यस वर्ष पनि प्रतियोगितामा आठ टिम सहभागी रहने भएकाले क्वाटर फाइनलका चार खेल हुनेछन् ।
What you should know
ताप्लेजुङ — ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकटदर तेब्बरले बढाइएको छ ।
भदौ १२ देखि १९ गतेसम्म सदरमुकाम फुङलिङस्थित भानु जन माविको मैदानमा हुने यस वर्षको प्रतियोगिता हेर्ने दर्शकले सुरुवाती चरणका चार खेल अर्थात् क्वाटर फाइनलका लागि जनही ३ सय रुपैयाँका दरले टिकट खरिद गर्नुपर्नेछ । एक जनाका लागि क्वाटर फाइनलका सबै खेल हेर्न १२ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
यस वर्ष पनि प्रतियोगितामा आठ टिम सहभागी रहने भएकाले क्वाटर फाइनलका चार खेल हुनेछन् । गत वर्षसम्म क्वाटर फाइनल अर्थात् पहिलो चरणका लागि एक सय रुपैयाँ मात्रै रहेको थियो ।
सेमिफाइनलका लागि जनही ५ सय रुपैयाँ तोकिएको छ । दुईवटा सेमिफाइनलका लागि १ हजार रुपैयाँ लाग्नेछ । फाइनलका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उनले दिएको सूचीअनुसार एक जनाका लागि पूरै प्रतियोगिता हेर्न ३ हजार २ सय रुपैयाँ लाग्नेछ ।
प्याकेजमा टिकट किन्नेका लागि तीन हजार रुपैयाँ राखिने मादेनले बताएका छन् । गत वर्षसम्म पहिलो चरणका चार खेलका लागि जनही १ सय, सेमीफाइनलका लागि २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ रहेको थियो । एक जनाले एक हजार ५० रुपैयाँ खर्च गर्नुपर्थ्यो ।
लाखेजात्राको अवसरमा आयोजित प्रतियोगितामा दर्शकलाई बाँसको प्याराफिट बनाउने गरिएको छ । चौरी र सिमेन्टको स्थायी प्याराफिट पनि रहेको छ । प्रतियोगिताको तयारी सुरु भइसकेको समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । अब प्याकेजमा टिकट कटाउन सुरु गरिने छ । गत वर्ष आयोजकले टिकट बिक्रीका लागि २० लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।
यस वर्ष प्रतियोगितामा गतवर्षको विजेता सहलेश युवा क्लब सिराहा, फिदिम स्पोर्टिङ क्लब पाँचथर, झापा-११ फुटबल क्लब, चित्लाङ एफसी काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर र आयोजकको भने टुंगो लागिसकेको छ । अब दुई टिमको टुंगो साताभरिमा लाग्ने आयोजकले जनाएका छन् ।
यसवर्ष पुरस्कार राशि बढाउने विषयमा छलफल भइरहेको आयोजकले बताएका छन् । गत वर्षको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिता सञ्चालनका लागि ९९ सय लाख खर्च लाग्ने अनुमान आयोजक लाखेजात्रा सञ्चालन समितिको छ । लाखेजात्रा पर्वको अवसरमा कञ्चनजंघा, पाथीभरालगायतका विभिन्न नामबाट २०२९ सालदेखि प्रतियोगिता हुँदै आएको छ ।
