इडवार्डसको विकेट लिएका थिए । इड्वार्डस हाल नेदरल्यान्ड्सका कप्तान हुन् । करण २०१५ मा केन्यामा भएको विश्व क्रिकेट लिग डिभिजन २ छनोटमा पहिलो पटक नेपालबाट खेलेका थिए, तर त्यत्तिखेर नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन् ।

२०२२ मा अमेरिकाविरुद्ध ह्युस्टमा ३३ रन खर्चेर ५ विकेट लिनु करणको यसअघि उत्कृष्ट बलिङ प्रदर्शन थियो । त्यसबाहेक उनले अर्को दुई पटक एकदिवसीय अन्तर्राष्ट्रियका दुई खेलमा ५–५ विकेट लिएका छन् । अमेरिकाको त्यही भ्रमणमा उनले ओमानविरुद्धको अर्को खेलमा ३८ रन खर्चेर ५ र २०२३ मा नामिबियाविरुद्ध ६१ रन खर्चेर ५ विकेट लिएका थिए ।

उनले कीर्तिपुरमा २१ एकदिवसीय अन्तर्राष्ट्रियमा खेलमा ३० विकेट लिएका छन् । विदेशी भूमिमा उनले ७३ विकेट लिएका छन्, जसमा तटस्थ भूमिमा २६ खेलमा ४१ विकेट रहेको छ । करणले यूएईमा १९, अमेरिकामा १५, जिम्बावेमा १२, स्कटल्यान्डमा ९ र ओमानमा ८ विकेट लिएका छन् । उनले एसियाली भूमिमा ५८ विकेट लिएका छन् । 

करणले ९१ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय १२ विकेट लिएका छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि नेपालबाट १ सय वा सोभन्दा बढि विकेट लिने उनी र सन्दीप मात्र हुन् । करणले ट्वान्टी–२० मा प्रति ओभर ७.७६ को इकोनोमी र २०.४५ को औसतमा सो विकेट लिएका हुन् । एकदिवसीयमा उनले ५.१४ को इकोनोमीमा २७.१४ को औसत प्रदर्शन दिँदै आएका छन् । 

करणले एकदिवसीयको ब्याटिङमा नेपाली क्रिकेटकै अविस्मरणीय इनिङ्स खेलेका छन् । उनले २०१८ मा नामिबियाको विन्डहोकमा १० औं नम्बरमा ब्याटिङ गर्दै ३१ बलमा अविजित ४२ रन बनाई नेपाललाई १ विकेटको विजय दिलाएका थिए, जुन नेपाली क्रिकेटै उत्कृष्ट इनिङ्समा पर्छ । यहि कारण नेपालले एकदिवसीय मान्यतातर्फ अगाडि बढेको थियो । फेब्रुअरी १४ मा खेलेको यो इनिङ्सका कारण करणलाई ‘भ्यालेन्टाइन ब्वाई’ भनेर पनि चिनिन्छ । 

गत वर्ष उनले स्कटल्यान्डको डन्डीमा नवौं नम्बरमा ब्याटिङ गर्दै ४१ बलमा अविजित ६५ रन बनाएका थिए, जसको कारण नेपालले स्कटल्यान्डविरुद्धको उक्त खेल १ विकेटले जितेको थियो । करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ९१.०२ को स्ट्राइक रेटमा ७ सय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५१ माथिको स्ट्राइक रेटमा ४ सय ९५ रन बनाएका छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully