नेपाल शुक्रबार आयोजक पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । इस्लामाबादस्थित ग्यारिसन जिन्ना स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग गतिलो प्रदर्शन दिन सकेन ।
काठमाडौँ — नेपाली भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा लगातार तेस्रो हार भोगेको छ ।
नेपाल शुक्रबार आयोजक पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । इस्लामाबादस्थित ग्यारिसन जिन्ना स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग गतिलो प्रदर्शन दिन सकेन ।
अघिल्लो दुई खेल पाँच सेटसम्म खेलेर गुमाएको नेपालले शुक्रबार त्यो लय समाप्त सकेन । पाकिस्तानले सहजै खेल आफ्नो पक्षमा पारेको थियो । नेपालले २५–१४, २५–१८, २५–१० ले खेले गुमाएको थियो ।
नेपाल पहिलो दुई खेलमा श्रीलंका र काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो । च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, काजकिस्तान र उज्वेकिस्तान गरी ६ टिमको सहभागिता छ । सबै टिमले एकअर्काविरुद्ध खेलेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
शुक्रबार अन्य खेलमा बंगलादेशले काजकिस्तानलाई प्रतिस्पर्धात्मक खेलमा २०–२५, २५–२१, २५–२३, २१–२५ र १५–१२ ले पराजित गरेको छ । अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–१ सेटले हरायो । उज्वेकले २५–२३, २२–२५, २५–१९ र २५–२१ को नतिजा निकालेको थियो ।
नेपाली खेलाडीमा सुनील बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनरा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन् भने मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट छन् ।
