टस हारेपछि ब्याटिङमा आएको नेपाललाई बिहीबार नेदरल्यान्ड्सले उट्रेच्टमा ४४.४ ओभरमा १ सय ५७ रनमा अलआउट गर्यो ।
What you should know
काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो पराजय बेहोरेको छ । नेदरल्यान्ड्समा भइरहेको लिग २ मा पुनः कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाललाई बिहीबार घरेलु टोली डचले ६ विकेटले पराजित गरेको छ ।
टस हारेपछि ब्याटिङमा आएको नेपाललाई बिहीबार नेदरल्यान्ड्सले उट्रेच्टमा ४४.४ ओभरमा १ सय ५७ रनमा अलआउट गर्यो । नामिबियाविरुद्ध मंगलबार भएको खेलमा पनि नेपाल १ सय ५७ रनमै अलआउट भएको थियो । कप्तान स्कट इडवार्डसले जिम्मेवारी इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले ४४.१ ओभरमा लक्ष्य पुरा गर्यो ।
नेपाल अघिल्लो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो । लिग २ मा विदेशी भूमिमा खेलिएको १८ खेलमा नेपालले भोगेको १२ औं हार हो । लिग २ मा यसअघि खेलिएका चार खेलमा नेपालले नेदरल्यान्ड्समाथि ३ विजय हात पारेको थियो ।
नेदरल्यान्ड्स २९ खेलमा ३४ अंक जोडी तेस्रो स्थानमा छ । समान ३२ अंक खेलेका अमेरिका ४३ र स्कटल्यान्ड ३८ अंकसहित पहिलो दुई स्थानमा छ । ओमान २८ खेलमा ३१ अंकसहित चौथो स्थानमा छ । नेपाल ३० खेलमा २४ अंक बोकी आठ राष्ट्र सहभागी प्रतियोगिताको पाँचौं स्थानमा छ । लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा सोझै छनोट हुने प्रावधानमा नेपालको शीर्ष चारभित्र सम्भावना निकै कमजोर बन्दै गएको छ ।
इडवार्डसले अविजित ६१ रन बनाई नेदरल्यान्ड्सलाई विजय दिलाए । उनले ८९ बल खेली २ चौका र १ छक्का प्रहार गरे । इडवार्डसले नोह क्रोजसँग पाँचौं विकेटमा १ सय २९ बलमा ८५ रनको अविजित साझेदारी गरे । क्रोजले ५९ बल खेली १ चौका प्रहार गर्दै ३४ रन बनाए ।
इडवार्डसले दुई पटक जीवनदान पाए । करण केसीको बलमा ललित राजवंशीले फाइन लेगमा क्याच फुत्काउन पुग्दा उनी ३२ रनमा थिए । उनी ३५ रनमा हुँदा सोमपाल कामीले रिटर्न क्याच लिने अवसर गुमाउन पुगे ।
सोमपालले म्याक्स ओ’डडलाई ९ रनमा बोल्ड गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर सेड्रिक डी लान्गेले २१ रन बनाए । ५१ बल खेली २ चौका प्रहार गरेका उनी दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच हुन पुगे । बास डी लिडलाई ललितले १ रनमा बोल्ड गरे । ज्याच लिओन क्याचेट २१ रनमा रनआउट भए । उनले ४९ बल खेली २ चौका प्रहार गरेका थिए ।
यसअघि नेपालका ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले सम्हालिएर खेल्ने प्रयास गरेका थिए । तर एलेक्स रोयले आसिफलाई पहिलो स्लिपमा नोह क्रोजबाट क्याच गराएपछि नेपाल इनिङ्स भरी दबिएर खेलेको थियो । आसिफले १७ बल खेली २ चौकासहित १४ रन बनाए ।
आसिफ आउट भएको दुई बलपछि केयल क्लाइनले कुशललाई ९ रनमा एलबीडब्लु आउट गरे । रोयले कप्तान रोहित पौडेललाई ३ रनमा एलबीडब्लु आउट गरे भने इशान पाण्डेलाई ४ रनमा विकेटकिपरबाट क्याच गराए ।
दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । कुनै बाउन्ड्री प्रहार गर्न नसकेका उनले ४२ बल खेले । आरिफ शेखले नेपालबाट सर्वाधिक ४१ रन बनाए । उनले ९० बल खेली ४ चौका प्रहार गरे । आरिफ ४४ औं ओभरमा आठौं खेलाडीको रुपमा आउट भएका थिए ।
गुलशन झाले २९ रन बनाए । ९ रनमा क्याच छाडिएपछि क्रिजमा रहेका उनले ४२ बल खेली १ चौका र २ छक्का प्रहार गरे । सोमपाल १० रनमा आउट भए । अन्तिम दुई विकेट सन्दीप लामिछाने रनआउट र ललित शुन्यमा एलबीडब्लु आउट भएपछि करण १३ रनमा अविजित रहन बाध्य भए ।
नेदरल्यान्ड्सबाट रोय र रोइलोफ भान डेर मर्वीले ३–३ विकेट लिए । रोयले ८ ओभरमा १ मेडन राख्दै २४ र मर्वीले ६.४ ओभरमा १५ रन खर्चे । लोगन भान विकले २ विकेट लिए ।
