आईएसएलको आधिकारिक ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर म्याक्स

इन्डोर सुपर लिगको दोस्रो संस्करण २२–२८ भदौमा हुनेछ र सबै खेल कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने गरी सम्झौता

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Kantipur Max becomes the official broadcasting partner of ISL

What you should know

काठमाडौं — नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ । प्रतियोगिता आगामी २२ देखि २८ भदौसम्म आयोजना हुनेछ ।

आयोजक काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालि र कान्तिपुर मिडिया ग्रुपबीच सोमबार भएको सम्झौताअनुसार प्रतियोगिताका सबै खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने छन् । दोस्रो संस्करणलाई पहिलोभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी दुबै पक्षबीच सम्झौता भएको आयोजकले जनाएको छ ।

सम्झौतापत्रमा काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा आईएसएलका प्राविधिक निर्देशक रविन्द्र गुप्ता र कान्तिपुर मिडिया ग्रुपका बजार ब्यवस्थापक अनुपम अधिकारीको पनि उपस्थिति थियो ।

सम्झौतापछि प्रबन्ध निर्देशक भण्डारीले इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य रहेको बताए । 'इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो । यसपटकको संस्करण खेल, मनोरञ्जन र व्यवस्थापनका हिसाबले अघिल्लो संस्करणभन्दा अझ उत्कृष्ट हुनेछ,' उनले भने ।

यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन् । प्रतियोगितालाई थप आकर्षक बनाउन अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउनेसमेत आयोजकले जनाएको छ । सन् २०२४ मा अमेरिकाको डलासमा आयोजित आईसीसी टी-२० विश्वकपका क्रममा नेपाली समर्थक माझ चर्चित बनेकी फ्लोयडले यसपटक आईएसएलको दोस्रो संस्करण सञ्चालन गर्नेछिन् ।

आयोजकले यसअघि नै काठमाडौंको अनमोल ब्याङ्क्वेट, शंखमूलमा खेलाडी अक्सन सम्पन्न गरिसकेको छ भने नेपाली भलिबलकी राष्ट्रिय महिला भलिबलकी स्पाइकर उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो । प्रतियोगिता यसअघि १७ भदौदेखि गर्ने तयारी भए पनि प्राविधिक कारणले एक सातापछि सारिएको आयोजकले जनाएको छ ।

आईएसएल दोस्रो संस्करणका टोलीहरू

काठमाडौं कैलाश किंग्स :

सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी ।

सुदूरपश्चिम टाइगर्स :

रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार ।

पोखरा वारियर्स :

अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री ।

माया हेटौंडा रोयल्स :

ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ ।

मिक्समाण्डु :

उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी ।

बुटवल एम्पायर :

भुवन कार्की (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र विष्ट, सुमन विश्वकर्मा र लक्की कडायत ।

ललितपुर अलस्टार्स :

विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री ।

लुम्बिनी योर्कर्स :

रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा ।

जनकपुर किंग्स :

आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेशकुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन विष्ट ।

विराटनगर ब्याटालियन:

रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव ।

कान्तिपुर

Link copied successfully