२ घण्टा ५१ मिनेटसम्म चलेको खेलमा अभिषेकले बाजी मारेका हुन् ।
काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा जारी यूटीआर प्रो टेनिस टुरमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै जित हासिल गरेका छन् ।
उनले मंगलबार भएको खेलमा भारतका सुरज प्रबोधमाथि ४–६, ६–२, ६–३ को कठिन जित पाएका हुन् । प्रबोध एटीपी विश्व वरीयताको ६५० औं र भारतमा नवौं स्थानसम्म पुगिसकेका खेलाडी हुन् ।
२ घण्टा ५१ मिनेटसम्म चलेको खेलमा अभिषेकले बाजी मारेका हुन् । यस वर्षको आफ्नो तेस्रो यूटीआर प्रो टेनिस टुर प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका अभिषेकले सिजनको सुरुआतमै उत्कृष्ट लय प्रदर्शन गरेका छन् ।
उनले बिहीबार हुने अर्को चरणको खेलमा नर्वेका बाल्ताजार विगर नोर्डासको सामना गर्नेछन् ।
विश्वका शीर्ष ३ हजार खेलाडी मात्र सहभागी हुने उच्चस्तरीय व्यावसायिक प्रतियोगिता युटीआर प्रो टेनिस टुरमा प्रतिस्पर्धा गर्ने अभिषेक नेपालका पहिलो र एकमात्र खेलाडी हुन् ।
बेंगलुरुमा भइरहेको यस प्रतियोगिताको कुल पुरस्कार राशि २० हजार अमेरिकी डलर रहेको छ । तीन एसियाली खेलकुदमा भाग लिइसकेका अभिषेकले यूटीआरका दर्जन प्रतियोगिता खेलिसकेका छन् ।
