पारा पौडीवाजको आकाश छुने सपना

जापानको आइची/नागोयामा हुने पारा एसियाली खेलकुदका लागि चार पारा पौडी खेलाडीले अहिले नियमित प्रशिक्षण गरिरहेका छन्।

श्रावण ९, २०८३

हिमेश

The sky-high dreams of para swimmers

What you should know

काठमाडौँ — साँच्चै के यिनीहरूले पौडी पनि खेल्छन् र ? उनीहरूबारे पहिलो पटक सुन्दा यस्तै अनुभव हुनसक्छ । तर जतिबेला उनीहरूले साँच्चै पौडी खेलेको आफ्नै आँखाले हेरिन्छ, त्यो अद्भुत लाग्न सक्छ । अनि भन्न करै लाग्छ, ओहो, यो त वास्तवमै अद्वितीय छ । 

जेनिशा कडायत २६ वर्षकी भइन् । उनलाई पनि सुरुमा लागेको थियो, आफूले त पौडी खेल्न सकिन्न होला । उनलाई ‘इस्पाइनल इन्ज्युरी’ छ । कम्मरमुनिको भाग चल्दैन । त्यो भागले केही पनि महसुस गर्दैन ।

कैलालीकी जेनिशा ०७० सालमा दुर्घटनामा परिन् । साइकल चलाएर कतै गइरहेकी थिइन् । अरू कसैले काट्दै गरेको रूख ढलेर उनको कम्मरमै पर्‍यो । गम्भीर चोट लाग्यो । त्यस अगाडि उनको एउटा ठूलो सपना पौडी खेल्ने थियो । 

The sky-high dreams of para swimmers

परिवारले अनुमति दिएको थिएन । तर अहिले यिनै जेनिशा पारा एथलिट भएकी छन् । यसै वर्ष जापानको आइची/नागोयामा हुने पारा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मलाई पनि सुरुमा कसैले पौडी खेल्न सकिन्छ भनेर भन्दा विश्वास नै लागेको थिएन । अहिले पनि सुरुमा कसैलाई मैले पौडी खेल्छ भनेर सुन्दा पत्याउँदैनन्,’ उनले भनिन् । 

जेनिशाले एस–सिक्स समूहको फ्रि–स्टाइलतर्फ ५० र १०० मिटर स्पर्धामा चुनौती पेस गर्नेछिन् । जतिबेला हामी उनको खेल हेर्न बौद्धको रिफ्रेस रिक्रेसन सेन्टरमा अभ्यास गरिरहेको देख्यौं, त्यसले हाम्रो सबै खाले धारणा परिवर्तन भयो । ‘यसरी कसैको धारणा परिवर्तन गर्न सकेकोमा मलाई खुसी लाग्छ,’ उनले मीठो मुस्कानसहित भनिन् । 

The sky-high dreams of para swimmers

उनले मिनिमम क्वालिफिकेसन स्कोर (एमक्यूएस) आत्मसात् गरिसकेकी छन् । यस्तै उपलब्धि हात पार्ने अर्को खेलाडी हुन्, २१ वर्षीय हर्कमान घर्ती । उनले भने एस–फाइभ समूहका तीन स्पर्धामा भाग लिनेछन् । ५० मिटर बटरफ्लाइसँगै फ्रि–स्टाइलको ५० र १०० मिटर । उनको भने दुवै हात छैन । कुमबाटै दुवै हात काटिएको छ ।  

सात वर्ष अगाडि रसुवामा अरू बेला जस्तै खेलिरहेका थिए । करेन्ट बगिरहेको इन्सुलेटर छोए र गम्भीर घाइते भए । त्यस अगाडि पनि खेल्ने क्रममा उनले त्यसरी नै इन्सुलेटर छुने गर्थे, तर त्यसमा करेन्ट हुँदैनथ्यो । भर्खरै उनले कम्प्युटर विषयमा १२ कक्षा सकाएका छन् । कम्प्युटरमै थप पढाइ गर्ने सोच छ । उनी मुखले पनि चित्र कोर्ने गर्छन् । लेखन भने खुट्टाले हो । कम्प्युटर चलाउने पनि खुट्टाले नै । 

The sky-high dreams of para swimmers

अझ उनको त कुनै पनि प्रतियोगितामा भाग लिएपछि पदक जित्ने प्रयास नै गर्नुपर्छ भन्ने सोच छ । त्यसैले अहिले कडा मिहिनेत गरिरहेका छन् । अहिले तै पदक नआउन सक्छ, तर अबका अन्य ठूला प्रतियोगिताका लागि उनको यस्तै योजना बुनेका छन् । उनी भन्छन्, ‘मेरो त आकाश छुने सपना छ, धेरै ठूलै सपना ।’ 

अबको पारा एसियाली खेलकुदमा नेपाली पौडीबाट चार खेलाडीले भाग लिनेछन् । त्यसमा बाँकी दुई खेलाडीमा मेम्बर सिंगी स्याङवा र सिर्जना सार्की हुन् । मेम्बरको एउटा खुट्टाको घुँडामुनिको भाग छैन । उनले एस–टेन समूहमा खेल्नेछन् । उनलाई भने रसुवाको चिनियाँ नाकातिर गाडीले हानेको थियो । अहिले अभ्यासकै लागि भनेर २६ वर्षीय मेम्बरले काठमाडौंलाई आफ्नो बसोवास बनाएका छन् । 

The sky-high dreams of para swimmers

सिर्जनाको पनि कम्मरमुनिको भाग चल्दैन । उनलाई पनि ‘स्पाइनल इन्ज्युरी’ भएको थियो । यी १७ वर्षीया जुम्लेली खेतमा काम गरिरहेकी थिइन्, ढिस्को खसेर उनको कम्मरमा लाग्यो । त्यसपछि त कम्मरमुनिको भागले कामै गर्न छाड्यो । अहिले त्यसले केही अनुभव गर्न नसक्ने उनी बताउँछिन् । उनले भने एस–सिक्स समूहमा खेल्नेछिन् । जति एससँग जोडिएको अंक घट्छ, त्यति खेलाडीको अवस्था कठिन हुन्छ । 

नियमित प्रशिक्षण सुरु भएको एक महिना जति भयो । यी चार खेलाडीलाई प्रशिक्षण दिने शुभ श्रेष्ठ हुन् । यी ‘भोलिन्टियर’ प्रशिक्षक पारा खेलाडीलाई प्रशिक्षण दिन पाएकोमा खुसी छन् अनि उत्तिकै गर्व गर्छन् । भन्छन्, ‘मेरा लागि भने केही नयाँ अनुभव जस्तै हो, नयाँ चुनौती पनि । प्रशिक्षणको ढाँचा नै फरक चाहिन्छ । यो कामले मलाई फरक खुसी दिएको छ ।’ 

The sky-high dreams of para swimmers

उनी पारा खेलाडीले पौडीमा सहभागिता जनाउने साहस गर्नु पनि ठूलो बहादुरी भएको मान्छन् । उनी भन्छन्, ‘पौडीमा हात र खुट्टा दुवैको उत्तिकै महत्त्व हुन्छ । हातले अगाडि बढ्न मदत गर्छ भने खुट्टाले सन्तुलन बनाउन । यसमध्ये एकको अर्कोसँग सन्तुलन मिलेन भने असाध्यै गाह्रो हुन्छ । यसलै प्रस्ट पार्छ, यी पारा एथलिटलाई कति गाह्रो हुन्छ भनेर ।’

हुन पनि, जेनिशा र सिर्जनाको कम्मरमुनिको भाग नचल्ने भएपछि उनीहरूले दिशा पकड्नै गाह्रो हुन्छ । दिशा समाते पनि शरीरको तल्लो भागलाई माथि राखिरहने गाह्रो हुन्छ । हर्कमानको दुवै हात छैन, खालि खुट्टाले मात्रै पौडिन्छन् । उनलाई अगाडि बढ्न कति गाह्रो हुँदो हो, त्यो अनुमान नै गर्न सकिन्न । तर यी खेलाडीले त्यस्तै दुःख बेवास्ता गरेका मात्र छैनन्, त्यसमाथि जित पनि हात पारेका छन् । 

The sky-high dreams of para swimmers

यी चारै खेलाडी र प्रशिक्षकको एउटै धारणा छ, आफूजस्तै फरक क्षमता भएकाले कुनै न कुनै खेललाई अपनाउनुपर्छ र त्यसमा नियमित भाग लिइरहनुपर्छ । जेनिशा अहिले जनप्रशासनमा स्नाकोत्तर गर्दै छिन् अनि दिउँसो रास्वपाको बालाजुस्थित पार्टी कार्यालयमा काम गर्छिन्, रिसेप्सनिस्टका रूपमा । उनी बास्केटबल पनि खेल्छिन् । 

उनी भन्छिन्, ‘दुर्घटनापछिका सुरुआती दिन असाध्यै कठिन रहे । मनमा अप्रिय सोच पनि आए । तर अहिले खुसी छु, निकै व्यस्त हुन्छु । तर अभ्यासका लागि समय मिलाएकै छु । विशेषतः पौडी खेल्न थालेपछि आत्मविश्वास फर्केको छ, खुसी मिलेको छ । खेलकै मदतमा मैले आफ्नो फरक परिचय बनाएको छु । स्वास्थ्य पनि राम्रो रहने गरेको छ ।’ 

हर्कमानका साथीहरू पनि अरूजस्तै पौडी खेल्थे, तर उनी भने त्यसलाई हेर्थे मात्रै । साथीहरूको करकापमै पौडी पोखरीमा छिरे । त्यसपछि के भयो, बाँकी इतिहास भयो । दुवै हात नभएकाले कसरी पौडी खेल्छन् भनेर उनलाई प्रश्न गर्ने पनि छन् । उनी आफूलाई अलिकति लजालु पनि मान्छन् । तर एकपल्ट पौडी पोखरी छिरेपछि उनको सबैखाले लज्जा कता हो कता हराउने गर्छ । 

प्रशिक्षक श्रेष्ठ पनि यी खेलाडीलाई लिएर उत्तिकै उत्साही छन् । उनले केही ठूलो गर्न सक्ने बताउँछन् । मेम्बर पनि पौडी खेल्न थालेपछि आफ्नो व्यक्तित्वमै फरक आएका मान्छन् । उनी भन्छन्, ‘शारीरिक रूपमा फरक क्षमता हुनेले त कुनै न कुनै खेलकुदमा लाग्नै पर्छ । यो त आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएजस्तै हो ।’ 

यति भन्दाभन्दै अबको चुनौती यी खेलाडीका लागि न सजिलो छ, न त प्रशिक्षककै लागि । उत्तिकै गाह्रो त यस पारा पौडीसँग जोडिएको संघलाई पनि छ । राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष हुन्, सरोज श्रेष्ठ । उनी राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका सदस्य पनि हुन् । उनी भन्छन्, ‘हाम्रासामु चुनौतीको चाङ छ, तर हामी अगाडि बढ्दै छौं, निरास छैनौं ।’ 

अबको पारा एसियाली खेलकृुदमा नेपालले १० खेलमा भाग लिँदै छ । त्यसमध्ये पौडी प्रमुख भयो । सहभागी हुने खेलाडीको संख्या दुई दर्जन हाराहारीमा छ, तर सरकारबाट आएको बजेट भनेकै २५ लाख रुपैयाँ मात्रै । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकारले कलिकति उदार भएर हामीलाई सहयोग गरेको भए कति राम्रो हुन्थ्यो ।’ 

हिमेश

Link copied successfully