गत वर्ष लायन्सले एनपीएलको उपाधि जित्दा ट्रम्पलमनल प्रमुख खेलाडीको रुपमा रहेका थिए ।
What you should know
काठमाडौँ — नामिबियाका देब्रेहाते तीव्र बलिङ अलराउन्डर रुबेन ट्रम्पलमनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आउँदो सिजन पुनः लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । एनपीएलको उपाधि रक्षा अभियानमा ट्रम्पलमनलाई पुन: अनुबन्धन गरेको लायन्सले जनाएको छ ।
गत वर्ष लायन्सले एनपीएलको उपाधि जित्दा ट्रम्पलमनल प्रमुख खेलाडीको रुपमा रहेका थिए । त्यस क्रममा ट्रम्पलमनले लायन्सले खेलेको सबै १० खेल खेलेका थिए र सुदुरपश्चिम रोयल्ससँगको फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए । उनले फाइनलमा २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिएका थिए । ट्रम्पलमनले आफ्नो पहिलो २ ओभरमा विनोद भण्डारी र शेल्डन ज्याक्सनलाई आउट गरेका थिए ।
ट्रम्पलमन लुम्बिनी लायन्सको उपाधि यात्रामा प्लेयर अफ द सिरिजमा चुनिएका थिए । उनले ६.७२ को इकोनोमी र १४.९३ को औसतमा १५ विकेट लिनुका साथै ७ इनिङ्समा ४ मा अविजित रहि ४१ रन बनाएका थिए । कर्णाली याक्ससँगको समूह चरणको खेलमा उनले १४ बलमै १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २९ रन बनाएका थिए ।
‘हामीलाई रुबेन ट्रम्पलमनलाई लुम्बिनी लायन्समा पुनः भित्राउँदै उपाधि रक्षा अभियान सुरु गरेका छौं, उनी जस्ता खेलाडीसँगको सम्झौता नवीकरण गर्न केवल औपचारिकतामात्र बाँकी थियो । हामी लिगेसीलाई निरन्तरता दिन चाहन्छौं, अनुभवी खेलाडीको हिसाबमा उनले लुम्बिनी लायन्सको टोलीलाई एकदमै नजिकबाट बुझेका खेलाडी हुन् । एसोसिएट क्रिकेटमा जमेका खेलाडी भएकाले पनि उनलाई लुम्बिनी लायन्समा सजिलै भिज्न सफल भएका हुन् । उनको साथमा लुम्बिनी लायन्सले नयाँ उचाइ छुने विश्वास लिएका छौं,’ लायन्सका प्रमुख इश्वर जिसीले प्रेस विज्ञप्तीमा भनेका छन् ।
ट्रम्पलमनले युएईको आइएल टी–२० लिग र क्यानडाको ग्लोबल टी–२० लिगमा पनि खेलेका छन् । ट्रम्पलमन हाल नामिबियाबाट प्रतिनिधित्व गर्दै नेदरल्यान्ड्समा नेदरल्यान्ड्स र नेपालसँग क्रिकेट विश्वकप लिग २ खेलिरहेका छन् । ट्रम्पलमनले नामिबियाबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७७ र ५४ टी–२० अन्तर्राष्ट्रियमा ५४ विकेट लिएका छन् ।
च्याम्पियन लुम्बिनी लायन्सले मार्की एवंम कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरेको थियो । त्यस्तैऽ अक्सनबाट लुम्बिनी लायन्सले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो ।
