पोखराको प्रशिक्षकमा अजान्था मेन्डिस

पोखरा एभेन्जर्सले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि श्रीलंकाका पूर्वस्पिन जादुगर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

Ajantha Mendis appointed as Pokhara coach

काठमाडौं — पोखरा एभेन्जर्सले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि श्रीलंकाका पूर्वस्पिन जादुगर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

टोलीको क्रिकेट संरचनालाई थप सुदृढ बनाउँदै बलियो तथा प्रतिस्पर्धात्मक टोलीको निर्माण गर्ने लक्ष्यका साथ मेन्डिसलाई जिम्मेवारी दिएको जनाएको छ । 

पोखरा पहिलो २ सिजनको एनपीएलमा प्ले अफमा नपुग्ने एकमात्र टोली हो । पहिलो २ सिजनको एनपीएलमा पोखराको प्रशिक्षण भारतका राजिव कुमारले सम्हालेका थिए । एनपीएलको तेस्रो संस्करण दसैंपछि हुने बताइएको छ । 

मेन्डिसले आफ्नो रहस्मय अफ स्पिनको सहायतामा श्रीलंकाबाट १९ टेस्टमा ७० विकेट, ८७ एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ५२ विकेट र ३९ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ६६ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ४ र टी–२० अन्तर्राष्ट्रियमा ३ पटक एकै खेलमा ५ वा सोभन्दा बढि विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, बिग बास लिग खेलेको अनुभव पनि छ । 

पोखरा एभेन्जर्सका महाप्रवन्धक अमित लोहनीले मेन्डिसको नेतृत्व क्षमता, प्राविधिक दक्षता तथा अन्तर्राष्ट्रिय अनुभवले टोलीको समग्र प्रदर्शनलाई नयाँ उचाईमा पुर्‌याउने विश्वास लिएको विज्ञप्तीमा जनाएका छन् । पोखरा एभेन्जर्सको सो विज्ञप्तीमा मेन्डिसले टोलीको हिस्सा बन्न पाउदा आफु गौरान्वित भएको जनाए ।

कान्तिपुर

Link copied successfully