सन् १९८८ को सोल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडी प्रशिक्षणमा सहभागी हुन गएका हुन् ।
काठमाडौँ — जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सोल गएका छन् । दुवै खेलाडी राष्ट्रिय च्याम्पियन हुन् ।
उनीहरू १८ जुलाईदेखि १८ अगस्टसम्म सोलस्थित डोक्सान हाइस्कुलमा हुने एक महिने विशेष प्रशिक्षणमा भाग लिने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् । उनका अनुसार सन् १९८८ को सोल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडी प्रशिक्षणमा सहभागी हुन गएका हुन् ।
प्रशिक्षण अवधिमा खेलाडीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर प्राप्त गर्नुका साथै दक्षिण कोरियाका राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट गर्ने, उनीहरूको प्रशिक्षण सत्रको अवलोकन र अनुभव आदानप्रदान गर्ने बताइएको छ ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले सफल प्रशिक्षण र एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामनासहित बिदाइ गरे ।
एसियाडका लागि टेबलटेनिसबाट यी दुई खेलाडीसहित ६ खेलाडी छनोट भएका छन् । बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लैजान पहल भइरहेको कोषाध्यक्ष महर्जनले बताए ।
