२३औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड १८ भदौमा

खेलकुदका उत्कृष्ट खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विजेतालाई पल्सर मोटरसाइकलसहित ९ विधामा अवार्ड वितरण हुने तयारी हुँदैछ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

23rd NSJF Pulsar Sports Award on 18 Bhadra

What you should know

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण १८ भदौमा हुने भएको छ ।  राजधानी प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबक‍ो ‘द ब्लु पवेलियन’ मा हुने मञ्चले जनाएको छ । 

अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता नवीकरण पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९ औं पटक अवार्डसँग जोडिएको हो । बुधबार सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । हस्ताक्षरपछि निर्देशक गोल्छाले नेपाली खेलकुदको एउटा प्रतिष्ठित कार्यक्रममा निरन्तर हातेमालो गर्नु आफ्नो संस्थाको दायित्वका रूपमा लिएको बताउँदै यसको स्तरवृद्धि लागिरहने बताए । 'मञ्चसँग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौं । नेपाली खेलकुदमा लगातारसँगै हिँडिरहेका छौं । तर, मञ्चसँगको सम्बन्ध एउटा परिवारका रूपमा छ, ' उनले भने ।

मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार सहकार्य गरी अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताए । मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड,  पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।  

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जनाइएको छ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा ५-५ जना रहने प्रावधान छ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराए । 

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । 

गत वर्ष पोखरामा आयोजना भएको संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । 

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित भएका थिए ।

कान्तिपुर

Link copied successfully