नेपालको समूहमा चाइनिज ताइपेई

१९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २० औं एसियाली खेलकुदका लागि बिहीबार समूहगत खेलहरूको ‘ड्र’ भएको हो ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

Chinese Taipei in Nepal's group

What you should know

काठमाडौँ — पहिलो एसियाड सहभागितामै कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली यसपालि साबिक रजत विजेता चाइनिज ताइपेईको समूहमा परेको छ । 

१९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २० औं एसियाली खेलकुदका लागि बिहीबार समूहगत खेलहरूको ‘ड्र’ भएको हो । त्यसअनुसार कबड्डीको महिलातर्फ नेपाल समूह ‘बी’ मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँगै परेको छ ।

समूह ‘ए’ मा इरान, आयोजक जापान, बंगलादेश र भारत रहेका छन् । हाङचाउमा भारतले स्वर्ण, चाइनिज ताइपेईले रजत तथा नेपाल र इरानले कांस्य जितेका थिए । पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको नेपालले दोस्रो खेलमा इरानसँग ४३–१९ ले पराजित भयो । समूह ‘बी’ इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि इरानसँगै नेपालले पनि सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भारतसँग ६१–१७ ले पराजित भएपछि नेपाल कांस्य पदकमा सीमित भएको हो । यद्यपि टिम खेलमा एसियाडमै नेपाल पहिलो कांस्य जित्न सफल भयो ।

यसपालि जापान एसियाडमा पुरुष कबड्डी टोलीको पनि सहभागिता रहनेछ । ‘ड्र’ अनुसार समूह ‘बी’ मा नेपालसहित थाइल्यान्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन् । अर्को समूह ‘ए’ मा बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपेई, जापान र भारत रहेका छन् । हाङचाउमा नेपाली पुरुष टोलीको सहभागिता थिएन । हाङचाउमा भारतले इरानलाई ३३–२९ अंकले हराएर स्वर्ण जितेको थियो । चाइनिज ताइपेई र पाकिस्तानले कांस्य जितेका थिए ।

एसियाड तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा गएको छ । त्यहाँ नेपालले एक महिनाभन्दा बढी समय प्रशिक्षण गर्ने नेपाल कबड्डी संघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully