पुरुष भलिबल फ्रेन्चाइज लिगको पहिलो अक्सन

१२ भदौदेखि आयोजना हुने एनभीएलका लागि आइतबार भएको अक्सनमा काठमाडौं रेड्सले अधिकतम ६ लाख ५० हजार खर्च गरेको थियो ।

श्रावण ११, २०८३

विनोद पाण्डे

The first auction of the Men's Volleyball Franchise League

What you should know

काठमाडौँ — काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) को अक्सनमा सबैभन्दा बढी ६ लाख ५० हजार खर्च गरेको छ । आइतबार काठमाडौंमा भएको एनभीएल अक्सनमा काठमाडौं रेड्सले ७ मध्येको ५ खेलाडीलाई अधिकतम बोली लगाउँदै लिएको थियो ।

नेपाल भलिबल संघले केडिया ग्रुपसँग मिलेर आयोजना गरेको एनभीएल १२ भदौदेखि २१ सम्म काठमाडौंमा आयोजना हुँदै छ । पहिलो पटक पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना हुन लागेको हो । फ्रेन्चाइज मोडलको महिला भलिबल लिग २ संस्करण आयोजना भइसकेको छ ।

एनभीएलका लागि ‘ए’ श्रेणीमा ५४ खेलाडी रहेका थिए । सहभागी फ्रेन्चाइज टोलीले ‘ए’ श्रेणीबाट ४–४ तथा ‘बी’ श्रेणीबाट ३–३ खेलाडी लिनुपर्ने प्रावधान रहेको थियो । अक्सनमा ‘बी’ श्रेणीमा ९३ खेलाडी रहेका थिए र ‘ए’ श्रेणीबाट मूल्य नपाएका खेलाडीलाई ‘बी’ श्रेणीमा पुनः बोली लगाइएको थियो ।

‘ए’ श्रेणीमा रहेका खेलाडीको मूल्य १ लाखबाट सुरु भएको थियो र अधिकतम १ लाख २० हजार भाउ राखिएको थियो । त्यस्तै ‘बी’ श्रेणीका खेलाडीको न्यूनतम ५० हजार तोकिएको थियो र अधिकतम ७० हजार राखिएको थियो । एउटा टोलीले 
अधिकतम ६ लाख ५० हजार खर्च गर्न पाउने प्रावधान राखिएको थियो ।

काठमाडौं रेड्सले ‘पर्स’ मा रहेको सबै ६ लाख ५० हजार खर्च गरेर ६ खेलाडी लिएको हो । टोलीले लिबरो सन्तोष राई, आउट साइड हिटर सन्तोष विक र चिरञ्जीवी खड्कालाई अधिकतम १ लाख २० हजार बोली लगाउँदै लिएको थियो । त्यसमध्ये चिरञ्जीवीलाई सबै ६ टिमले नै बोली लगाएका थिए । उनी सबै ६ टोलीले भाउ लगाउने एक्लो खेलाडी रहे ।

काठमाडौं रेड्सले ‘विस लिस्ट’ बाट बलदेवसिंह धामीलाई १ लाख रुपैयाँमा लिएको थियो । सन्तोष राई, सन्तोष विक र चिरञ्जीवीलाई ‘लक्की ड्र’ बाट लिएको काठमाडौं रेड्स ‘बी’ श्रेणीको अक्सनमा पनि भाग्यमानी रह्यो । टोलीले अधिकतम ७० हजारको बोली लगाएपछि पुस्करध्वज धामी र जितबहादुर ढुंगाललाई पनि ‘लक्की ड्र’ बाटै लिएको थियो । त्यसपछि टोलीले दीपेश कुँवरलाई ५० हजारमा ‘विस लिस्ट’ बाट उठाएको थियो ।

The first auction of the Men's Volleyball Franchise League

अक्सनमा दोस्रो सर्वाधिक खर्च गर्नेमा कर्णाली शिवराज थियो र टोलीले ६ लाख ३० हजार खर्च गरेको थियो । टोलीले ‘ए’ श्रेणीका चारै खेलाडीलाई अधिकतम १ लाख २० हजार बोली लगाएपछि ‘लक्की ड्र’ बाट लिएको थियो । ‘ए’ श्रेणीबाट नृपध्वज बस्नेत, विनोद चन्द, सुरज चुनारा र सनोज चौधरी कर्णालीमा आएका थिए । सनोजलाई ५ टिमले भाउ लगाएका थिए ।

त्यस्तै ‘बी’ श्रेणीबाट टोलीले सन्दीप लोहार र बलराम गुरुङलाई ५० हजारमा लिएको थियो भने सुनील ठकुल्ला ‘विस लिस्ट’ बाट आएका थिए । कर्णालीका ब्रान्ड एम्बासडर नायक राजेश हमाल टोलीसँग अक्सन टेबलमा रहेका थिए । एउटा टोलीमा ९ नेपाली खेलाडी रहने छन्, जसमा ७ खेलाडी आइतबार अक्सनबाट लिइएको थियो भने १ खेलाडी ट्यालेन्ट हन्टबाट लिइनेछ । सबै टोलीले यसअघि नै मार्की खेलाडी लिइसकेका छन् । तर अक्सनमा खप्तड फाल्कन्सका धिरोजकाजी बस्नेत मात्र रहेका थिए ।

नेपाली राष्ट्रिय टोलीमा पनि रहेका कारण अन्नपूर्ण स्पाइकरका हिमाल सुनारी, कर्णालीका पहल गहतराज, काठमाडौं रेड्सका सुनील बोहरा, मधेश वारियर्सका रविन नगरकोटी, सगरमाथा स्म्यासर्सका हरिहजुर थापा पाकिस्तानको इस्लामाबादमा काभा भलिबल च्याम्पियनसिपमा खेलिरहेका कारण अक्सनमा रहेका थिएनन् । 

खप्तड फाल्कन्स र मधेश वारियर्सले अक्सनमा समान ६ लाख १० हजार खर्च गरेका थिए । खप्तडले सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई समान १ लाख २० हजार बोली लगाउँदै ‘लक्की ड्र’ बाट लिएको थियो । प्रेमप्रसादलाई ५ टोलीले भाउ लगाएका थिए । त्यस्तै विपस थापा र इन्द्र विकलाई १ लाखमा लिएको थियो । इन्द्रलाई ‘विस लिस्ट’ बाट उठाएको थियो । टोलीले पारस बोहरालाई ७० हजार तथा नवराज थापामगर र नवराज धामीलाई जनही ५० हजारमा लिएको थियो ।

मधेशले धनबहादुर भट्ट र सन्तोष महतालाई १ लाख २० हजार भाउ लगाउँदै लिएको थियो । सन्तोषमाथि ५ टोलीले बोली लगाएका थिए । त्यस्तै राजन थापा र रामविनय यादवलाई १ लाख रुपैयाँमा लिएको थियो । ‘बी’ श्रेणीका विपसन शाही ठकुरीलाई ७० हजारमा लिएको मधेशले रविन रसाइली र सञ्जुविक्रम शाहलाई ५० हजारमा लिएको थियो ।

अन्नपूर्ण स्पाइक्सले ५ लाख ९० हजार खर्च गरेर ७ खेलाडी लिएको छ । टोलीले ‘ए’ श्रेणीबाट अपोजिट हिटर राजेन्द्र धामी र आउट साइड हिटर सुरेन्द्र खत्रीलाई अधिकतम १ लाख २० हजार बोली लगाउँदै लिएको थियो । टोलीले ‘ए’ श्रेणीबाटै रवि केसीलाई भाउ लगाउँदै र विश्वास अधिकारीलाई ‘विस लिस्ट’ बाट जनही १ लाखमा लिएको थियो । समान ५० हजारमा विवश आले, जितबहादुर सार्की र देव रानामगरलाई ‘बी’ श्रेणीबाट लिएको थियो । देव ‘विस लिस्ट’ बाट आएका हुन् ।

‘लक्की ड्र’ मा अभाग्यशाली सावित सगरमाथा स्म्यासर्सले अक्सनमा सबैभन्दा कम ५ लाख ७० हजार खर्च गरेको थियो । टोलीले सुवास कुँवर १ लाख २० हजारमा लिएको थियो । सगरमाथाले ‘लक्की ड्र’ मा पाएको उनी एक्ला खेलाडी थिए । टोलीले ‘ए’ श्रेणीबाट अन्य ३ खेलाडी भीम गाहा, रुपेन्द्र नेपाली र दीपकराज जोशीलाई ‘विस लिस्ट’ बाट जनही १ लाखमा लिएको थियो । त्यस्तै ‘बी’ श्रेणीका सन्जोग परियार, रेशम छन्त्याल र रमेश बमलाई जनही ५० हजारमा लिएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully