नेपाल आयोजक जापानको समूहमा

सेप्टेम्बर १९ देखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि बिहीबार ‘ड्र’ भएको हो । त्यसअनुसार नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै परेको हो ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

Nepal in host Japan's group

काठमाडौँ — २० औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाल आयोजक जापानको समूहमा परेको छ । सेप्टेम्बर १९ देखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि बिहीबार ‘ड्र’ भएको हो । त्यसअनुसार नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै परेको हो ।

नेपाली महिला भलिबल टोली लगातार दोस्रो पटक एसियाड खेल्न लागेको हो । हाङचाउ एसियाडमा पनि नेपालले भाग लिएको थियो । समूह चरणमा नेपालले दक्षिण कोरिया र भियतनामसँग सोझो सेटमै पराजित भएको थियो ।

यसपालि नेपाली पुरुष भलिबल टोलीको भने सहभागिता रहने छैन । हाङचाउमा पुरुष टिमले पनि खेलेको थियो । 

जापान एसियाडमा महिला भलिबलमा १४ राष्ट्रको सहभागिता छ । त्यसलाई चार समूहमा विभाजन गरिएको छ । विश्व वरीयताको आधारमा एसियाका शीर्ष १४ टोलीभित्र रहँदै नेपालले प्रतियोगितामा स्थान बनाएको हो । हाल नेपाल विश्व वरीयतामा 

६८ औं स्थानमा छ । एसियाकै बलियो टोली जापान विश्व वरीयताको छैटौं स्थानमा छ भने इन्डोनेसिया ६० औं वरीयताको टोली हो । जापान साविक उपविजेता पनि हो ।

समूह ‘बी’ मा साबिक विजेता चीनसहित काजकिस्तान र फिलिपिन्स, समूह ‘सी’ मा चीनमा कांस्य जितेको थाइल्यान्डसहित चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया तथा समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार रहेका छन् ।

कान्तिपुर

Link copied successfully