म्याराडोना जत्तिकै अशान्त सुनुवाइ

सात चिकित्सकमाथि लापरबाहीको आरोपमा सुरु भएको कानुनी सुनुवाइ २५ पटकभन्दा बढी भइसके पनि अझै टुंगो लागेको छैन, मुद्दा अनिश्चित बनेको छ।

श्रावण ८, २०८३

एएफपी

A hearing as turbulent as Maradona

What you should know

सान इसिद्रो — दिवंगत फुटबलका दिग्गज डिएगो म्याराडोनाको उपचारमा संगल्न चिकित्सकीय टोलीको कानुनी सुनुवाइ अझै चलिरहेको छ । यो उत्तिकै तनाव र आक्रोशपूर्ण रहेको छ, जति म्याराडोनाको खेलजीवन आफैंमा अशान्त र उतारचढावपूर्ण थियो ।

सन् २०२० मा म्याराडोनाको निधन भएको थियो । यसपछि सात स्वास्थ्यकर्मीमाथि लापरबाहीको आरोप लागेको थियो । अप्रिलबाट कानुनी प्रक्रिया सुरु भएको हो । शल्यक्रिया भएको दुई सातापछि नै ‘हार्ट फेलियर’ र ‘एक्युट पाल्मोनरी एडिमा’ का कारण उनको मृत्यु भएको थियो ।

यस मुद्दाको सुनुवाई अगस्टमै सकिनुपर्ने थियो । तर ७० साक्षी र प्रतिवादीको बयान तथा २५ भन्दा बढी पटक सुनुवाइ भइसक्दा पनि यो कानुनी नाटक कहिले सकिने हो, त्यो टुंगो छैन र उल्टै अनिश्चित छ । 

म्याराडोनाको मृत्यु प्राकृतिक कारणले भएको दाबी गर्ने प्रतिवादीले म्याराडोनाका छोरीसँग अदालतमा महिनौं बिताइसकेका छन् । कानुनी प्रक्रिया अर्को महिनामा प्रवेश गर्दा यो असाध्यै नाटकीय बनेको छ । म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुक नै मुख्य अभियुक्त छन् । धेरैले उनलाई नै म्याराडोनाको मृत्युको मुख्य जिम्मेवार मानेका छन् । 

तर उनले कानुनी प्रक्रियामा शूक्ष्म र सतर्क रणनीति अपनाएका छन् । उनी हरेक सुनुवाइमा उपस्थित रहेका छन् । कुनै बयान आफूविरुद्ध जोडिने बित्तिकै उनी कडा आपत्ति जनाउने गर्छन् र आफ्नो तर्क प्रस्तुत गर्छन् । यी चिकित्सकले अहिलेसम्म ९ पटक पटक आफैं हस्तक्षेप गरेर बयान दिएका छन् । त्यस क्रममा उनले अडियो रेकर्डिङ बजाउने र वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने जस्ता काम गरेका छन् । 

एक पटक उनले म्याराडोनाको पोस्टमार्टमको भिडियो देखाउन आफ्नै वकिलसँग प्राविधिक प्रक्रियाबारे सोधेका थिए । त्यसै क्रममा लुकको समूहले अदालतमै त्यस भिडियो देखाएका थिए । म्याराडोनाकी छोरी रुँदै अदालतबाट बाहिरिएकी थिइन् । त्यसपछि सुनुवाइ नै स्थगित गर्नुपरेको थियो । अदालतमा भएका बहस र विवादले न्यायाधीश आफैं रेफ्रीको भूमिकामा देखिनुपरेको छ । 

कानुनी प्रतिनिधिबीचको एउटा पेचिलो बहसपछि न्यायाधीश अल्बर्टो गाइगले भनेका थिए, ‘बच्चाहरूलाई जस्तै वकिकलाई रोक्न सजिलो छैन ।’ म्याराडोनाकी छोरीको तर्फबाट लडिरहेका वकिल फर्नान्डो बुर्लान्डो र प्रतिवादीका वकिल फ्रान्सिस्को ओनेटोबीचको बहसले पनि यो मुद्दा कहिले सकिने हो, त्यो अनिश्चित भएको हो । बुर्लान्डोले एकपल्ट आफ्ना समकक्षीलाई विद्यालयमा गएर पढ्नु भनेर भनेका थिए । 

त्यसको जवाफमा ओनेटोले पनि ती सबै आरोप फिर्ता लिन भनेका थिए । उनीहरूबीच चलेको भनाभनको कारण एउटा सुनुवाइ नै स्थगित गर्नुपरेको थियो । त्यसलगत्तै उनीहरूले मिडियासामु एक अर्कोलाई गाली गर्न भने छाडेनन् । यो सबै प्रक्रियामा फुटबलमा प्रशंसक तथा म्याराडोनाका समर्थकले असाध्यै धेरै रूचि लिएर लगातार पछ्याइरहेका छन् ।

एएफपी

Link copied successfully