प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा परशुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।
What you should know
काठमाडौँ — जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ ।
प्रशिक्षणका लागि खेलाडीमा घनश्याम रोकामगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणरत छन् । घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरू त्यतैबाट टिममा समावेश हुनेछन् ।
प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा परशुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।
खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
‘यदि चाइनिज ताइपेई पनि थाइल्यान्डमा आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेई बैंकक नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं । भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्छौं,’ तयारीबारे महासचिव झाले भने ।
टोली प्रशिक्षणस्थलबाटै ३–१८ असोजसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जानेछ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।
नेपाली महिला कबड्डीले पनि २० औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ । महिला टोलीले दोस्रो पटक भाग लिन लागेको हो । चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा महिला टोलीले पहिलो सहभागिताम ऐतिहासिक कांस्य पदक जितेको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार बिदाइ गरे ।
