कर्णाली शिवराजको ब्रान्ड एम्बासडरमा अभिनेता हमाल, फेस अफ कर्णालीमा रवीन्द्र ढाँट

नेपाल भलिबल लिगको फ्रेन्चाइज टोली कर्णाली शिवराजले ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाललाई छनोट गरेको छ ।

श्रावण ८, २०८३

ध्रुव तुलाधर

Actor Hamal appointed as brand ambassador of Karnali Shivaraj, Rabindra Dhant as Face of Karnali

What you should know

काठमाडौँ — नेपाल भलिबल लिगको फ्रेन्चाइज टोली कर्णाली शिवराजले ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाललाई छनोट गरेको छ ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा कर्णालीले हमाललाई अफिसियल ब्रान्ड एम्बासडर बनाउँदै उनको व्यक्तित्व, नेतृत्व र प्रेरणाले कर्णाली शिवराजको अभियानलाई राष्ट्रियस्तरमा सशक्त बनाउने विश्वास लिएको छ ।

नेपाल भलिबल लिग १२ देखि २० भदौ महिनासम्म आयोजना हुनेछ । पुरुषतर्फ पहिलो पटक हुन लागेको फ्रेन्चाइज भलिबल लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि गण्डकीको प्रतिनिधित्व गर्ने टोली अन्नपूर्ण स्पाइकर किंग्सले महिला खेलाडी उषा भण्डारीलाई ब्रान्ड एम्बाडसर बनाएको थियो ।

लक्क्षरा फिल्मस प्रालिको स्वामित्व रहेको कर्णाली शिवराजले ब्रान्ड एम्बासडरसहित फेस अफ कर्णाली, ग्लोरी अफ कर्णाली र क्विन्स अफ कर्णाली पनि सार्वजनिक गरेको छ ।

क्विन्स अफ कर्णालीमा राष्ट्रिय महिला खेलाडीद्वय प्रगति नाथ र कामना विष्ट रहेका छन् । प्रगति न्यु डायमन्ड स्पोर्ट्स क्लब र कामना नेपाल पुलिस क्लबसँग आवद्ध खेलाडी हुन् । ग्लोरी अफ कर्णालीमा सुमित्रा रेग्मीलाई प्रस्तुत गरिएको छ । राष्ट्रिय टोलीकी सुमित्रा पनि न्यु डायमन्डकी खेलाडी हुन् । उनकै नेतृत्वमा कर्णाली यश्विसले लगातार दुई संस्करण फ्रेन्चाइज महिला लिग ईडब्लुभीएलको उपाधि जितेको थियो ।

फेस अफ कर्णालीमा मिक्स मार्सल आर्ट्सका चर्चित फाइटर रवीन्द्र ढाँटलाई आबद्ध गरिएको छ । ‘बझाङ्गी बाघ’ भनेर चिनिने रवीन्द्र व्यावसायिक फाइटका लागि हाल इन्डोनेसियामा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । भिडियो सन्देश पठाएका रवीन्द्रले कर्णाली शिवराजको नेपाल भलिबल लिगमा बलियो उपस्थिति रहने विश्वास व्यक्त गर्दै टोलीको सफलताको कामना गरेका छन् ।

त्यही अवसरमा कर्णाली शिवराजले आधिकारिक थिम सङ सार्वजनिक गरेको थियो । टोलीका प्रमुख कार्यकारी अधिकृत अशोक भट्टले पहिलो पटक हुन लागेको पुरुषको फ्रेन्चाइज लिग भलिबलमा आफ्नो टोलीले प्रभावशाली प्रदर्शन रहने बताए । उनले भने, ‘महिला भलिबल लिगमा जसरी हामीले कर्णाली यश्विसमार्फत जुन सफलता पाएका छौं, त्यस्तै सफलता पुरुषतर्फ पनि कर्णाली शिवराजले दिनेछ भन्ने हाम्रो विश्वास छ । यसका लागि हामी तयार छौं ।’

सीईओ भट्टले कर्णालीको गौरव, पहिचानलाई प्रस्तुत गर्दै अवसरबाट वञ्चित प्रतिभावान युवालाई खेलकुदमा आकर्षण गराउने टिमको उद्देश्यले रहेको बताए ।

ब्रान्ड एम्बासडर अभिनेता राजेश हमालले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा आफूलाई गौरव महसुस हुने बताउँदै कर्णालीसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताए । हमाल यसअघि कर्णाली यश्विससँग पनि जोडिएका थिए । उनले महिला भलिबलमा यश्विसले पाएजस्तै पुरुष भलिबलमा कर्णाली शिवराजले सफलता पाउनेमा विश्वास व्यक्त गरे ।

कर्णाली शिवराजले मार्की खेलाडीमा पहल गहतराजलाई लिएको छ भने प्रशिक्षकमा चन्द्रबहादुर कुँवर रहेका छन् । नेपाल भलिबल लिगको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन रहेको छ ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully