पुष्पलाल ब्याडमिन्टनलाई लिनिङको साथ

नेपाल खेलकुद महासंघको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले १४ औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता यही साउनमा आयोजना गर्ने भएको छ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

Pushpalal Badminton receives support from Li-Ning

काठमाडौँ — नेपाल खेलकुद महासंघको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले १४ औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता यही साउनमा आयोजना गर्ने भएको छ । 

यही २५–३० साउनसम्म ललितपुरको ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीमा हुने प्रतियोगितालाई ब्याडमिन्टन खेल सामग्री उत्पादक कम्पनी लिनिङले प्रायोजन गर्ने भएको छ । आयोजक र लिनिङबीच प्रायोजन सम्झौता भएको छ । 

प्रतियोगितामा ब्याडमिन्टनका शीर्ष ८ वरीयताका महिला/पुरुष एकल, शीर्ष ८ वरीयताबाहेक महिला/पुरुष एकल, महिला/पुरुष युगल खुला, यू–११, यू–१५ र यू–१९ छात्र/छात्रा एकल, ३५ वर्षमाथिको खुला युगल, ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल गरी १५ विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

६० जिल्ला, तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफका करिब चार सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताका क्रममा एसियाली ब्याडमिन्टन संघको डेभलपमेन्ट कमिटीका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष वाजिद अली चौधरीको उपस्थित रहने जनाइएको छ ।

करिव ४१ लख ५ हजार २ सयको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाइकल/स्कुटर प्राप्त गर्नेछन् । यसअघि लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाइकल जितेका थिए । वरीयतातर्फ विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । सबै विधाका विजेताले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully