ग्यारिसन जिन्ना स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकासँग ५ सेट खेल्दै पराजय भोगेको हो ।
काठमाडौँ — नेपाली भलिबल टोलीले पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा लगातार दोस्रो हार बेहोरेको छ ।
ग्यारिसन जिन्ना स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकासँग ५ सेट खेल्दै पराजय भोगेको हो । पहिलो सेट २५–१८ गुमाएको नेपालले त्यसपछि लगातार दुई सेट २५–२१, २५–१९ ले आफ्नो पक्षमा पारेर खेलमा पुनरागमनको संकेत गरेको थियो । तर चौथो सेटमा कडा टक्कर दिनुका बावजुद नेपालले २५–२१ ले गुमायो । श्रीलंकाले निर्णायक तथा अन्तिम सेट १५–१० ले आफ्नो पक्षमा पारेर खेल जित्यो । नेपालले अग्रता लिएर पनि अन्तिम सेट गुमाएको हो ।
नेपालले अब शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । दुई हारका बावजुद नेपालले २ अंक बटुलेको छ ।
अघिल्लो दिन पनि नेपाली टोली काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो । बिहीबार काजकिस्तान भने उज्वेकिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा ३–२ (१९–२५, २५–२२, २७–२९, २६–२४, १६–१४) सेटले पराजित भएको छ । उज्वेक टोलीको यो दोस्रो जित हो । अघिल्लो दिन उज्वेकले बंगलादेशलाई ३–२ कै सेटमा हराएको थियो ।
च्याम्पियनसिपमा श्रीलंकाको पहिलो जित हो । पहिलो दिनको खेलमा श्रीलंका आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यस च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, काजकिस्तान र उज्वेकिस्तान गरी ६ टिमको सहभागिता रहेको छ । सबै टिमले एकअर्काविरुद्ध खेलेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाली टोलीका खेलाडीमा सुनील बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनरा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन् भने मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट छन् ।
