दुई गल्फर राहुल र तेन्जिङ प्रशिक्षणलाई बैंककतर्फ

राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्यान्ड गएका छन् ।

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Two golfers Rahul and Tenzing head to Bangkok for training

What you should know

काठमाडौँ — राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्यान्ड गएका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन्। यो प्रशिक्षण २० औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाडीलाई बिदाइ गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न आग्रह गरे ।  

नेपाल गल्फ संघ (एनजीए) को पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) को आर्थिक सहयोग प्रदान गरेको छ ।

एनजीएका अध्यक्ष टासी घलेले राखेप र एनओसीप्रति आभार व्यक्त गर्दै ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत तीन वर्षदेखि एसियाली खेलकुदलक्षित गरी तयारी भइरहेको र यस प्रशिक्षणले राहुललाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

राहुल यस वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका तीन पुरूष नेपाली गल्फरमध्ये एक हुन् । उनले विश्वस्तरीय गल्फ एकेडेमीमा प्रशिक्षण पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए । एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु आफ्नो पहिलो लक्ष्य रहेको उनको भनाइ छ ।

तेन्जिङ भने नेपाल गल्फ संघको अनुरोधमा प्रशिक्षणमा सहभागी भएका हुन् भने उनको सम्पूर्ण खर्च परिवारले बेहोरेको छ । उनले प्रशिक्षणले आफ्नो खेल जीवनको अर्को चरणका लागि महत्वपूर्ण अनुभव दिनुका साथै सर्ट गेम र स्कोरिङ क्षमतामा सुधार गर्ने लक्ष्य रहेको बताए ।

एनजीएका अनुसार तेन्जिङका पिता तथा पूर्वराष्ट्रिय एमेच्योर गल्फर टासी छिरिङले राहुलको थाइल्यान्ड बसाइ खर्चमा समेत सहयोग गरेका छन् । राष्ट्रिय टोलीका अन्य सदस्य सदभाव आचार्य अमेरिका र व्यावसायिक गल्फर सुवास तामाङ भारतमा प्रशिक्षणरत छन् भने महिला गल्फर तारा कार्की चित्रकार नेपालमै प्रशिक्षण गरिरहेकी छन् ।

कान्तिपुर

Link copied successfully