एसियाका युवा खेलाडीबीच भएको प्रतिस्पर्धामा पुरुषोत्तमले पाएको नतिजा नेपाली बुद्धिचाल इतिहासको उल्लेखनीय उपलब्धि रहेको हो ।
काठमाडौँ — नेपाली बुद्धिचालका खेलाडी सीएम पुरुषोत्तम सिलवालले चीनको सेन्जेनमा सम्पन्न २८ औं एसियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन्।
एसियाका युवा खेलाडीबीच भएको प्रतिस्पर्धामा पुरुषोत्तमले पाएको नतिजा नेपाली बुद्धिचाल इतिहासको उल्लेखनीय उपलब्धि रहेको हो ।
चाइनिज चेस संघको आयोजनामा २४ जुलाईसम्म भएको ३ मिनेट २ सेकेन्ड ब्लिट्ज ९ चरण स्विस प्रणालीअनुसार प्रतिस्पर्धामा एसियाका ३२ राष्ट्रको सहभागिता थियो ।
नेपालका २०५३ रेटेड पुरुषोत्तम २२ औं वरीयता लिएर सहभागी भएका थिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै ६.५ अंक जोडेर चौथो स्थान कब्जा गरे । उनले २३४५ रेटिङ औसतको खेल प्रदर्शन गरी व्यक्तिगत १३६.८ रेटिङ थप गरेका छन् ।
प्रतिस्पर्धामा उनले पहिलो तिन खेलमा क्रमशः १७४१ रेटेड चीनका चेन सिन्सुओ, रुसका २३४९ रेटेड एफएम इफिमोफ लियोनिद, भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्हलाई पराजित गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।
चौथो खेलमा काजकिस्तानका २१५५ रेटेडल एफएम बोलात इनायतसँग पराजित हुँदा पाँचौंमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुईलाई हराए ।
छैटौंमा भियतनामी २३५१ रेटेड आईएम फाम ट्रान गियासँग बराबरी गरे भने पुनः सातौंमा हङकङका २१३९ रेटेड सीएम काओ जामिसन एड्रिच र आठौंमा चीनका २३६७ रेटेड चेए जियाचेनलाई हराएका थिए ।
उपाधिवाट चुकेका पुरुषोत्तम अन्तिम चरणमा भियतनामका एफएम डुओङ भु आनसँग पराजित भए । स्वर्ण पदक जित्ने सम्भावना बलियो रहेको अन्तिम खेलमा उनीमाथि जित हात पार्दै भियतनामका एफएम डुओङ भु आनले ७.५ अंकसहित उपाधि जिते ।
फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अंकसहित दोस्रो तथा भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि ७ अंकसहित टाइब्रेकका आधारमा तेस्रो भए ।
हारका बाबजुद सीएम पुरुषोत्तम ६.५ अंक टाइब्रेकका आधारमा चौथो स्थान प्राप्त गरे । उनीसँगै अन्य चार खेलाडीले समान अंक जोड्दै सातौं स्थानसम्म रहे ।
